प्राथमिक बजारमार्फत पुँजी परिचालन ९३ प्रतिशतले बढ्यो


काठमाडौं । नेप्सेमा सूचीकृत सेयरको चुक्ता मूल्य ७ खर्ब रुपैयाँ भन्दा बढि पुगेको छ । आइतबार (आज) सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७९ फागुन मसान्तसम्म नेप्सेमा सूचीकृत भएका सेयरको चुक्ता मूल्य ७ खर्ब १ अर्ब ९८ करोड रुपैयाँ रहेको छ ।

गत वर्ष फागुन मसान्तसम्म नेप्सेमा सूचीकृत सेयरको चुक्ता मूल्य ६ खर्ब ५१ अर्ब २१ करोड रुपैयाँ रहेको थियो ।

आर्थिक वर्ष २०७९÷८० को फागुनसम्म प्राथमिक बजार मार्फत रू.४१ अर्ब ४६ करोड बराबरको पुँजी परिचालन भएको उल्लेख गरिएको छ,जुन गत आर्थिक वर्ष को सोही अवधिको तुलनामा ९३.३ प्रतिशतले बढी हो।

२०७८ फागुनसम्म यस्तो मूल्य रू. ६ खर्ब ५१ अर्ब २१ करोड रहेको थियो। ४.४० यस अवधिमा साधारण शेयरको प्राथमिक निष्काशन मार्फत रू.५ अर्ब ७६ करोड, हकप्रद शेयर निष्काशन मार्फत रू.९५ करोड ऋणपत्र मार्फत रु.२७ अर्ब र म्युचुअल फन्ड मार्फत रू.७ अर्ब ७५ करोड पुँजी परिचालन भएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा प्राथमिक बजार मार्फत रू. २१ अर्व ४५ करोड पुँजी परिचालन भएको थियो । चालु आर्थिक वर्षको फागुनसम्म कुल पुँजी परिचालनमा ऋणपत्रको अंश करिब ६५ प्रतिशत रहेको छ ।

पछिल्लो समय ऋणपत्र निष्काशनमार्फत पुँजी सङ्कलन गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ । ४.४१ आर्थिक वर्ष २०७९/८० को फागुनसम्म १७ करोड २ लाख ५२ हजार कित्ता बराबरको प्रथम निष्कासन, ६४ करोड ८४ लाख ३६ हजार ८ सय ७९ सामुहिक लगानी कोषका ईकाइ, ४ करोड १४ लाख ८० हजार ९ सय १७ कित्ता बराबरको हकप्रद सेयर २८ करोड ८० लाख ८१ हजार ८ सय ३० कित्ता बराबरको बोनस सेयर, ३ करोड ४३ साख ३३ हजार ६ सय ४१ कित्ता संस्थागत ऋणपत्र र ६५ करोड कित्ता सरकारी ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएका छन्।

आर्थिक वर्ष २०७९÷८० को फागुनसम्म थप २३ (६ लघुवित्त १७ जलविद्युत कम्पनी नेप्सेमा सूचीकृत भएका छन् । यसअनुसार २०७९ फागुनसम्म नेप्सेमा सूचीकृत कम्पनीको सङ्ख्या २४५ पुगेको छ। २०७८ फागुनमसान्तमा यस्तो सङ्ख्या २२८ थियो ।

त्यस्तै आर्थिक सर्वेक्षणमा अनुसार २०७८ फागुन मसान्तमा रू.३७ खर्ब ८२ अर्ब ७९ करोड रहेको धितोपत्र बजार पुँजीकरण २५.४ प्रतिशतले कम भई २०७९ फागुन मसान्तमा रू.२८ खर्ब २३ अर्ब ६८ करोड कायम भएको छ । कुल धितोपत्र बजार पुँजीकरणमध्ये बैङ्क तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ६४.७ प्रतिशत रहेको छ।

त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १३.९ प्रतिशत लगानी कम्पनीको हिस्सा ६.८ प्रतिशत उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.९ प्रतिशत, होटेलको हिस्सा १.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीको हिस्सा ८.४ प्रतिशत रहेको छ ।