गृहमन्त्रीले बल तानेर नेपाल रिपब्लिक मिडियाको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा


काठमाडौं । नेपाल पहिलो पब्लिक मिडिया नेपाल रिपब्लिक मिडिया लिमिटेडले निष्काशन गरेको आईपीओको बाँडफाँड सम्पन्न भएको छ ।

सोमबार आज काठमाडौंको ठमेलस्थित होटल अलफ्टमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बल तानेर आइपीओको बाँडफाँड गरेका थिए ।

सर्वसाधारणलाई शेयर निष्काशन गर्ने पहिलो मिडिया कम्पनी बनेको रिपब्लिकले ५ तारे होटेलमा कार्यक्रम गरेर उप्रधान तथा गृहमन्त्रीलाई प्रमुख अतिथि बनाएर आईपिओ बाँडफाँड गरेको हो ।

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसअनुसार भाग्यमानी ३ लाख ६१ हजार ९८९ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। तिनै भाग्यमानी आवेदकमध्ये १ जनाले थप १ कित्ता सेयर पाएका छन्।
यो आईपीओमा १२ लाख ९९ हजार ७२७ आवेदकबाट कुल १ करोड ४१ लाख ९ हजार ५६० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ३.७ गुणाले बढी हो।

कुल आवेदनमध्ये १२ लाख ३४ हजार ४८९ आवेदकबाट माग भएको १ करोड ३३ लाख ३४ हजार ८०० कित्ता प्रमाणीकरण भएको थियो।

प्रमाणीकरण भएकामध्ये पनि १२ लाख २७ हजार ५६९ आवेदकबाट परेको १ करोड ३२ लाख ४१ हजार ८२० कित्ता सदर भएको छ भने ६ हजार ९२० आवेदकबाट परेको ९२ हजार ९८० कित्ता बदर भएको छ।

जसअनुसार भाग्यमानी ३ लाख ६१ हजार ९८९ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। तिनै भाग्यमानी आवेदकमध्ये १ जनाले थप १ कित्ता सेयर पाएका छन्।

यो कम्पनीले गत जेठ २६ गते जेठ ३० गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशतले हुन आउने प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४३ लाख ५३ हजार कित्ता आईपीओ बिक्री गर्ने अनुमति पाएको थियो। त्यसमध्ये कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३०० कित्ता सेयर बिक्री गरिसकेको थियो।

यसैगरी ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो।

बाँकी ३५ लाख २५ हजार ९३० कित्ता र कर्मचारीलाई खुलाइएकोमा बाँकी रहेको ९३ हजार ९६१ गरी कुल ३६ लाख १९ हजार ८९१ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

यसरी हेर्नुहोस् नतिजा

आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने बिक्री प्रबन्धकले जनाएको छ । प्रकाशन भएपछि निम्नानुसार नतिजा हेर्न सकिन्छ । जस अनुसार बिक्रि प्रबन्धक मेगा क्यापिटलको वेबसाइट https://megacapitalmarkets.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट  हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।