नेपाल स्टक एक्सचेन्जको सुरुवात भएको लगभग ३० वर्ष पुगेको छ । ३० वर्षको लामो यात्रामा पनि अझै हाम्रो सेयर बजार परिपक्क हुन नसकेको टिप्पणी भइरहेको छ । परिपक्क सेयर बजारका लागि विभिन्न कारोबारयोग्य वित्तीय औजारहरूको आवश्यकता पर्छ । सरकारी स्वामित्वको नेपाल स्टक एक्सचेन्ज (नेप्से) पुरानै ढर्रामा चलिरहेको र आधुनिकीकरणमा कहिल्यै चासो नदिएको लगानीकर्ताको आरोप छ ।
नियामकीय निकायले तदारुकता नदेखाउँदा अन्तर्राष्ट्रिय बजारमा वर्षौंदेखि अभ्यासमा आएका उपकरण, औजारहरू नेपालको सेयर बजारमा आउन नसकेको उनीहरूको गुनासो छ ।
सेयर बजारको विकास र सुदृढीकरणको लागि समयानुकूल नीतिनियम र वित्तीय औजारमा विविधता ल्याउन आवश्यक रहेको पुँजी बजारका जानकारहरू बताउँछन् । खुला बजारमा सेयर कारोबार हुन थालेको लामो समय बितिसक्दा पनि वित्तीय औजारहरूमा विविधता नभएको उनीहरूको भनाइ छ । पछिल्लो समय लगानीकर्ताहरूलाई नयाँ ‘डेरिभेटिभ प्रोडक्ट’ उपलब्ध गराउने उद्देश्यसहित नेप्सेले नयाँ इन्डेक्सको तयारी गरेको छ ।
२०७९ सालमै नेप्सेको वार्षिकोत्सवको अवसरमा ‘नेप्से–५०’ इन्डेक्स ल्याउने तयारी भए पनि आन्तिरक छलफलमै थियो । नयाँ वर्ष २०८० को सुरुवातसँगै नयाँ स्टक एक्सचेन्जको कुराले बजार तातिरहँदा नेप्सेले भने ‘नेप्से–५०’ को सट्टा ‘नेप्से–३०’ इन्डेक्स ल्याउन तयारी थालेको छ । यस अघि नेप्सेले ५० वटा कम्पनीलाई समावेश गरेर नेप्से ५० ल्याउने बताउँदै आएको थियो । स्टक एक्सचेञ्जले २०८० वैशाख २० गते सूचना जारी गर्दै प्रस्तावित ‘नेप्से– ३’ इन्डेक्स सञ्चालनको लागि लगानीकर्तासँग राय सुझाव मागेको छ ।
‘नेप्से– ५०’ बनाउने प्रारम्भिक कुरा भए पनि छलफल गर्दै जाँदा अहिले ‘नेप्से–३’ उपयुक्त देखिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुली बताउँछन् । दोस्रो बजार कारोबारलाई सुदृढ बनाउन सहयोग पुग्ने गरी सूचकांकको विकास, सञ्चालन तथा व्यवस्थापनका लागि नयाँ ‘इन्डेक्स’ जारी गर्न लागिएको उनले बताए ।
बजारमा तत्काल कारोबारयोग्य (फ्रि फ्लोट) सेयरलाई समावेश गरी बजार पुँजीकरणमा आधारित (भ्यालु वेटेड) सूचकांकको रूपमा नेप्से–३० इन्डेक्स तर्जुमा हुनेछ । पराजुलीका अनुसार यो सूचकांकले बजार कारोबार तथा उतार–चढावलाई प्रतिविम्बित गर्नुका साथै डेरिभेटिभ प्रकृतिको निश्चित अवधिको कारोबार उपकरण सञ्चालन, पोर्टफोलियो व्यवस्थापन, एक्सचेन्ज ट्रेडेड फन्ड सञ्चालन लगायतमा सघाउ पुग्नेछ ।
लगानीकर्तालाई रणनीति बनाउन सहज
नेप्से ३० इन्डेक्सलाई हेरेर लगानीकर्ताले लगानीको योजना बनाउन सक्ने नेप्सेका अधिकारी बताउँछन् । “अहिले पनि म्युचुअल फन्ड तथा संस्थागत लगानीकर्ताहरूले यस्ता कम्पनी छनोटका लागि ठुलो अध्ययन गरिरहनु परेको छ । यदि नेप्सेले नै यस्ता कम्पनीहरू छनोट गरिदिएपछि म्युचुअल फण्डले यसैका लागि छुट्टै अध्ययन गरिरहनु पर्दैन,उनीहरूले नेप्से ३० मा भएका कम्पनीमा लगानी गर्न सक्छन्,” प्रवक्ता पराजुली भन्छन् । नेप्सेले सञ्चालनमा ल्याउन खोजेको नेप्से ३० इन्डेक्स समग्र लगानीकर्ताको लागि फलदायी हुने लगानीकर्ता नवराज दाहाल बताउँछन् ।
