कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान १० वर्षमा ६ प्रतिशतले घट्यो


काठमाडौँ । कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दै गइरहेको देखिएको छ । नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९ ८० को फागुनसम्मको आर्थिक सर्वेक्षण अनुसार कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान क्रमश घट्दै गएको देखिएको हो ।

दश वर्षमा ६.२ प्रतिशतले घटेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ । सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७० ७१ मा कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३०.३ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षमा यसको योगदान २४.१ प्रतिशत रहने अनुमान गरिएको छ ।

आर्थिक सर्वेक्षणले कृषि क्षेत्रमा आवद्ध जनसंख्या घट्दै जानु, कृषि पेशाभन्दा अन्य पेशातर्फ आकर्षित हुँदै जानु र वैदेशिक रोजगारीमा जाने कामदारको संख्या उच्च रहेको कारण हिमाली र पहाडी क्षेत्रमा कृषि योग्य जमिन बाँझो हुने क्रम बढ्दै गएको उल्लेख गरिएको छ ।

कृषि क्षेत्रमा आवद्ध हुनेको जनसंख्या पनि घट्दै गएको छ । सन् २०१८ मा ६०.४ प्रतिशत रहेकोमा सन् २०२१ मा ५०.४ प्रतिशत रहेको उल्लेख गरिएको छ ।