अर्गानिक कृषि उद्यमले खुलेको जीवन


कोभिडको लकडाउन अवधिमा केही समय रोकिए पनि चार वर्षयता फार्ममा उत्पादन हुने चिया, जडीबुटी निरन्तर चीन निर्यात भइरहेको छ । फार्ममा उत्पादन हुने कृषिजन्य उत्पादनको माग बढ्दै गएको छ ।”

जीवनले साढेचार दशक पार गर्दासम्म प्रेमबहादुर लामा काठमाडौँमा शिक्षण पेसामा रमाइरहेका थिए । ठुलो महत्वकांक्षा नबोकेका उनी शिक्षण पेसाबाट सेवानिवृत्त भएर केही फरक काममा संलग्न हुने योजनामा थिए । जीवनको गोरेटोमा अनायसै आएका दुःखका घुम्तीहरूले भने उनको जीवन असामान्य बन्दै गयो । ४५ वर्षको उमेरमा उनलाई रक्तचाप, मधुमेह, मुटुको रोग लगायत अन्य विभिन्न स्वास्थ्य समस्याले घेर्दै गए । 

उमेरले पाँच दशक टेक्दा उनको स्वास्थ्य समस्या अझै खराब दिशामा मोडिदै गयो । औषधिले पनि पहिलेजस्तो काम नगरेपछि उनको अन्तरमनले काठमाडौँमा बसेपछि विषादियुक्त फलफूल, तरकारी र अन्नपातले स्वास्थ्यमा यो हविगतमा पुर्‍याएको निष्कर्ष निकाल्यो । त्यही सिलसिलामा उनले बीबीसीमा प्रांगारिक (अर्गानिक) खानाले मानिसका रोगहरूसँग लड्दै शरीर पहिलाको अवस्थामा जस्तै आउन सक्ने आशयको समाचार पढेका थिए । खाना नै औषधि हो भन्ने लेखको एउटा अंशले उनी दैनिक जीवनमा अर्गानिक खाना मात्र अपनाउने निर्णयमा पुगे । त्यसपछि सुरु भयो उनको अर्गानिक कृषि यात्रा । अनि निरन्तर प्रांगारिक उत्पादनदेखि उपभोगसम्म आफूले मात्र गरेनन्, दुनियालाई गर्न लगाउन थाले । 

उनी न कृषिका विद्यार्थी थिए न उनमा कृषि उद्यमी बन्ने योजना नै थियो । डाक्टरले अल्सर समेत बिग्रिएर घाउ भएर क्यान्सर हुने लक्षण देखिएको छ भनेपछि झस्किएर अर्गानिक कृषिको बाटोमा आएका थिए । 

गाउँमा धेरै जग्गाजमिन बाँझोे थियो । उनका दाजुहरूले गाउँमा खेतिपाति गर्न भने छाडेका थिएनन् । गाउँ फर्किंदा उनी राम्रोसँग सिढीँ चड्न सक्ने अवस्थामा थिएनन् । गाउँ पसेपछि उनले बजारका प्रशोधित खाना चटक्कै छाडे । सुरुका दिनमा उनले मौसमी तरकारी र सिजनअनुसार अन्न खान सुरु गरे । “मकैको सिजन छ भने मैले मकैको खोले मात्र खाने गर्थें,” उनी भन्छन्, “छ महिनाको दैनिकीपछि शरीरमा केही परिर्वतन आएको महसुस गरेँ ।” गाउँ फर्किएको पाँच वर्षपछि उनको स्वास्थ्यमा उल्लेख्य सुधार आयो । उनी खेतबारीमा डटेर काम गर्न सक्ने अवस्थामा फर्किए ।

प्राङ्गारिक कृषिमै व्यावसायिक  

गाउँ फकिएको छ वर्षपछि सन् २००२ मा उनले व्यावसायिक कृषि सुरु गर्ने निर्णय गरे । यसअघि नै भएको फार्मलाई निरन्तरता दिएर उनी बजारमा प्रवेश गरे । सुरुका दिनमा समिट होटलमा उनले सञ्चालन गरेको फर्मको बजार थियो । पछि कान्तिपथको एक कम्प्लेक्स हुँदै लजिम्पाटमा सारे । यही क्रममा उनले सञ्चालन गरेको फार्मले उत्पादन गरेका अर्गानिक उत्पादन नेपालमा रहेका विभिन्न देशका दूतावासका भान्सामा पुग्न थाले । “दूतावासबाट मेलमा अर्डर गर्थे, हामीले त्यसैअनुसार उत्पादन उनीहरूकहाँ पुर्‍याइदिन्थ्यौँ,” उनले भने, “माग बढेसँगै हामीले उत्पादन बढाउँदै गयौँ । फार्ममा आउने ९० प्रतिशत ग्राहक विदेशी हुने गर्थे ।”

