बजेटमा परिसंघको धारणा,‘केही आर्थिक सुधारको प्रयास तर लगानी प्रोत्साहन र माग वृद्धि गर्नेमा शंका’


काठमाडौँ । नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८०/०८१ को बजेटले मन्दीमा रहेको अर्थतन्त्रलाई प्रस्तुत बजेटले निकास दिनेमा आशंका व्यक्त गरेको छ ।

परिसंघले बजेटबारे आफ्नो धारणा सार्वजनिक गर्दै केही आर्थिक सुधारको प्रयास भए पनि लगानी प्रोत्साहन र माग वृद्धि गर्नेमा शंका व्यक्त गरेको छ ।

मन्दिमा रहेको अर्थतन्त्रलाई समृद्धितर्फ लैजान लगानी बढाउनुपर्ने अवस्थामा पुँजीगत खर्च घटाईएको र निजी क्षेत्रको लगानी वृद्धि गर्न परिसंघले दिएका कतिपय सुझावहरू सम्बोधन नगरेको परिसंघको भनाई छ ।

परिसंघले भनेको छ,“बजेटले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न तयारी वस्तु र कच्चा पदार्थको भन्सार दर कम्तिमा दुई तहको फरक हुनुपर्ने परिसंघको सुझाव तथा कम्तिमा एक तहको फरक हुनुपर्ने सरकारको आफ्नै नीति समेत सम्बोधन गरेको छैन । आगामी दिनहरूमा यस्ता विषयहरू सरकारले सुधार गर्दै जानेमा परिसंघ आशावादी छ ।”

बजेटले निजी क्षेत्रलाई आर्थिक बिकासको संवाहकको रुपमा स्वीकार्दै परिसंघले उठान गरेका केहि विषयहरू भने सम्बोधन गरेको विज्ञप्तिमा उल्लेख छ ।

परिसंघले भनेको छ,“आगामी आर्थिक वर्ष देखि बन्ने परियोजनाहरुमा स्वदेशमा उत्पादन भएका सिमेन्ट, फलामे छड, जस्तापाता, फलामे पाइप, प्लाष्टिकका पाइप र विद्युतीय तारको प्रवर्द्धन गर्ने, जग्गाको हदबन्दी सम्बन्धी कानूनमा पुनरावलोकन गर्ने, सार्वजिनक निजी साझेदारीमा औद्योगिक क्षेत्र निर्माण र संचालन, वैदेशिक लगानीको न्यूनतम सीमा पुनरावलोकन गर्ने, ढुंगा, गिट्टी निकासी गर्न आधार तयार गर्ने, साइट क्लियरेन्स भएका आयोजनालाई मात्रै बजेट बिनियोजन गरिने, स्टार्टअप व्यवसायमा लगानी गर्न प्रोत्साहित गर्नेलगायतका विषय स्वागतयोग्य छन् ।”

नक्कली तथा अवैध पैठारीलाई नियन्त्रण तथा निरुत्साहन हुने गरि आयातित मालवस्तुको प्याकेजिङमा आयातकर्ता र बजार वितरकको लेबल लगाएर मात्र बजारमा पठाउन पाउने व्यवस्था परिसंघले माग गर्दै आएको र यस व्यवस्थाको प्रभावकारी कार्यान्वनयका लागि परिसंघले पुनः जोड दिएको छ ।

विदेशी लगानीबाट आर्जित आयलाई पुनः लगानी गर्दा स्वीकृति लिनु नपर्ने व्यवस्था, विदेशी लगानीकर्ताहरूका लागि विदेशी विनिमय जोखिम न्यूनीकरण गर्न हेजिङ गर्ने संस्था तोकी हेजिङ सेवा उपलब्ध गराउने घोषणाले विदेशी लगानी आकर्षित गर्न सक्ने परिसंघको विश्वास छ ।

बजेटमार्फत् ६ प्रतिशतको आर्थिक वृद्धि र ६.५ प्रतिशतको मूल्यवृद्धि कायम गर्ने लक्ष्य राखिएको भन्दै परिसंघले आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सार्वजनिक एवं निजी क्षेत्रबाट आवश्यक रुपमा स्रोत परिचालन जरुरी भएको विद्यमान अवस्थामा आगामी मौद्रिक नीतिमार्फत तरलता सहजीकरण एवं उच्च ब्याजदर वृद्धि नियन्त्रणका लागि पहलकदमी लिइनेमा आशावादी रहेको जनाएको छ ।