परम्परागत गतिमै पर्यटन


कोभिड–१९ को महामारीबाट नराम्ररी प्रभावित नेपालको पर्यटन उद्योग विदेशी पर्यटकका लागि खुला भएसँगै पुनर्बहालीको बाटोमा अघि बढेको देखिएको छ ।

पर्यटन पुर्नबहालीको संकेत देखिए पनि नेपालको अर्थतन्त्रलाई प्रत्यक्ष रूपमा सकारात्मक प्रभाव पार्न सक्ने पर्यटन क्षेत्र अझै पूर्ण रूपमा क्रियाशील भने हुन सकेको छैन । नेपालमा कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६.७ प्रतिशत हाराहारीमा छ, कोभिड महामारीले यसमा असर पारेको छ । 

सरकारको प्रयास 

सरकारले नेपालमा कसरी पर्यटक पुनरुत्थान गर्न सकिन्छ भनी समिति गठन गरेको थियो । २०७९ असार १३ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटन क्षेत्रको पुनरुत्थान गर्ने तत्कालीन र दीर्घकालीन कार्ययोजना तर्जुमा गर्न समिति गठन गरेका थिए भने मन्त्रीस्तरीय निर्णयले २०७९ साउन ८ गते नेपालको पर्यटन क्षेत्र पुनरुत्थानको ७३ बुँदे कार्ययोजना स्वीकृत गरेको थियो । 

कार्ययोजनामा ५ हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका थप हिमचुलीहरूको आरोहण खुला गर्ने, गैरआवासीय नेपाली सङ्घको नेतृत्वमा एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान सञ्चालन गर्ने, सगरमाथा संवाद कार्यक्रम समावेश थियो । काठमाडौँ उपत्यकाभित्र रात्रिकालीन पर्यटनको प्रारम्भ र प्रवद्र्धन गर्ने अवधारणा अनुरूप काठमाडौँ, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्राको सुरुवात गर्ने पनि कार्ययोजनामा थियो । 

स्वदेश विदेशमा बजारीकरण गर्दैछौँ

टेकनारायण पौडेल उपसचिव, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय

पर्यटकको आकर्षण बढाउन उत्पादनहरूको बजारीकरण गर्ने, आफ्नो गन्तब्यलाई सुरक्षित बनाउने, पूर्वाधार सम्पन्न बनाउने, नेपालमा पर्यटनलाई घुम्नको लागि गन्तब्य जुनसुकै राम्रो गन्तब्य हो भन्ने हिसाबले हामीले बजारीकरण गरिरहेका छौँ ।

त्यसको लागि छुट्टै निकायहरू पनि छन् । नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धन सम्बन्धि राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा कार्यक्रम भइरहेको छ ।

हाम्रो देश सुरक्षित र सिर्जनात्मक छ घुम्न आउनु भनेर हाम्रो बजारीकरण लगायतका कुरामा जोडिएका छौँ ।

भक्तपुरमा रात्रिकालीन पर्यटक सुरु गरिसकेको तथा कीर्तिपुर र पाटनमा अन्तिम चरणमा पुगेकोे नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । 

यस्तै, प्रमुख पर्यटकीय क्षेत्रहरूमा सडक खानेपानी, शौचालय, निःशुल्क इन्टरनेट सेवा लगायतका सुविधा विस्तार, गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालनमा ल्याउने लगायत पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका कार्यक्रमहरू अगाडि सारिएको छ । 

कार्ययोजना १ महिनाको अवधिमा सक्नेदेखि निरन्तर गर्नेसम्मका बुँदा छन् । सरकारले केही लागु गरिसकेको छ भने केही कार्ययोजना सुरु हुने छाँटकाँट नै छैन ।

संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका उपसचिव टेकनारायण पौडेलले कोरोनापछि पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्काउनको लागि पर्यटकीय पूर्वाधारहरूलाई निर्माण गर्ने लगायत बजारीकरणसँग जोडिएका ७३ बुँदे कार्यक्रम कार्यान्वयनमा जोड दिएको बताए । 

