घोराही सिमेन्टले भन्यो : व्यवसायिक प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले सूचना प्रवाह गरियो


काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीले प्रिमियम मूल्यमा आईपीओ निष्कासनका सम्बन्धमा उठेका विषयवस्तुबारे आफ्नो ध्यानाकर्षण भएको बताएको छ । कम्पनीले बिहीबार एक विज्ञप्ती जारी गर्दै व्यावसायिक प्रतिष्ठा र ख्यातिमाथि नकारात्मक असर पुर्‍याउने उद्देश्यले सूचना प्रवाह भएको भन्दै ध्यानार्कषण गराएको छ ।

‘शेयरको सार्वजनिक निष्कासन हुनुभन्दा पहिले कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्ड लगायत बिभिन्न नियामक निकायहरूको पूर्ण सहभागिता हुन्छ । निष्कासनको अनुमति प्राप्त गर्ने सन्दर्भमा उद्योगबाट पेश भएका विवरण पत्र, वित्तीय विवरण, तथा क्रेडिट रेटिङ प्रतिवेदन लगायतका सम्पूर्ण कागजात तथा विवरणको जिम्मेवारी लिन उद्योग सदैव तत्पर छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै क्रेडिट रेटिङ प्रक्रियामा उद्योग प्रवद्र्धकहरूको तर्फबाट प्रभावित पारेको हुन सक्ने भन्ने कुरा साँचो नभएको कम्पनीले बताएको छ । नियामक धितोपत्र बोर्डले क्रेडिट रेटिङ सम्बन्धमा सम्बन्धित क्रेडिट रेटिङ कम्पनीबाट बेहोरा जानकारी लिने तथा झुठा आवेदनको सम्बन्धमा कानून बमोजिमको प्रक्रिया अवलम्बन गरी तत्काल नै रोकेको शेयरको सार्वजनिक निष्कासनको प्रक्रिया सुचारु गर्नेमा विश्वस्त रहेको कम्पनीले बताएको छ ।

यस उद्योगमा लगानी गर्ने शेयरहोल्डर, आवेदनकर्ता तथा सम्बन्धित सबैको लगानी सुरक्षाको प्रत्याभूतिका लागि उद्योग पूर्ण रूपमा प्रतिबद्ध रहेको बताइएको छ । स्वदेशी लगानी तथा औद्योगिक क्षेत्रमा सर्वसाधारणको हिस्सेदारी अभिवृद्धि गर्ने कार्यमा सहयोग पुर्‍याउन कम्पनीले नियामक निकाय, पत्रकार, लगानीकर्ता लगायतलाई सहयोगका लागि आग्रह गरेको छ ।