यो सूचकांकले बजार कारोबार तथा उतार–चढावलाई प्रतिविम्बित गर्नुका साथै डेरिभेटिभ प्रकृतिको निश्चित अवधिको कारोबार उपकरण सञ्चालन, पोर्टफोलियो व्यवस्थापन, एक्सचेन्ज ट्रेडेड फन्ड सञ्चालन लगायतमा सघाउ पुग्नेछ ।”
“लगानीकर्ताको लागि झुक्किने जोखिम कम हुन्छ,” दाहाल भन्छन्, “लगानीकर्ताले नेप्से–३० इन्डेक्स अनुसार लगानीको रणनीति बनाउन सक्छन् जसले गर्दा लगानीकर्ता झुक्किने सम्भावना कम हुन्छ ।” लगानीकर्ताले जहिले पनि बजारको समग्र सूचकलाई मात्रै हेरिरहेका हुन्छन् । जसमा निश्चित सेयरले बजारलाई तलमाथि पारिरहेको हुनाले लगानीकर्ताले एकदमै कमजोर कम्पनी छनोट गरिरहेको दाहालको भनाइ छ । संस्थागत लगानीकर्ता म्युचुअल फण्ड, बिमा कम्पनी, इन्भेस्टमेन्ट कम्पनीहरूलाई राम्रा कम्पनी छनोट गर्न ‘नेप्से ३०’ बलियो आधार बन्ने सेयरबजारका जानकारहरू बताउँछन् ।
मुख्य उद्देश्य
नेप्से ३० इन्डेक्स सञ्चालन गर्नुको मुख्यगरी तीनवटा उद्देश्य रहेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओे) कृष्णबहादुर कार्की बताउँछन् । कार्कीका अनुसार यो इन्डेक्स ल्याउनुको पहिलो उद्देश्य बजारमा अर्थतन्त्रलाई प्रतिबिम्बित गराउनु हो ।
“दोस्रो, नेप्से–३० लाई आफैमा एक सेक्युरिटीका रूपमा कारोबार गर्न सकिनेछ भने तेस्रो यसले निष्क्रिय म्युचुअल फन्डलाई सहयोग गर्ने ठानिएको छ,” कार्की भन्छन् ।
नेप्सेले नेप्से–३० कार्यान्वयनमा लैजाने तयारी गरिरहँदा यसलाई कार्यान्वयनका लागि वातावरण बनाउन सकिन्छ वा सकिँदैन भन्ने विषय भने स्पष्ट नभएको जानकारहरू बताउँछन् । किन कि, नेप्से–३० इन्डेक्स कार्यान्वयनमा ल्याएसँगै यसलाई नै ‘प्रडक्ट’का रूपमा कारोबार गर्न लगानीकर्ता तयार हुनुपर्ने हुन्छ । अहिलेदेखि यसको अभ्यास थालेर परिमार्जन गर्दै, कमी–कमजोरी सुधार गर्दै गएपछि भविष्यमा आधार भएसँगै यो ‘इन्डेक्स’लाई ‘प्रडक्ट’कै रूपमा प्रयोग गर्न सकिने नेप्सेका प्रवक्ता पराजुली बताउँछन् । उनका अनुसार जसरी सेयर, ऋणपत्र, म्यूचुअल फण्ड किनिन्छ, त्यसरी नै ‘नेप्से–३’ इन्डेक्स नै किनबेच गर्न सकिन्छ ।
कारोबारको आधारमा नाफा घाटा निर्धारण
सामान्यता धितोपत्र दोस्रो बजारमा लगानीकर्ताले कुनै एक कम्पनीको सेयर किनेपछि ऊ त्यो कम्पनीको मालिक हुन्छ । उसलाई कम्पनीको नाफा नोक्सानबाट लाभांश आउँछ तर नेप्से ३० इन्डेक्समा समावेश भएका कम्पनीले लाभांश दिँदैनन् । यो इन्डेक्सका कम्पनीको कारोबारकै आधारमा नाफा घाटा निर्धारण हुन्छ ।
जसकारण यस्तो प्रकृतिको इन्डेक्समा लगानी गर्नका लागि बजार तयार छ वा छैन भन्ने एउटा चुनौती रहेको सेयर विज्ञहरू बताउँछन् । बजारले लगानी गर्ने उपकरण (इन्भेस्टमेन्ट टुल)का रूपमा मात्रै यो इन्डेक्सलाई प्रयोग गर्न सक्नेछ । त्यस्तै, कम्पनीको प्राविधिक विश्लेषणले यो इन्डेक्समा काम गर्दैन । यसमा अनुमानका आधारमा कारोबार नेप्सेको भनाइ छ ।
के हो नेप्से–३० ?