प्रेम अहिले उमेरले ७१ वर्ष टेके । ५० वर्षको उमेरमा नै झण्डै आधादर्जन रोगको भारी बोकेका उनले जीवनले यसरी पुनरागमन गर्ला भन्ने अनुमान गरेका थिएनन् । बढ्दो उमेरसँगै उनको सक्रियता अझ बढको छ । पछिल्ला वर्ष उनी दिनको १८ घण्टासम्म कृषि कर्ममा खटिने गरेको बताउँछन् । “भौतिक रूपमा खेतबारीमा गएर खनजोतदेखि बाली लगाउन, हुर्काउन सिकाउने मेरो दैनिकी हो,” उनी भन्छन्, “अर्गानिक कृषिको महत्व बुझ्न पाँच दशक लाग्यो, खुसी माटोमा नै रहेछ ।”

अर्गानिकको माग बढाउँदै आशापुरी

उनको नेतृत्वमा काभ्रेमा आशापुरी अग्र्यानिक प्रालिले नेपालमा मात्र नभई विदेशमा पनि निर्यातबाट राम्रो आम्दानी गर्दै आएको छ । बीस वर्षदेखि उपभोक्ताको विश्वास जितेको सफल फार्म हो आशापुरी । दुई सय रोपनीमा फैलिएको फार्ममा उत्पादन भएका अर्गानिक तरकारीको माग दुतावास हुँदै विदेशमा पनि उत्तिकै मन पराइएको बताउँछन् लामा । तराईमा हुने फलफूल तरकारीका लागि उनले रजहर र कावासोतीमा १२ वर्षदेखि फार्म चलाइरहेका छन् । 

कोभिडको लकडाउन अवधिमा केही समय रोकिए पनि चार वर्षयता उनको फार्ममा उत्पादन हुने चिया, जडीबुटी निरन्तर चीन निर्यात भइरहेको छ । फार्ममा उत्पादन हुने कृषिजन्य उत्पादनको माग बढ्दै गएको लामा बताउँछन् । सफल फार्मको रूपमा आशापुरीले सूर्य नेपालले आयोजना गरेको आशा अवार्ड र बेलायतबाट एक लाख पाउण्डसहित अर्को अवार्ड पाएको थियो । सानाठुला अवार्ड र सम्मान दर्जनौँ पाएका लामा सार्वजनिक कार्यक्रममा भने कम हिड्छन् । फार्ममै व्यस्त हुँदा रमाउछन् ।

पछिल्लो समय जर्मनी, चीन, अष्ट्रेलिया, हङकङमा फार्मको उत्पादन निर्यात गरिसकेका छन् । “कोभिड आउनुभन्दा पहिलासम्म चिया, तरकारी, जडीबुटी लगायतका उत्पादन पठाएका थियौँ”, उनी भन्छन्, “बाहिरबाट गुणस्तर उत्कृष्ट भएको प्रतिक्रियाले उत्पादिन अन्नपात बिक्री गर्न विज्ञापन गर्न परेको छैन ।” 

उनले अहिले विश्वबजारमा माग भएको रोजेल फूलको खेती सुरु गरेका छन् । झापामा २०० टन फूल उत्पादन गर्ने लक्ष्यका साथ २० बिगामा यसको खेती गरिरहेका छन् । “अष्ट्रेलियाबाट बिउ मगाएर ठुलो मात्रामा यसको उत्पादन गरिरहेकोे छु,” उनले भने, “आयात गर्नको लागि थाइल्यान्डाबाट केही मान्छे आउँदै छन् ।” रोजेल फूल जाम, जेरी, वाइन र चिया बनाउन प्रयोग गरिने भएकोले यसको धेरै माग संसारभरि बढेको उनी बताउँछन् । 

कोभिडअघि ६५ जनालाई प्रत्यक्ष रोजगारी दिएका उनले कोभिडपछि भने ५५ जना सहयोगी राखेर फार्महरू चलाएका छन् । “कोभिडपछि आर्थिक अवस्था डामाडोल हुनाले त्यसको असर मैले पनि भोगिरहेको छु,” उनले भने, “कोभिडअघिका साथीहरू अहिले सक्रिय नभएका कारण बैंकसँग ऋण लिएर लगानी गरेको छु ।”

अर्गानिक कृषिलाई बृहत् बनाउने योजना

कोभिडअघि दैनिक साढेएक लाख रुपैयाँको दैनिक निर्यात हुने उनको फर्म कोरोना महामारीले नराम्रोसँग थला प¥यो । उनले अर्गानिक कृषिलाई बृहत् रूपमा अघि बढाएर अर्गानिक कृषिको व्यावसायलाई पुनरागमनका लागि जनता एग्रोको अवधारणा अघि सारेर नेतृत्व गरेका छन् । जनता एग्रोले अर्गानिक उत्पादन प्रोत्साहन गर्दै उत्पादन विधि, कृषि प्रविधि लगायतका ज्ञान कृषकलाई बाँड्ने लामाले बताए । 

नगरपालिका, संघीय सरकार, एनजिओ र आइएनजीओ, दूतावासका विभिन्न योजना र निजी क्षेत्रलाई त्यहाँ लगेर किसानलाई सबैभन्दा पहिला प्रविधिसँग जोड्ने जनता एग्रोको योजना छ । अध्ययन गरेर किसानको खेतबारीमा के उत्पादन हुन्छ, त्यही बाली लगाउन पे्ररित गर्ने लामा बताउँछन् । 