“कोरोनापछि पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्काउनको लागि कार्ययोजना ल्याइएको हो । जसलाई हामीले ‘टुरिजम ब्रिकेट’ भनेका छौँ । त्यो कार्ययोजनालाई कार्यन्वयन गर्दै गएपछि पुनर्उत्थान हुने विश्वास लिएका छौँ,”उनले भने ।

सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमार्पmत १० लाख पर्यटक भित्र्याउने गरी कार्यक्रम सञ्चालन गर्ने जनाएको थियो । बोर्डका निर्देशक लामिछानेले चालु आर्थिक वर्षमा १० लाख पर्यटक भित्रने आकलन गरिए पनि दुई अन्तर्राष्ट्रिय एयरपोर्ट सञ्चालन नभएका कारण साढे ९ लाख हाराहारी पुग्ने अनुमान गरिएको बताए । 

पर्यटक भित्र्याउने भनेर मात्र नहुने र प्राथमिकता निर्धारण गर्नुपर्ने पर्यटन क्षेत्रमा क्रियाशील व्यावसायीहरूको भनाइ छ । होटल एसोसियसन नेपालकी पूर्वअध्यक्ष सिर्जना राणा भन्छिन्,“हाम्रो हिमाल, ट्रेकिङ रुट, जंगल, हाम्रो उत्पादनको पहिचान गर्न एकदम जरुरी छ । नेपालमा के छ भनेर सोध्दा हामी नै कन्फ्युज हुन्छौँ । हामीले हाम्रो छनोट गरेर त्यसलाई कसरी जोड्न सकिन्छ त्यता ध्यान दिनुपर्छ ।”

जहाज नभएका कारण समस्या छ

मणिराज लामिछाने निर्देशक, नेपाल पर्यटन बोर्ड

नेपालमा पर्यटन भित्र्याउन पछिल्लो समय चुनौती देखिएको छैन । पर्यटन विस्तारै लयमा फर्कदैँ छ । नेपालमा हाम्रो हवाइजहाज छैन ।

पर्यटक नेपाल ल्याउने नेपाली एयरलाइन्स नै भएन । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्सले गरिरहेका छन्, त्यो पनि थोरै छन् । 

युरोपबाट आउने पर्यटकको टिकटको पैसा महँगो छ । केही समय अगाडि कोरियाबाट आउने पर्यटक धेरै थिए; त्यहाँ पनि महँगो भयो ।

नेपालका विभिन्न स्रोत बजारमा हाम्रो सिधै नजोडिने अथवा नेपालबाट जाने हवाइजहाज कम हुनुले पनि पर्यटक आउन सकेको छैन । 

सन् १९७७ पछिको अवस्था 

मन्त्रालयको तथ्याङ्क अनुसार सन् १९७७ पछिकै न्यून पर्यटक सन् २०२१ मा आए । सन् २०२१ मा १ लाख ५० हजार ९६२ आएका थिए । पछिल्लो १० वर्षमा ७१ लाख ८६ हजार १०३ पर्यटक भित्रिएका छन्, जसमध्ये सबैभन्दा कम २०२१ मा भित्रिएका हुन् । 

सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउन लागेको थियो तर विश्वभर कोभिड महामारीका कारण भ्रमण वर्ष स्थगित गरियो । उक्त वर्ष १५ लाख पर्यटक भित्र्याउने लक्ष्य भए राखिएको थियो ।

सन् २०२३ को मार्चमा नेपाल भ्रमणमा आएका झण्डै एक लाख अन्तर्राष्ट्रिय पर्यटकले पुनर्बहालीको संकेत देखिएको छ । यो सन् २०१९ को सोही महिनाको तुलनामा ७८ प्रतिशतको वृद्धि हो । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपाल आउने पर्यटकका लागि भारत प्रमुख देश बनेको छ भने त्यसपछि संयुक्त राज्य अमेरिका र बेलायत छन् । बढेको आगमनको प्रवृत्ति अप्रिल र मे महिनाहरूमा जारी रहने अपेक्षा गरिएको छ, जुन पदयात्रा र यात्रा गतिविधिहरूको लागि उपयुक्त समय हो ।

