घोराही सिमेन्टको आइपीओ बिक्री स्थगन गर्न धितोपत्र बोर्डको निर्देशन


काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपिओ बिक्री स्थगन गर्न निर्देशन दिएको छ।

बोर्डले सोमबार एक सूचना सार्वजनिक गर्दै घोराही सिमेन्टको आईपिओ बिक्री स्थगन गर्न निर्देशन दिएको हो ।

बोर्डले सर्वसाधारण लगानीकर्ताको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दैै सार्वजनिक निष्कानको सम्पूर्ण प्रक्रिया स्थगत गर्न निर्देशन दिएको छ ।

बोर्डले आईपिओ निष्काशनको लागि बिक्री प्रबन्धक रहेको हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्टलाई पत्राचार गर्दै सार्वजनिक निष्काशनको सम्पूर्ण प्रक्रिया स्थगन गर्न निर्देशन दिएको हो ।

माग भन्दा बढी कित्ता सेयरको लागि आवेदन प्राप्त भईसकेको अवस्थामा समेत निष्काशनको समयावधी थप गर्न सूचना प्रकाशित गरिएको भन्दै तत्कालको लागि सबै प्रक्रिया स्थगन गर्न निर्देशन दिएको बोर्डको सुपरिवेक्षण विभागका सहायक निर्देशक सरिता महर्जनले बताइन् ।

बोर्डको जारी गरेको सूचनामा ‘उपर्युक्त सम्बन्धमा तहाको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सार्वजनिक निष्काशन भएको घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडलाई प्रदान गरेको इस्युअर रेटिङ, क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को नियम ३४ को उपनियम (२) विपरित भएर नभएको वारेमा केयर रेटिङ्ग नेपाल लिमिटेडलाई तीन ९३० दिन भित्र स्पष्ट गरी पेश गर्न मिति २०८०/०२/३० मा पत्राचार गरिएकोमा केयर रेटिङ्ग नेपाल लिमिटेडले हालसम्म जानकारी पेश नगरी कुनै आधार बिना म्याद थपको लागी अनुरोध गरेको साथै उक्त कम्पनीको सार्वजनिक निष्काशनमा माग भन्दा वढी कित्ता शेयरको लागि आवेदन प्राप्त भइसकेको अवस्थामा समेत सार्वजनिक निष्काशनको समयावधि थप गर्न सूचना प्रकाशित गरेको देखिएको सन्दर्भमा सर्वसाधारण लगानीकर्ताहरुको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै उक्त कम्पनीको रेटिङ्ग र सार्वजनिक निष्काशन सम्बन्धी कैफियतको जाँचबुझका लागि हाललाई घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको सार्वजनिक निष्काशनको सम्पूर्ण प्रक्रिया स्थगन गर्न निर्णयानुसार जानकारी गराइन्छ ।’ उल्लेख गरेकाे छ ।

यसअघि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको घोराही सिमेन्ट इन्डस्ट्रीमा परेको ८५ लाख कित्ताभन्दा बढी कित्ताका सेयर दिइएको आवेदन रद्द भएको खुलेको थियो। 

कम्पनीले ६९ लाख ११ हजार ६ सय ७० कित्ता शेयर निष्काशन गरेको हो । ६९ लाख कित्ता शेयर निष्काशन गर्दा १ करोड कित्ता बढी रिजेक्ट हुनु अस्वभाविक रहेको सिडीएसको भनाई छ । सिडीएसका अनुसार आज दिउँसो २ बजेर ३५ मिनेटसम्ममा ५ लाख ४४ हजार २ सय ४७ जना आवेदकबाट २ करोड ३३ लाख २२ हजार ३ सय ५० कित्ताको लागि आवेदन परेको छ । यो मध्ये १ करोड कित्ता रिजेक्ट भईसकेको सिडीएसले जनाएको हो ।

हिजो साँझ ५ बजेसम्म यो आईपीओमा ४ लाख ४५ हजार ८९० आवेदकबाट कुल १ करोड ७२ लाख ५५ हजार २५० कित्ता सेयर माग भएको थियो। जुन मागभन्दा २.४९ गुणाले बढी हो।

घोराही सिमेन्टले गत जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री खुला गरेको छ।

यसमा स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँडफाँड गरेपछि बाँकी रहेको ८ लाख ७४ हजार ३८२ कित्तासमेत थपिएको छ। यो आईपीओमा प्रतिकित्ता ४३५ रुपैयाँ दरका आवेदन दिनुपर्नेछ। जसमा कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थपेको छ।