रामेछाप नगरपालिकाको बजेट घट्दा बढ्यो चालू खर्च


काठमाडाैँ । रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि रु. ७३ करोड बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७९/८० भन्दा कम बजेट सार्वजनिक गरेको हो । नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा रु. ७९ करोड १ लाख २१ हजार बजेट ल्याएको थियो भने आर्थिक वर्ष २०८०/८१ को लागि रु. ७३ करोड बजेट ल्याएको छ । यो चालू आर्थिक वर्षको भन्दा रु ६ करोडले कम हो । आगामी आर्थिक वर्षका लागि ७३ करोडको बजेट ल्याएको नगरपालिकाले पूँजीगत तर्फ रु. ७ करोड बजेट घटाएको छ भने चालु तर्फ रु. २ करोड बढाएको छ ।

आर्थिक वर्ष २०७९/८० रामेछाप नगरपालिकाले चालु खर्च रु. ४७ करोड ८८ लाख ६५ हजार ४ सय छुट्टाएको थियो भने पूँजीगत तर्फ रु. ३१ करोड १२ लाख ५५ हजार छुट्टाएको थियो । कुल बजेटमध्ये रु. ४९ करोड अर्थात लगभग ६७ प्रतिशत बजेट प्रशासनिक खर्चका लागि छुट्टाएको नगरले विकासका लागि केबल २४ करोड अर्थात ३२ प्रतिशत रकम विनियोजन गरेको छ ।

प्रमुख प्रशासकिय अधिकृत निरज पौडेलका अनुसार कार्यालयमा कर्मचारी थपिएकाले प्रशासकिय खर्च बढेको हो । उनले भने “कार्यालयमा कर्मचारी थपिएको र कार्यालय खर्च बढ्नु गएकाले चालु खर्च बढेको र पहिलेभन्दा कम बजेट आएकाले विकास खर्च घट्न गएको हो ।” हालसम्म नगरपालिकाले प्रशासनिक तर्फ ३३ करोड ६३ लाख ५५ हजार र पूँजीगततर्फ १६ करोड ७९ लाख ८१ हजार गरी जम्मा ५० करोड ४३ लाख ३७ हजार खर्च गरेको छ ।

‘समुन्नत र समृद्ध रामेछाप नगर’ भिजन र ‘शिक्षा, स्वास्थ्य, कृषी, खानेपानी, पर्यटन र पूर्वाधारकोे क्षेत्रमा गुणात्मक विकास गर्दै समुन्नत र समृद्ध रामेछाप नगर निर्माणको आधार तयार गर्ने’ मिसन राखेको नगरपालिकाले विकास निर्माणको कार्यमा बजेट कम गर्नु र प्रशासनिक कार्यमा बढी रकम खर्च गर्नुले नगरपालिकाको नीति र व्यावहारमा तादम्यता देखिँदैन ।

नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा विभिन्न शिर्षकबाट १ करोड ६ लाख ८ हजार आन्तरिक आय हुने अनुमान गरेको छ । चालु आर्थिक वर्षको ११ महिनामा नगरले ६८ लाख १९ हजार राजस्व असुली गरेको छ जबकी १ करोड ८ लाख ८० हजारको लक्ष्य थियो ।

रामेछाप नगरपलिकाले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेपनि बजेट पारित भने भएको छैन । यही असार १८ गते सोमबार बजेट पारित गर्ने कार्यक्रम रहेको लवश्री न्यौपानेले बताए ।

पर्यटन प्रबद्र्धनका लागि छैन ठोस योजना

नगरपालिकाको नीति तथा कार्यक्रममा आन्तरीक तथा बाह्य पर्यटक प्रबद्र्धन गर्दै रोजगारीको सृजना गर्न हेमस्टे खोल्न प्रोत्सहान गरिने उल्लेख भए पनि नगरपालिकाको मुख्य आयस्रोत बन्न सक्ने पर्यटन प्रबद्र्धनका लागि नगरभित्र रहेको धार्मिक तथा संस्कृतिक सम्पदाको पहिचान गरी प्रर्यटक बढाउन आवश्यक पर्ने ठोस नीति लिएको देखिदैन् ।

तर नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेले नगरभित्र रहेको सबै पर्यटकिय क्षेत्रको स्तरोन्नती गर्न बजेट छुट्टाएको बताएका छन् । उनले भने,“हामीले पर्यटकिय सम्भावना भएको तिल्केथान डाँडाका लागि पनि बजेट छुट्टाएका छौँ, बावियाखर्कमा पनि निर्माण गर्दै छौँ र अन्य क्षेत्रमा रहेको धार्मिक स्थलको विकासका लागि बजेट विनियोजन गरेका छौँ ।”