दुई ओटा कम्पनीलाई आइपीओ निष्काशन गर्न धितोपत्र बोर्डले दियो अनुमति


काठमाडौं । नेपाल धितोपत्र बोर्ड ले २ वटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ। बोर्डले मनकामना इन्जिनियरिङ हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो।

बोडले मनकामना इन्जिनियरिङलाई २८ करोड रुपैयाँ र भगवती हाइड्रोपावरलाई १६ करोड ५८ लाख ९८ हजार ७९२ रुपैयाँबराबरको आईपीओ निष्काशन गर्ने अनुमति दिएको हो ।

बोर्डले भगवती हाइड्रोपावरलाई प्रिमियममा आईपीओ निष्कासनको अनुमति दिएको छ। योसँगै अब यो कम्पनी अंकित मूल्य १०० रुपैयाँ १६ रुपैयाँ प्रिमियर थपेर प्रतिकित्ता ११६ रुपैयाँमा कुल १४ लाख ३० हजार १६२ रुपैयाँमा आईपीओ बिक्री खुला गर्नेछ।

भगवती हाइड्रोपावरले स्थानीय र सर्वसाधारणका लागि गरी २ चरणमा आईपीओ बिक्री गर्नेछ। कम्पनीले उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ ।

यसैगरी मनकामना इन्जिनियरिङले १०० रुपैयाँ अंकित दरका कुल २८ लाख कित्ता स्थानीय र सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ। कम्पनीले उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।