“किसानलाई आवश्यक बिउबिजन र बिरुवाहरू सर्वसुलभ उपल्ब्ध गराउन पहल गर्ने ताकि किसानको लगानी थोरै होस् । कृषि कर्म गर्ने किसानको लगानी कम मेहनत बढी होस् भन्ने हाम्रो परिकल्पना हो”, लामाले भने, “बजार खोज्ने र बारीमा उब्जाउने दुबै मेहनत किसानमाथि मात्र आएको अनुभवका गरेरै प्रणाली बनाउने खोजेका हौँ ।” 

आशापुरीको फार्मले उत्पादन गर्ने अर्गानिक कृषिजन्य उत्पादन अपुग हुने देखेपछि बढाउन जनता एग्रोको अवधारणा अघि सारेका छन् । लामाले ‘सिजन’ र ‘अफसिजन’मा एकपटक मात्र मूल्य घटबढ हुने गरी मूल्य तोक्ने गरेका छन् । 

“स्वास्थ्यको हिसाबले पनि अर्गानिक उत्पादन र विषादिजन्य उत्पादन आकाश जमिनको फरक पर्छ,” उनी भन्छन् “अगार्निक खान्की भनेको त प्राकृतिक औषधि रहेछ नि यसको उदाहरण म स्वयम हुँ ।”

‘किसानलाई टिकाउने योजना छैन’

किसानलाई बारीमा टिकाउने योजना नभए कारण नै किसान पलायन भुसको आँगोसरी फैलिएको उनको बुझाइ छ । कृषि क्षेत्रमा काम गर्ने उद्देश्यले दर्जनौँको संख्यामा खुलेका एनजीओ/आइएनजीओले किसानलाई प्रविधि र सिप सिकाउनुको साटो वितरणमुखी आयोजनामा रमाउने गरेको लामा बताउँछन् । भारतीय बजारबाट आएको तरकारीका कारण नेपाली किसानले उत्पादन गरेका तरकारीले बजार नपाउने अवस्था छ । किसानले चितवनको सडकमा तरकारी फाल्ने अवस्था आउनुमा हाम्रो कृषि सुधारको योजना असफल भएको सन्देश दिएको लामाको ठहर छ । 

“योजनाले कुन सिजनमा कस्ता कृषिजन्य उत्पादन गरेर भारतीय तरकारी विस्थापित गर्ने भनेर समेट्न सकेन,” लामा भन्छन्, “कृषिका प्रविधि र किसानको दूरी फराकिलो भएका कारण किसान प्रविधिसँग जोडिन विलम्ब भइरहेको छ ।”

अर्गानिक कृषिमा जाने उपयुक्त समय 

अर्गानिक कृषिका लागि विषादि र रासायनिक मल नहालेको माटो नै आवश्यक पर्ने लामा बताउँछन् । “वर्षाैँसम्म रासायनिक मल हालेको माटोमा एक वर्ष प्राङ्गरिक मल मात्र हालेर गरिएका उत्पादन अर्गानिक हुन सक्दैनन् । यसको असर वर्षौसम्म रहने भएकाले त्यो माटो काम लाग्दैन,” लामाले भने ।

विषादि नहालेको माटो एक वर्षमा नै खेती गर्न लायक हुने उनको ठहर छ । अहिले नेपाल अर्गानिक कृषिमा जान उपयुक्त समय भएको लामाको बुझाइ छ । “माटो बिग्रिसकेपछि अर्गानिकमा जाने कुरा वास्तविकभन्दा बढी काल्पनिक हुन्छ,” उनी भन्छन्, “यो समयमा हामी अर्गानिकमा जान सकेनौँ भने विषादिको आहालमा पौडिनुपर्नै बाध्यकारी अवस्था आउँछ ।” 

संघीय सरकारले केही महिनाअघि मात्र रासायनिक मलका लागि ३० अर्ब रुपैँया सुनिश्चितता गरेको छ । सरकार योजना र बजेटमा अर्गानिक कृषिले स्थान नै नपाउने भन्दै उनी रासायनिक मलले मात्रै उब्जनी बढ्छ भन्ने गलत भाष्यले कृषि थलिँदै गएको बताउँछन् ।

“सरकारले कृषि सुधार गर्नका लागि वर्षाैदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चलाएको छ, त्यत्रो अर्बौको परियोजनाको परिणाम शून्यजस्तै छ । नेतृत्व तहले अर्गानिक कृषिलाई बुझ्न सकेन, हरेक वर्ष रासायनिक मलको अभाव भनेर हल्ला हुन्छ,” उनी भन्छन्, “सुरुका वर्ष प्राङ्गरिक मलले उत्पादन राम्रो नहोला । केही वर्षभित्र माटोको उर्वर शक्ति बढेपछि उत्पादन स्वत बढ्छ ।”

भिडियाे सामाग्रीः

(टक्सार म्यागजिन, २०८० जेठ अंक, पृष्ठ ५९ देखि ६१ सम्म)