नेप्सेमा ४० अंकको वृद्धि, साढे ३ अर्ब रुपैयाँको कारोबार


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजारमा उछाल आएको छ भने ३ अर्ब रुपैयाँ माथिको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक ४०.४८ अंकले बढेर १९८०.०९ अंकमा पुगेको छ ।
सेन्सेटिभ परिसूचक ६.१० अंकले बढेर ३७०.५२ अंकमा पुगेको छ । आज नेप्सेमा कारोबार भएका कुल १३ वटै उपसमुहमा हरियाली छाएको छ ।

आइतबार कारोबार रकमका आधारमा नागरिक लगानीकोषको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ११ करोड ४७ लाख २४ हजार ५ सय १८ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन ग्लोबल आइएमआई व्यालेन्स फण्ड–१ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । फण्डको मूल्य ३.८३ प्रतिशतले घटेको छ ।

कुल २७५ कम्पनीको ९५ लाख २८ हजार २ ५५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५ सय ६३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।