५७ प्रतिशत नेपाली वित्तीय साक्षर, कर्जा लिने वयस्क ४६ प्रतिशत


काठमाडौँ । नेपालीको वित्तीय साक्षरता ५७.९ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले १८ वर्ष उमेरमाथिका नेपाली नागरिकहरुको वित्तीय साक्षरता सम्बन्धि पहिलो सर्वेक्षण गरेको थियो ।

९ हजार ३६१ नेपाली नागरिकबिच वित्तीय साक्षरता सम्बन्धि सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षण अनुसार नेपालीको वित्तीय साक्षरता ५७.९ प्रतिशत रहेको जनाइएको छ ।

वित्तीय ज्ञान ४७.३ प्रतिशत, वित्तीय व्यवहार ६३.५ प्रतिशत र वित्तीय मनोवृति ६४.१ प्रतिशत रहेको छ । सर्वेक्षणका अनुसार २७.५ प्रतिशत वयस्कहरुले वित्तीय साक्षरताका सबै आयाममा कम्तिमा न्युनतम जानकारी राख्ने रहेका छन् ।

सर्वेक्षणले वित्तीय साक्षरतामा युवा पुस्ता अगाडी देखिएको छ । १८ देखि ३० वर्ष उमेर समुहका मानिसको वित्तीय साक्षरता ६३.२ प्रतिशत रहेको जनाएको छ । उमेर ६० वर्षभन्दा माथिकाहरुको वित्तीय साक्षरता २७.९ प्रतिशत रहेको छ ।

सर्वेक्षणका अनुसार शिक्षाको तह बढ्दै जाँदा पनि वित्तीय साक्षरता बढ्ने पाइएको हो ।

वित्तीय समावेशीतातर्फ वयस्क जनसंख्याको वित्तीय प्रयोगका सूचकहरूमा ७३.७८ प्रतिशतले भुक्तानी उपकरण, ८६.६४ प्रतिशतले बचत, लगानी वा अवकाश उपकरण, ३०.०२ प्रतिशतले बीमा सेवा र ४६.३४ प्रतिशत ऋण उपकरण प्रयोग गरेका छन् ।

बचत उपकरणहरू मध्ये ७१.०६ प्रतिशत वयस्क जनसंख्याले बचत खाताको प्रयोग गरेका छन् । सर्वेक्षणमा ४६.३४ प्रतिशत वयस्क जनसंख्याले विभिन्न शीर्षकमा कर्जा लिएका भने त्यसमध्ये १७.६० प्रतिशतले त्यस्तो कर्जा बैंकबाट लिएका छन् ।