ट्रान्समिसन लाइन निर्माणलाई प्राथमिकता नदिइए विद्युत आपूर्तिमा समस्या आउने कुलमान घिसिङको चेतावनी


काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सरकारले ट्रान्समिसन लाइन निर्माणलाई प्राथमिकता नदिए विद्युत आपूर्तिमा समस्या आउने बताएका छन् ।

प्राधिकरणमा आज पत्रकार सम्मेलन गर्दै निर्देशक घिसिङले विद्युत प्रशारण र वितरण लाइन निर्माणमा राज्यका अन्य कुनैपनि निकायले सहयोग नगरेको भन्दै ट्रान्समिसन लाइन निर्माणलाई प्राथमिकता नदिए विद्युत आपूर्तिमा समस्या आउने बताएका हुन् ।

उनले बिजुली निर्यात गर्न, आन्तरिक उपभोग बढाउन वा बिजुलीबाट आर्थिक लाभ लिन प्रशारण र वितरण लाइनमा सुधार गर्न आवश्यक रहेको बताए ।

प्रशारण र वितरण लाइन निर्माण कार्यलाई सुधार गर्न नसके ऊर्जा क्षेत्रमा लगानी भएको अर्बौं रुपैयाँ जोखिममा पर्ने सम्भावना रहेको घिसिङ्को भनाई थियो ।

उनले प्रशारण र वितरण लाइन निर्माणमा गर्दा जग्गा प्राप्ति, रुख कटान लगायत समस्याका कारण प्रशारण लाइन निर्माण हुन नसक्दा बिजुली वितरणमा समस्या देखिएको दाबी गरे ।

विद्युतमा सबै निकायहरुको सहयोग नभए देशमा ट्रान्समिसन लाइन बनाउन धेरै ठूलो चुनौति रहेको उनले उल्लेख गरे ।

घिसिङले ट्रान्समिसन लाइन नबने अर्को वर्ष विद्युत व्यवस्थापन गर्नसक्ने सम्भावना नभएको बताए ।

उनले हेटौँडादेखि न्युबुटवलसम्मको एमसीसीले बनाउने ४०० केभि लाइन ढिलो भयो भने धेरै विद्युत खेरा जाने घिसिङ उल्लेख गरे ।

कार्यकारी निर्देशक घिसिङ्ले अहिले उत्पादित विद्युत खपत गर्न र बाँकी रहेको विद्युत निर्यात गर्नको लागि संरचनामा लगानी गर्न नसके अर्को विस्फोट (डिजास्टर) हुने चेतावनी दिए ।

५ वर्ष भित्र शुरु गरेका आयोजनाहरुको निर्माणमा ४ देखि ५ खर्ब रुपैयाँ आवश्यक पर्ने उनको भनाई छ ।

कार्यकारी निर्देशक घिसिङ्ले पूर्वपश्चिम ट्रान्समिसन, क्रसबोर्डर लाइन र आन्तरिक सवस्टेसनहरु बनाएर काठमाडौंको विद्युत सप्लाई सहज बनाउनको लागि करिव ५० देखि ६० अर्ब रुपैयाँ आवश्यक पर्ने बताए ।