करको विषयमा अन्यौल देखिएका लगानीकर्ता धिताेपत्र बोर्ड पुगे


काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि करको विषयमा लगानीकर्ता अन्यौल देखिएका छन् । अर्थमन्त्रालयसँग आफ्ना आवाज पुर्याउन बुधबार (अाज ) नियमनकारी निकाय धितोपत्र बोर्ड पुगेर सेबोन अध्यक्ष रमेश हमाललाई भेट्ने लगानीकर्ताले बताए ।

सेयर लगानीकर्ताका ३ वटा संगठनले बुधबार एक विज्ञप्ति जारी गर्दै व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने ५ प्रतिशत र ७.५ प्रतिशत श्रोतमा कट्टी गरिएको पुँजीगत लाभ करलाई अन्तिम कर नै कायम गर्न माग गरेका छन् । आर्थिक ऐनको बुँदा नं। २९ को व्यवस्था कर विभागको मिति २०७७/०३/०५ को पत्र विपरित रहेको संघहरुले उल्लेख गरेका छन् ।

नेपाल इन्भेष्टर फोरम, शेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुंजीबजार लगानीकर्ता संघले संयुक्त विज्ञप्ति जारी गर्दै आजका मितिसम्म फर्म वा कम्पनी बाहेक व्यक्ति मार्फत गरिएको कारोबार व्यवसायको रूपमा नरहेको र सो अनुसार कर विवरण बुझाउनु पर्ने शीर्षकमा नरहेको देखिएको उल्लेख गरेका छन् । व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने ५५ र ७.५५ श्रोतमा कट्टी गरिएको पुँजीगत लाभ करलाई अन्तिम कर नै कायम गरिदिन उनीहरुले माग गरेका छन् । अन्यथा शेयरबजारमा लगानी गर्ने लाखौँ लगानीकर्ताहरू आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी संघहरुले दिएका छन्।

साथै यस विषयमा हिजो र आज अर्थमन्त्रीसंग छलफल भईरहेको र अर्थमन्त्रीबाट सकारात्मक आश्वासन प्राप्त भएको संघहरुले बताएका छन् । संघहरुले सम्पूर्ण लगानीकर्ताहरूलाई धैर्यता र सुझबुझका साथ हतोत्साहित नभई लगानी गर्नु विशेष अनुरोध गरेका छन्।

विज्ञप्तिमा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, शेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष ताराप्रसाद फुल्लेल र नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले हस्ताक्षर गरेका छन् ।

यता, आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले पनि अल्पकालीनलाई ७.५ प्रतिशत दीर्घकालीनलाई ५ प्रतिशत अग्रिम पूँजीगत लाभकर अन्तिम नभएको घुमाउरो तरिकाले बताएका छन् ।