कर्मचारीलाई सुरक्षा नदिए पूर्णरुपमा सेवा बन्द गर्ने सिबिफिनको चेतावनी


काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले सरकारले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सुरक्षा नदिए पूर्ण रुपमा सेवा बन्द गर्ने चेतावनी दिएको छ ।

सिबिफिनले आइतबार (आज) एक विज्ञप्ती जारी गर्दै कर्मचारीहरुको विरुद्धमा विभिन्न समुहबाट भइरहेको गैरकानुनी गतिविधि नरोकिए सेवा नै बन्द गर्ने चेतावनी दिएको हो ।

‘सिविफिन’ को असार १४ गते बसेको बैठकले बैंक वित्तीय संस्था, सोको सम्पत्ती साख एवम् सोमा कार्यरत कर्मचारीहरुको विरुद्धमा विभिन्न व्यक्ति संस्था तथा समुहहरुबाट निरन्तर रुपमा भइरहेको भौतिक आक्रमण एवम् गैरकानुनी गतिविधिहरुको नियन्त्रण गर्न सरकार समक्ष अनुरोध गरेको छ।

कुनै पनि व्यक्ति समुह वा संघ संस्थाको आवरणमा बैंक वित्तीय संस्थाको साख गरिमा विश्वसनियता वा सम्तप्तीमा हानी नोक्सानी पुर्याउने बैंकिङ व्यवसायमा अवरोध सिर्जना गर्ने बैंक तथा वित्तीय संस्थाका सम्बन्धमा भ्रम सृजना गर्ने काम भएको सिविफिनले जननाएको छ ।

यस्ता समुहले कर्जाको साँवा व्याज नतिर्न दुरुत्साहन गर्ने र बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीहरुलाई भौतिक आक्रमण गर्ने मानमर्दन गर्ने काम भइरहेको छ ।

आफ्नो कर्तव्य पालना गर्न असुरक्षित एवम् असमर्थ बनाउने लगायत प्रचलित कानुनबाट बर्जिन क्रियाकलापहरु देशका विभिन्न स्थानहरुमा निरन्तर रुपमा भइरहेकोले यस्तो कार्य गर्ने जो सुकै व्यक्ति तथा संघसंस्थाहरुका विरुद्ध अनिवार्य रुपमा मुद्दा चलाउने तथा प्रचलित कानुन बमोजिम कडा कारबाहीका लागि सम्बन्धित निकायलाई सिविफिनले आह्वान समेत गरेको छ ।

सिबिफिनले बैंक वित्तीय संस्था र सोमा कार्यरत सम्पुर्ण कर्मचारीहरुको प्रभावकारी सुरक्षा प्रवन्ध मिलाउन प्रधानमन्त्री, गृहमन्त्री, गृह सचिव, प्रहरी महानिरिक्षक तथा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु लगायत सम्बन्धित सबै समक्ष माग गरेका छन् ।