निजी अस्पताल र मेडिकल कलेजहरूलाई स्वास्थ्य बीमा कार्यक्रम नदिने स्वास्थ्य मन्त्री बस्नेतको भनाई


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले निजी अस्पताल र मेडिकल कलेजहरूलाई स्वास्थ्य बीमा नदिने पक्षमा देखिएका छन् ।

दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा बोल्दै मन्त्री बस्नेतले निजी अस्पताल र मेडिकल कलेजहरूलाई स्वास्थ्य बीमा नदिने कुरामा सरकारले आफ्नो धारणा बनइसकेको जानकारी दिएका हुन् ।

उनले स्वास्थ्य बीमा सही ढंगबाट सञ्चालन हुन नसकेको टिप्पणी गरे ।

बिरामी नभएकाहरूलाई डकुमेण्ट बनाएर खर्च गराउने कुराको नियन्त्रण हुन जरुरी रहेको भन्दै बीमा बोर्डलाई पनि चुस्त बनाउन नसकेको स्वीकार गरे ।

उनले भने,“स्वास्थ्य बीमा कार्यक्रम अत्यन्तै महत्वपूर्ण, ऐतिहासिक र नभइ नहुने कार्यक्रम हो । तर सही ढंगबाट कार्यक्रम भइसकेको छैन । रोगको पत्ता लागेपछि यसको उपचारको कुरा होला । धेरैकुरा हामीले सुधारेर जानुपर्ने स्थिति छ ।”

निजी अस्पताल र मेडिकल कलेजहरूलाई अब स्वास्थ्य बीमा दिने की नदिने ? भन्दै लगभग नदिने कुरामा राज्यले एउटा धारणा बनाइसकेको स्वास्थ्यमन्त्री बस्नेतको भनाई थियो ।

उनले भने,“स्वास्थ्य बीमा भएपछि त्यहाँ बिरामीहरु बढ्ने रहेछ, त्यो फाइदा अस्पताललाई छ । तर अस्पतालले दिने सुविधामा के छ ? जति पाउने सुविधा हो त्यति सुविधा बनाइदिने, नभएको बिरामीलाई बिरामी बनाएर डकुमेण्ट मिलाएर त्यहाँ खर्च गराइदिने जस्तो पाइयो । यसलाई नियन्त्रणमा लिनुपर्छ ।”

मन्त्री बस्नेतले १० प्रतिशत उपचारसहितको बेड निःशुल्क गर्ने काम अहिले लागू भएको बताए । उनले १० प्रतिशत विपन्न, गरिवहरुलाई निःशुल्क उपचार गर्नेकुरा लागू गर्न स्थानीय सरकारलाई निर्देशन दिइसकेको उल्लेख गरे ।