चिनियाँ राजदूतले उपाध्यक्ष श्रेष्ठसँग भने– १६औँ योजनाका लागि सहयोग गर्न तयार छौँ


काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठबीच भेटवार्ता भएको छ ।

बिहीबार सिंहदरबारस्थित आयोगको कार्यालयमा राजदूत सोङ र उपाध्यक्ष डा. श्रेष्ठबीच शिष्टाचार भेटवार्ता भएको हो ।

आगामी जुलाई ९ देखि १० सम्म बेइजिङमा चाइना इन्टरनेसनल डेभलपमेन्ट कर्पोरेसन एजेन्सीको आयोजनामा ‘फोरम अन ग्लोबल एक्सन फर शेयर्ड डेभलपमेन्ट’ को पहिलो उच्चस्तरीय बैठक हुँदैछ ।

भेटका क्रममा चिनिया राजदूत सोङले उपाध्यक्ष श्रेष्ठसँग उक्त बैठकमा नेपालको सहभागिताका सन्दर्भमा समेत चासो राखेका थिए ।

राष्ट्रिय योजना आयोगले अहिले १६ औँ योजनाको तयारीमा जुटिरहेको छ । १६औँ योजनाका लागि आवश्यक सहयोग गर्न तयार रहेको समेत राजदूत सोङले बताएका छन् ।

उपाध्यक्ष श्रेष्ठले पनि छिमेकी मुलुकका हिसाबले चीन–नेपाल सम्बन्ध सुमधुर रहेको बताए । चीनले नेपालका लागि गरिरहेको सहयोगका लागि उपाध्यक्ष श्रेष्ठले धन्यबाद समेत दिए ।