काठमाडौँ । अटोमोबाइल व्यवसायीहरूको संगठन नाडा अटोमोबाइल्स एशोसिएशनका अध्यक्ष डा. ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग भेटघाट र छलफल गरेका छन् ।
एशोसिएशनले उक्त कार्यक्रममा बैंकले आगामी आर्थिक बर्ष २०८०/०८१ को लागि नयाँ मौद्रीक नीति जारी गर्न लागेको सन्दर्भमा छलफल गर्दै लिखित सुझावहरू समेत पेश गरेको छ ।
उक्त लिखित सुझावहरूमा हाल विद्यमान मौद्रिक नीतिमा जोखिम भार १५० प्रतिशतसम्म रहेकोमा त्यस व्यवस्थालाई पुरानै अर्थात ७५ प्रतिशत नै कायम गर्न अनुरोध गरिएको छ ।
अध्यक्ष थापाका अनुसार नेपालको अटोमोबाइल क्षेत्रलाई गतिशिल बनाउन बैंकहरूबाट निजी सवारी साधनको ‘हायर पर्चेज लोन’ प्रवाह गर्ने प्रकियामा ‘लोन टु भ्याल्यु’ रेसियोको हालको ५० प्रतिशतको सीमालाई वृद्धि गरेर ८० प्रतिशत पु¥याउने व्यवस्थाका लागि आग्रह गरिएको छ ।
सुझाव पत्रमा चालू पुँजी कर्जा निर्देशिकामा रहेको व्यवस्था अनुसार चैत्र मसान्तसम्म सावा र ब्याज बुझाएका व्यवसायीहरूलाई ब्याज र किस्ता बुझाउने समय थपका लागि गत बजेटमा कुरा आएको हुंदा उक्त समयभित्र अर्थात चैत्र भन्दा अगाडी नै सो सावा र व्याज तिर्न नसकेका व्यवसायीहरूलाई समेत सो समय थप गरी दिने व्यवस्थाका लागि अनुरोध गरेकाे छ ।
दुई करोड भन्दा माथीको व्यवसायमा कूल कारोबारको २५ प्रतिशत मात्रै बैंकबाट लगानी गर्ने भन्ने व्यवस्थालाई लचिलो बनाई व्यवसायको प्रकृति हेरेर त्यसमा पूनरावलोकनका लागि समेत अनुरोध गरेकाे थापाले जनाएका छन् ।
नाडाले व्यवसायीहरूले ‘डीओ’ पाएर नामसारी र सवारी साधनहरूको डेलिभरी गरेपछि बैंकहरूले भुक्तानी गर्ने समयावधि तोकिनु पर्ने र यसका लागि हप्ता दिनभित्र भुक्तानी हुने व्यवस्थाका लागि आग्रह गर्दे उल्लेखित सुझावहरूको समुचित सम्बोधन भएमा नेपालको अटोमोबाइल व्यवसाय चलायमान हुने र त्यसको प्रत्यक्ष सकारात्मक प्रभाव देशको राजस्वमा पनि पर्ने धारणा राखेको बताएको छ ।
सोही छलफलको क्रममा गर्भनर अधिकारीले नाडाको सुझावहरूप्रति नेपाल राष्ट्र बैंक सकारात्मक रहेको र आउँदो मौद्रिक नीतिबाट नेपालको अटोमोबाइल क्षेत्रले सहजता महसुस गर्ने विश्वास व्यक्त गरेका छन् ।
सो छलफलमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्य तथा राजस्व समितिका सभापति आकाश गोल्छा तथा केन्द्रीय कार्य समिति सदस्य तथा सुदूर पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष पुष्कर ओझा समेतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्