नेप्से –३० ‘फ्रि फ्लोट’ विधिबाट नेप्सेको समग्र बजारलाई प्रतिनिधित्व गर्ने प्रमुख सूचक हो । यो सूचकांकमा नेप्सेले दोस्रो बजारमा कारोबारमा रहेका कम्पनीमध्येबाट निश्चित मापदण्ड बनाएर छनोट गरेका प्रमुख ३० कम्पनीलाई स्थान दिइने प्रवक्ता पराजुली बताउँछन् । उनका अनुसार सबै साधारण सेयर मध्येबाट कारोबार गर्न तथा राफसाफ गर्न योग्य सेयरलाई सो कम्पनीको सेयर कारोबार मूल्यले गुणन गरी आउने बजार पुँजीकरणमा आधारित रहेर यो सूचकांक गणना हुने गर्छ ।
कस्ता कम्पनी आउँछन् ?
प्रस्तावित नेप्से–३० इन्डेक्समा समावेश हुनको लागि सूचीकृत संगठित सस्था (कम्पनी)को प्रतिसेयर चुक्ता मूल्यभन्दा प्रतिसेयर किताबी मूल्य बढी हुनुका साथै विगत ५ आर्थिक वर्षमध्ये पछिल्लो आर्थिक वर्षसहित कम्तिमा ३ वर्ष खुद नाफामा रहेको हुनुपर्ने नेप्सेले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षमा प्रतिसेयरआम्दानी चुक्ता मूल्यको न्युनतम १० प्रतिशत रही सोही वर्षको वार्षिक मुन्द्रास्फीति दरभन्दा बढी रहेको हुनपर्ने छ । कम्पनीको कम्तिमा २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी भएको वा कुल फ्रि–फ्लोट बजार पुँजीकरणमा सम्बन्धित कम्पनीको फ्रि–फ्लोट बजार पुँजीकरण एक प्रतिशतभन्दा बढी रहेको साथै सेयरधनीको संख्या कम्तिमा २० हजार हुनुपर्ने प्रावधान रहेको छ ।
पछिल्लो ६ महिनाको अवधिमा दैनिक औषत रु.२५ लाख रुपैयाँ वा सोभन्दा बढी रकमको कारोबार भई दैनिक औषत ५००० कित्ता वा सोभन्दा बढी कित्ताको कारोबार भएको र दैनिक औषत ४० वा सोभन्दा बढी पटक कारोबार भएको हुनुपर्ने छ । नेप्सेका अनुसार पछिल्लो ६ महिनाको अवधिमा उपलब्ध कारोबार दिनहरूमध्ये न्यूनतम ७५ प्रतिशत दिनहरूमा कारोबार भएको हनुपर्ने छ ।
यसरी गरिन्छ गणना ?
छनोट विधि अनुसार छनोट भएर आएका कम्पनीहरूको प्रारम्भिक सूची तयार गरी प्रारम्भिक सूचीमा समावेश भएका सबै सूचीकृत संगठित संस्थाको फ्रि–फ्लोट बजार पुँजीकरण, पछिल्लो वर्षको प्रतिसेयर आम्दानी, कारोबार रकम, कारोबार संख्या तथा कारोबार कित्ताका आधारमा प्रत्येकलाई भार प्रदान गरी कुल भार गणना गर्ने हुने प्रस्ताव नेप्सेले गरेको छ ।
यस्तै सूचीकृत संगठित संस्थाहरूलाई बैंक तथा वित्तीय संस्था, लघुवित्त, बिमा, जलविद्युत, उत्पादनमूलक, व्यापार तथा सेवा गरी ६ वटा क्षेत्रगत समूहमा वर्गीकरण गरी प्रत्येक समूहभित्र छुट्टाछुट्टै कम्पनीको आ–आफ्नै समूहमा कुल भार गणना गर्ने र उच्चतम भार प्राप्त गर्ने संगठित संस्थाहरूबाट ८ वटा कम्पनी छनोट गर्ने प्रस्ताव नेप्सेले गरेको छ । कुनै समूहमा ८ संगठित संस्थाभन्दा कम छनोट भएमा उपलब्ध सबै संगठित संस्था छनोट गर्ने जनाएको छ ।
यसरी छनोट भएका संगठित संस्थाहरूको संख्या ३० भन्दा बढी भएमा गणना गरिएको कुल भारमा कम भार भएका कम्पनीहरूलाई हटाई ३० कम्पनी कायम गर्ने र यसरी कम्पनी हटाउँदा प्रत्येक समूहबाट कम्तीमा एक संगठित संस्था कायम गर्ने प्रस्तावित विधिमा उल्लेख छ ।
यसरी छनोट भएका संगठित संस्थाहरूको संख्या ३० भन्दा कम भएमा प्रत्येक समूहबाट ८ भन्दा बढी कम्पनी छनोट नहुने गरी सूचीकृत सबै कम्पनीको कुल भार गणना गर्ने र उच्चतम भार प्राप्त गर्ने कम्पनी थप गरी कम्पनीको संख्या ३० पु¥याउने प्रस्ताव नेप्सेले गरेको छ ।
(टक्सार म्यागजिन, २०८० जेठ अंक, पृष्ठ ९ देखि १२ सम्म)
प्रतिक्रिया दिनुहोस्