१० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक


काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८६ ‘ङ’ जारी गर्ने भएको छ। राष्ट्र बैंकले यही असार ६ गते ६ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो।

उक्त ऋणपत्र भोलि असार ५ गते बोलकबोलमार्फत बिक्री गरिने बैंकले जनाएको छ । यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन्।

यो ऋणपत्रको ब्याजदर पनि बोलकबोलमार्फत हुनेछ। ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ। ऋणपत्र २०८६ असार ६ गते परिपक्व हुनेछ।

बोलकबोलमा इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउनेछन्। प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात रु। ८.५ अर्ब र रु। १.५ अर्ब छुट्याइएको छ। अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ।

आवेदन गर्दा न्यूनतम ५० हजार र बढीमा ५० हजारले भाग जाने गरी निष्कासित सबैका लागि आवेदन दिन सक्नेछन् ।

खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर बैंक तथा फाइनान्स कम्पनीबाट कर्जा लिन पाइनेछ । ऋणपत्रको दोस्रो बजारमा नेपाल स्टक एक्सचेञ्जमार्फत कारोबार हुनेछ ।