नेपालमा २११ देशबाट पर्यटक भित्रिने गरेको तथ्याङ्कले देखाउँछ । सन् २०२२ मा १५ देशबाट १ जना पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागको तथ्याङ्कमा छ, जसमध्ये छिमेकी मुलुकहरू भारत र चीन नेपालको प्रमुख पर्यटक स्रोत गन्तव्य हुनसक्ने भए पनि नेपालले अहिलेसम्म आशातीत रूपमा पर्यटक नै आकर्षित गर्न नसकेको पर्यटन क्षेत्रका सरोकारवालाहरू बताउँछन् । भारत र चीन विश्वका दुई ठुला पर्यटन बजारहरू हुन् । दुवै देशका नागरिकहरूको विदेश घुम्न जाने प्रवृत्ति बढेसँगै नेपालले त्यहाँका पर्यटक भित्र्याउन सरकारले पहल गर्नुपर्ने देखिएको छ ।

आम्दानी बढाउने चुनौती

नेपालमा पर्यटक भित्रिए पनि खर्च कम गरेको टिप्पणी हुने गरेको छ । पर्यटकलाई धेरै दिनसम्म टिकाउने र खर्चका लागि आधार तयार गर्नुपर्ने माग पटक–पटक उठ्दै आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका उपसचिव टेकनारायण पौडेलले पर्यटकले गर्ने खर्चलाई कसरी बढाउने भनेर त्यसको गृहकार्य भइरहेको बताए । 

नेपाल फ्रान्स उद्योग वाणिज्य संघका अध्यक्ष श्याममोहन श्रेष्ठ नेपालमा फ्रान्सेलीहरू नेपालमा धेरै आउने चाहाना राख्ने गरेको बताउँछन् । “फ्रान्सेलीहरू नेपालमा हिमाल, पहाडको नेपालको वातावरण हेर्न आउने गरेका छन् । नेपालमा आउने फ्रान्सका पर्यटकले अन्यको तुलनामा खर्च गर्ने गर्छन्,” उनले भने ।

आर्थिक वर्ष २०१९/२० को तुलनामा आर्थिक वर्ष २०२०/२१ मा ८८.२ प्रतिशतले पर्यटकबाट हुने आम्दानी घटेको थियो । नेपालले पर्यटन क्षेत्रबाट २०१४/१५ मा ५३ अर्ब ४२ करोड ८६ लाख रूपैयाँ बराबरको आम्दानी गरेको थियो । सन् २०१५/१६ मा ४१ अर्ब ७६ करोड ५३ लाख रूपैयाँ बराबरको आम्दानी गरेको थियो । आर्थिक वर्ष २०१४/१५ को तुलनामा २०१५/१६ मा २६.९ प्रतिशतले कम आम्दानी गरेको हो । 

यस्तै नेपालले सन् २०१८/१९ मा ७५ अर्ब ३७ करोड ४१ लाख रूपैयाँ बराबरको आम्दानी गरेको थियो भने २०२२/२३ को ८ महिनामा ३७ अर्ब १२ करोड ३३ लाख रूपैयाँ बराबरको आम्दानी गरेको छ । 

भ्लगर र सामाजिक सञ्जालबाट प्रवद्र्धन गर्दा प्रभावकारी हुन्छ

मोहन लम्साल
महासचिव, नेपाल पर्वतारोहण संघ

हामीले नेपालमा आउने पर्यटकलाई के नयाँ कुरा दिने भन्ने हो । नयाँ कुरा दियो भने नेपालमा विदेशी पर्यटक दोहो¥याएर पनि नेपाल आउँछन् । हामीले हाम्रो देशमा यो यो छ भनेर प्रवद्र्धन गर्न पनि सकेका छैनौँ । सरकारले प्रवद्र्धन गर्ने जिम्मा अन्तर्राष्ट्रिय मिडियाहरूलाई दिनुपर्छ । जसको नेटवर्क धेरै हुन्छ । नेपालले पर्यटनको प्रवद्र्धन परम्परागत रूपमा गरिरहेको छ । यसले केही पनि हुँदैन ।

