घोराही सिमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौं । घोराही सिमेन्टको आइपीओमा आवेदन दिने आज बुधबार जेठ १७ गते अन्तिम दिन रहेको छ । उद्योग प्रभावित क्षेत्रका बासिन्दाले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् ।

यस कम्पनीले वैशाख १९ गतेदेखि प्रिमियममा आइपीओ निष्कासन गरेको हो । यस सिमेन्टले ३ लाख ९७ हजार १९० कित्ता आइपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गरेको छ ।

घोराहीले फेस भ्याल्यू १०० रुपैयाँमा ३०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४०० रुपैयाँको दरले आइपीओ जारी गरेको हो । उक्त उद्योग प्रभावित क्षेत्र दाङ जिल्लाको घोराही उप महानगरपालिका वडा नं १, २, ३, ८, १४, १५, १७, १८ र १९ का बासिन्दाले आवेदन दिन सक्नेछन् ।

त्यस्तै, दाङ जिल्ला, बंगलाचली गाँउपालिका वडा नं ३, ४ र रोल्पा जिल्लाको त्रिवेणी गाँउपालिका वडा नं ३ र ४ का बासिन्दाहरुको लागि छुट्याएको छ ।

स्थानीय बसिन्दाले यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेका छन् ।

स्थानीय बासिन्दाले हिमालयन बैंक, नबिल बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबिआई बैंक, घोराही सिमेन्ट इण्डष्ट्री, प्रभु बैंक, कुमारी बैंक, एनएबि बैंक, सानिमा बैंक र ज्योति विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।