सरकारको भनाइ र गराइमा ठूलो अन्तराल भयो: नाडा


काठमाडाैँ । नाडा अटोमोबाइल्स एसोसिएसनले सरकारको भनाइ र गराइमा ठूलो अन्तराल रहेको जनाएको छ ।

नाडाले आर्थिक वर्ष २०८०/०८१ का लागि बजेटको विषयमा आफ्नो आधिकारिक धारणा राख्दै विद्युतीय सवारी साधनहरूमा लाग्ने महशुल दरहरूमा विभिन्न छुट र नीतिगत सुविधाहरूको सम्बन्धमा एउटा निश्चित र दीर्घकालीन नीति निर्माणका लागि सरकारसँग आग्रह गर्दे आएको, तर दुई वर्षको अन्तरालमा पटक पटक संशोधन गरेको भन्दै नाडाले असन्तुष्टि जनाएको हो ।

अटोमोबाइल व्यवसायीहरुको संगठन नाडाले आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै भनेको छ, “सरकारले आफ्नै मुलुकभित्र उत्पादन हुने हरित उर्जा अर्थात जल विद्युतको उपभोग बढाई फोसिल इन्धनमाथिको निर्भरतालाई क्रमशः घटाउदै लैजाने र विद्युतीय सवारी साधनहरूको उत्पादन समेत देशभित्रै गर्ने उद्देश्य अनुरुप महशुलहरूमा विभिन्न छुट र नीतिगत सुविधाहरूको व्यवस्था पनि गरेको छ । तर सरकारले दिएको त्यो छुट र सुविधालाई कहिले घटाउने र कहिले बढाउने गर्नाले विद्युतीय सवारी साधनहरूको व्यवसाय गर्ने व्यवसायीहरूको व्यवसाय गम्भीर रूपले प्रभावित मात्र भएको छैन, नेपालमै विद्युतीय सवारी साधनहरू उत्पादन गर्न चाहने उद्यमीहरू समेत हतोत्साहित हुदैँ गएका छन् ।”

सरकारले सर्वसाधरण जनताले प्रयोग गर्ने सार्वजनिक महत्वका विद्युतिय बसहरूमा लाग्ने भन्सार महशुलमा समेत ९०० प्रतिशतले बृद्धि गरेकोे भन्दै सार्वजनिक यातायातमा विद्युतिय बसहरूको प्रयोगलाई समेत निरुत्साहित गरेको नाडाले जनाएको छ ।

त्यस्तै नाडाले विगतको समय देखि माग गर्दै आए बमोजिम सरकारले २५० सिसिभन्दा माथिका टुह्वीलर सवारी साधनहरूमा लाग्दै आएको उच्च दरको अन्तःशुल्क महशुल र सडक निर्माण दस्तुर घटाएको र सवारी साधनको एसेम्बल उद्योगको सन्दर्भमा दिएको छुटलाई पनि निरन्तरता दिनु स्वागतयोग्य रहेको बताएको छ ।