रोक्का रहेको साविक यूनियन लाइफको सेयरमूल्यमा सर्किट लाग्यो


काठमाडौं । कारोबार रोक्का रहेको साविक यूनियन लाइफ इन्स्योरेन्स (यूएलआई)को सेयरमूल्यमा सर्किट लागेको छ ।

गत वैशाखमा नै मर्जरमा गएर हिमालयन इन्स्योरेन्स नामबाट एकीकृत कारोबार सुरु गरिसकेको साविक कम्पनीकाे सेयरमूल्यमा कारोबार सुरु भएको एक घण्टामा १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको सेयरमूल्य ३५ रुपैयाँले बढेर ३९३.८० रुपैयाँमा पुगेको छ । रोक्का रहेको साविकको कम्पनीको सेयरमूल्यमा कसरी एकाएक सर्किट लाग्यो भनेर नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरी पराजुलीसँग बुझन् खोज्दा कार्यालय भन्दा बाहिर रहेको र केही समय लाग्ने बताए ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तीन जीवन बीमा कम्पनी साविक गुराँस, प्राइम र युनियन लाइफ इन्स्योरेन्सबीच मर्ज भई गत वैशाख २२ गतेको पत्रानुसार उक्त संगठित संस्थाहरुबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने कार्य भई वैशाख २६ गतेदेखि ‘हिमालयन लाइफ इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार सुरु गरिसकेको छ ।

साथैं सोही प्रयोजनका लागि धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने।गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९(३) बमोजिम उक्त संगठित संस्थाहरुको सेयर कारोबार वैशाख २६ गतेदेखि लागू हुनेगरी रोक्का गरिएको थियो । त्यसपछि यी तीनै कम्पनीको हिमालयन लाइफबाट एकीकृत कारोबारपश्चात् नेप्सेमा शेयर सूचीकृत भएको छैन ।