अर्थमन्त्रालयले भन्याे : सेयरबजारमा पुँजीगत लाभमा ५ प्रतिशत र ७.५ प्रतिशत नै अन्तिम कर


काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक विधेयक–२०८० को बुँदा नं.२९ लाई सम्बोधन गर्दै पुँजी बजारमा लिइँदै आएको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम कर रहेको स्पष्ट पारेको छ। अर्थ मन्त्रालयमा आइतबार (आज) सेयर लगानीकर्ताहरुसँग भएको छलफलमा अर्थमन्त्री महतले व्यक्तिका लागि ५ प्रतिशत र ७.५ प्रतिशत पूँजीगत लाभकर अन्तिम कर हुने प्रष्ट पारेका हुन् ।

अर्थमन्त्रालयमा आन्दोलनरत लगानीकर्ता र अर्थमन्त्री र सरकारका सचिवहरुबिच भएको छलफलपछि मन्त्रालयले पुँजीगत लाभमा साविक बमोजिमकै कानुनी व्यवस्था कायम हुने भनि सूचना जारी गरेको छ ।
अर्थद्वारा जारी सूचनामा भनिएको छ, ‘आर्थिक विधेयक, २०८० को दफा २९ का सन्दर्भमा प्राकृतिक व्यक्तिले लगानी गरेको सूचीकृत धितोपत्रहरु बिक्री गर्दा हुने लाभमा साबिकबमोजिमकै कानुनी व्यवस्था कायम रहेको छ। त्यस्तो कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत र ७।५ प्रतिशत पुँजीगत लाभकर अन्तिम कर हुने व्यहोरा सम्बन्धित लगानीकर्ता एवं सर्वसाधारणको जानकारी लागि यो सूचना जारी गरिन्छ।’

छलफलमा अर्थमन्त्री, अर्थसचिव, आन्तरिक राजस्व विभागका महानिर्देशक, सेबोनका अध्यक्ष, नेप्सेका सीईओ, ब्रोकर एसोसिएसनका पदाधिकारी र आन्दोलनरत लगानीकर्ताहरुको उपस्थिति रहेको थियो ।

आन्दोलनरत लगानीकर्ताहरुले भने पुँजीबजारमा ५ र ७.५ प्रतिशत नै अन्तिम कर हुनुपर्ने र आर्थिक विधेयक २०८० को २९ नं। बुँदा खारेज हुनुपर्ने माग गर्दै आएका थिए। उनीहरुले आफ्नो माग पूरा नहुन्जेलसम्म बजार सञ्चालन हुन नदिने भनेर आज बिहान सबै ब्रोकर हाउसमा तालाबन्दी पनि गरिदिएका थिए।