निजी बैंकहरूलाई सरकारले तत्काल आफ्नो मातहत ल्याउनु पर्छ : सांसद प्रेम सुवाल


काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निजी बैंंकहरूलाई तत्काल आफ्नो मातहतमा ल्याउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको दोसो बैठकमा ‘मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा आज सांसद सुवालले निजी बैंकहरूलाई राज्यले आफ्नो मातहत ल्याउनुपर्ने आवश्यक्ता औंल्याएका हुन् ।

सांसद सुवालले भने,“निजी बैंक भनेको नाफाको लागि खोलिएको हुन्छ । उसले मिटरव्याज पीडितलाई दुःख भयोकि भनेर ऋण दिँदैन । त्यसकारण निजी बैंक सामाजिकीकरण गर्ने, राज्यले लिने अनि जिम्मेवारी पनि लिनु पर्दछ । साथसाथै मान्छेको गर्भदेखि चिहानसम्म सरकारले जिम्मा लिनु पर्छ । सरकार भनेको त्यसैका लागि हो ।”

सांसद सुवालले निजी बैंक नाफाका लागि मात्रै खोलिएको र त्यसले मिटरव्याँज पीडितको पीडालाई सम्बोधन गर्न नसक्ने भएकाले त्यस्ता बैंकहरूलाई राज्यको मातहत ल्याउनुपर्नेमा जोड दिए ।

राज्यले आम नागरिकको जिम्मेवारी लिनुपर्ने भएकाले त्यसो गर्न नसक्ने मन्त्रीहरूले पदमा बसिरहन उपयुक्त नहुने तर्क समेत गरे ।

सांसद सुवालले सिंहदरबार भित्र र बाहिर गर्नका लागि नभई मन्त्रीहरू नागरिकप्रति जिम्मेवार हुनुपर्ने बताए ।