ओभरसब्सक्राइब्ड भएको घोराही सिमेन्टको आइपीओमा आवेदन दिने म्याद थपियो


काठाडौं । करिब साढे २ गुणाले ओभरसब्सक्राइब्ड भइसकेको घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओमा आवेदन दिने म्याद थप गरिएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै आइपीओमा आवेदन दिने मिति बढाएको हो ।

अब असार १४ गतेसम्म आवेदन दिन सकिने र यसअवधिमा सबै आवेदन प्रमाणित गर्दा माग अनुसार आवेदन प्राप्त भएमा भने असार १४ गते अगाडी नै पनि आवेदन बन्द गर्न सकिने कम्पनीको भनाई छ।

कम्पनीले उक्त आइपीओ सर्वसाधारणका लागि जेठ ३२ देखि असार ४ गतेसम्मका निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीका अनुसार प्राप्त आवेदनहरु प्रमाणित गर्ने कार्य भइरहेकाले आवेदन दिने अवधि थपिएको हो।

सीडीएसको पछिल्लो तथ्याङ्क अनुसार कम्पनीको आईपीओमा आइतबार साँझसम्ममा यस आइपीओमा ७ अर्ब ५० करोड ६० लाख ३३ हजार ७५० रुपैयाँ बराबरको आवेदन परेको छ । ४ लाख ४५ हजार ८९० जना सर्वसाधारण लगानीकर्ताले १ करोड ७२ लाख ५५ हजार २५० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा २.४९ गुणा बढी आवेदन हो ।

उक्त आइपीओमा माग भन्दा धेरै आवेदन परेपनि प्रमाणित गर्ने क्रममा खातामा पैसा नभएकोहुनाले धेरै आवेदनकर्ताको आइपीओ रिजेक्ट भएको जानकारहरु बताउँछन् । उनिहरुकाअनुसार अधिकांश सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँ भनेर आइपीओ भरेको हुनाले पनि समस्या देखापरेको हो ।

कम्पनीले १०० अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थप गरेर आइपीओ निष्कासन गरेको हो । अर्थात् ४३५ रुपैयाँको दरको कुल ६९ लाख ११ हजार ६७० कित्ता आइपीओ सर्वसाधारणको लागि निष्कासन गरेको हो । कम्पनीको आईपीओ भर्न लगानीकर्ताहरूले कम्तिमा ४ हजार ३ सय ५० रूपैयाँ जम्मा गर्नुपर्नेछ । न्यूनतम भर्दा १० कित्ता भर्नुपर्ने हुन्छ । प्रतिकित्ता मूल्य ४३५ रूपैयाँ रहेको हुँदा १० कित्ता भर्न ४ हजार ३ सय ५० रूपैयाँ जम्मा गर्नुपर्नेछ ।