पर्यटन प्रवर्द्धन गर्न जिरीमा ‘बुलेट राइड’


काठमाडौँ । नेपाल बुलेट हाउसको आयोजनामा दुई दर्जन भन्दा बढी रोयल इन्फिल्ड अर्थात बुलेट राइडरहरू जिरी पुगेका छन् । काठमाडौँबाट शुक्रबार प्रस्थान गरेको राइडर टोली जिरी र यसको आसपासका विभिन्न पर्यटकीय क्षेत्रहरूमा रमाएका छन् ।

जिरी घुम्न जाँउ फिरीरी नारा सहित आयोजित सो राइड काठमाडौँको तीनकुनेबाट सुरू भएको थियो भने राइडरहरू धुलिखेल–दोलालघाट–खाडीचौर–खरिढुङ्गा–चरिकोट–तामाकोसी–खावा हुँदै जिरी पुगेका थिए ।

नेपाल बुलेट हाउसका सञ्चालक रमेश कार्कीले दुई पांग्रे सवारी मार्फत पर्यटकीय गन्तव्य पुग्न सकिने सन्देशका लागि जिरी गएको बताए।

“यसअघि हामीले नेपालको विभिन्न पर्यटकीय क्षेत्र जस्तै रारा र अपर मुस्ताङ, लोमान्थाङलगायत ठाउँको बाइक यात्रा गरेका थियौँ,” उनले भने,”कोरोना महामारीले बिचमा बाइक टुर स्थगित गरेका थियौँ, जिरी बाइक टुरबाट हाम्रो अभियान फेरि सुचारु भएको छ।”

बुलेट हाउसले आयोजना गरेको राइडले जिरीको पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्ने जिरीका व्यवसायी तथा अभियन्ता लीलाराम खड्काले बताए। ”काठमाडौँबाट नजिकको गन्तव्यमा बाइक लभर्सलाई पुर्याउनका लागि यसले विशेष प्रेरणा दिनेछ,’ खड्काले भने।

पर्यटन प्रवर्द्धन मञ्च नेपालको सहयोग समेत रहेको सो राइडले आगामी दिनमा थप कार्यक्रम गर्न हौस्याएको कार्कीले बताए । बुलेट हाउसले हरेक वर्ष पर्यटकीय गन्तव्यमा राइड गर्ने बताएको छ ।