करसम्बन्धी अन्यौल सुल्झिदा नेप्सेमा ५३ अंकको उछाल


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजारमा उछाल आएको छ ।

आइतबार नेप्से परिसूचक ५३ अंकले बढेको छ । गत बुधबारदेखि आन्दोलनरत लगानीकर्ताले सफलता पाएको प्रचार गर्दा लगानीकर्ता हौसिएको जानकारहरु बताउँछन् ।

लगानीकर्ताहरुले विहान कारोबार सुरु हुनुअगावै ब्रोकरहरुमा ताला लगाएर टीएमएस बन्द गराएका थिए । सबै ब्रोकरहरुको टीएमएस बन्द भएपनि नेप्सेमा भने कारोबार प्रणाली खुला नै रहेको थियो ।

पुँजीबजारमा लगानीकर्ताले तिर्दै आएको ५ प्रतिशत र ७.५ प्रतिशत कर नै अन्तिम कर बनाइनुपर्ने भन्दै लगानीकर्ताहरु आन्दोलित बनेका थिए ।

सरकारले सार्वजनिक गरेको आर्थिक विधेयक को बुँदा नम्बर २९ मा करसम्बन्धी अन्यौलता रहेको भन्दै लगानीकर्ता आक्रोशित बनेका थिए ।

लामो समयदेखि वियरिस बनेको सेयरबजारलाई अर्थमन्त्रिले झुटो आश्वासन दिएर लगानीकर्तालाई झुक्याएको आरोप लगानीकर्ताको थियो ।

यता आन्तरिक राजश्व विभागले भने पुँजीबजारका लगानीकर्ताले तिर्दै आएको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लााभकरमा कुनै परिर्वतन नभएको भन्दै पटक पटक प्रष्टिकरण दिँदै आएको थियो ।

सेयरबजारमा चलखेल गर्ने उद्देश्यले प्रष्ट भएको पुँजीगत लााभकरको विषयमा अन्यौलता सिर्जना गरिएको आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनालीले बताउँदै आएका थिए ।

विभागले पटके लगानीकर्ता र नियमित लगानीकर्ता भनेर सूचना निकालेको थियो । यसमा लगानीकर्ताले पटके लगानीकर्ता शव्दवलीमा आपत्ति जनाउँदै आएका थिए ।

पछि विभागले सच्याएर प्राकृतिक लगानीकर्ता भनेर सच्याएपछि लगानीकर्ताका संस्थाका प्रतिनिधिले सहमति जनाउँदै समस्या नरहेको जनाएका थिए ।

तर,केही लगानीकर्ताहरु भने पुनः ५ प्रतिशत र ७.५ प्रतिशत लाई नै अन्तिम कर बनाउनुपर्ने भन्दै नारावाजी गरिरहेका थिए ।

जस अनुसार उनिहरु आज (आइतबार) अर्थमन्त्रालयमा नेप्सेका अध्यक्ष, सेबोन अध्यक्ष, अर्थमन्त्रालयका सचिवहरु र अर्थमन्त्रीबीच प्राकृतिक व्यक्तिले लगानी गरेको धितोपत्रबाट पुँजीगत लाभमा ५ प्रतिशत र ७.५ प्रतिशत नै अन्तिम कर कायम रहने भनि सहमति गरेका छन् ।

आन्तरिक राजश्व विभागसँग यस अगाडीको छलफलमा करसम्बन्धी अन्यौलतामा प्रष्ट पारिएको कुरामा नै आज सहमति भएको नेपाल पुँजी बजार संघकी अध्यक्ष राधा पोख्रेल बताउँछिन् ।

‘आज अर्थमन्त्रालयमा भएको छलफलमा कुनै परिर्वतन भएको छैन,’अध्यक्ष राधा भन्छिन्, ‘ करको अन्योलताको विषयमा विभागसँग छलफल गरेर हामीले भनिसकेका छौं, राजश्व विभागले सार्वजनिक गरेको सूचना र अर्थमन्त्रालयले सार्वजनिक गरेको सूचनामा के फरक छ आन्दोलन गरेका लगानीकर्ताहरुलाई नै सोध्नुहोस् ।’

अर्थमन्त्रालयमा आज भएको छलफलबाट आन्दोलनले सफलता पाएको आन्दोलनरत लगानीकर्ता रोहन कार्कींले बताए ।
कार्कीका अनुसार यो भन्दा पहिले प्राकृतिक व्यक्तिलाई पनि व्यवसायी बनाउन खोजिएको थियो ।

प्राकृतिक व्यक्ति, नियमित व्यवसाय गर्ने, पटके भनिएको थियो कार्कीले भने ‘अब यी सबैको हकमा १ अर्ब कमाओस् कि १ करोड कमाओस् अन्तिम कर ५ प्रतिशत र ७.५ प्रतिशत हुने भनेर अर्थमन्त्रालयले स्पष्ट खुलाइएको छ ।’

आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ५३.०३ अंकले बढेर १९१९.३७ अंकमा पुगेको छ ।

नेप्सेमा कारोबार भएका सबै उपसमहहरुमा हरियाली छाएको छ ।

आइतबार कारोबार रकमका आधारमा शिवम् सिेमन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको सेयरमूल्य १५ करोड ८१ लाख ५४ हजार २ सय ३८ रुपैयाँको कारोबार भएको छ ।

कुल २७० कमपनीको ४५ लाख ५७ हजार १ सय ६९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६५ करोड ६३ लाख ४० हजार ३ सय ९१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