प्रभावकारी मास मार्केटिङ गर्नुपर्छ । नेपालमा विदेशी भ्लगरहरू हुन्छन्, सामाजिक सञ्जालबाट पनि प्रवद्र्धन गर्दा प्रभावकारी हुन्छ । हिमाल आरोहण गर्ने व्यक्तिले ठुलै खर्च गर्नुपर्छ । एक हिमाल आरोहीले केही नभए पनि सगरमाथा चढ्दा ३५/४० हजार डलर खर्च गर्छन् । यसमध्ये नेपाल सरकारलाई १५ हजार डलर जति जान्छ । विभिन्न सामान लजिस्टिक, अक्सिजन, खानेकुराहरू पनि चाहिन्छ; थप खर्च लाग्छ । 

देशभित्र ३० लाख पर्यटक क्षमताको होटलहरू स्थापना भएका छन् तर वार्षिक १० लाख हाराहारीमात्र नेपालमा पर्यटक भित्रने अनुमान गरिएको छ । काठमाडौं केन्द्रित भएर होटलहरू खुल्दा समस्या भएको होटल एसोसिएसनकी पूर्वअध्यक्ष राणाले बताइन् । उनले माग र पूर्ति सरकारले राम्रोसँग नहेरेरी अनुमति दिएको भएर विशेष गरी काठमाडौंमा समस्या भएको उनको भनाइ छ । 

“विमानस्थलमा बाहिरबाट आउने पर्यटक विदेशी भनेर एनआरएनलाई पनि लेख्ने चलन छ । उनीहरू आएपछि आफ्नाे घर जान्छन् होटलमा बस्दैनन् । अनि यति पर्यटक आयो भनेर तथ्याङ्क दिने गरेको छ,” उनले भनिन् ।

सगरमाथा आरोहण अनुमति लिने धेरै

यस पटक सगरमाथा आरोहण गर्नको लागि ६५ देशका ४६७ जनाले अनुमति लिएका छन् । त्यसमध्ये सबैभन्दा धेरै चिनियाँ पर्यटकले अनुमति लिएका छन् । वसन्त ऋतुमा सगरमाथा आरोहण गर्नको लागि ९६ चिनियाँ पर्यटकले अनुमति लिएका छन् । यस्तै, अमेरिकाबाट ८७, चारतबाट ४०, क्यानडाबाट २१, रुसबाट २०, फ्रान्सबाट १३, युकेबाट १८, युक्रेनबाट र १६ नेपालीले अनुमति लिएका छन् । नेपालका २४ हिमाल आरोहण गर्नको लागि १ हजार ७९ जनाले अनुमति लिएका छन् । 

त्यसमध्ये सबैभन्दा धेरै सगरमाथा आरोहणको अनुमति लिएका छन् । सरकारले हिमाल आरोहीबाट ७३ करोड ९७ लाख १३ हजार ४८५ रुपैयाँ रोयल्टी उठाएको छ । 

सबैभन्दा धेरै सगरमाथा आरोहीबाट रोयल्टी प्राप्त भएको छ । सगरमाथा आरोहीबाट सरकारले ६५ करोड ५ लाख ९२ हजार २१९ रुपैयाँ रोयल्टी पाएको हो ।

कस्तो सेवा सुविधा लिन्छन् त्यस अनुसार खर्चमा भर पर्छ

कृष्णप्रसाद दाहाल
वरिष्ठ उपाध्यक्ष, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल

कोभिड महामारीपछि हामीले धेरैभन्दा धेरै पर्यटक ल्याउने कोशिस गरिरहेका छौँ । पर्यटक बढाउनको लागि बोर्ड पनि लागि परिरहेको छ । ट्रेकिङमा आपूm मात्र नभई गाइड पनि अनिवार्य रूपमा लैजानु पर्ने व्यवस्था गरेको छ । ठाउँ ठाउँमा चेकपोष्टहरू खाडा गरी राखेको छ । 

अहिले सबैजना त्यसरी नै जानु हुन्छ । नेपालमा ट्रेकिङको लागि आउने पर्यटकले के के सेवा सुविधा लिन्छन्, कस्तो होटलमा बस्छन्, कोही गाडी चढ्छन्, कोही बस चढ्छन् त्यस अनुसार पर्यटकले गर्ने खर्चमा भर पर्छ ।

त्यसबाट नै ट्रेकिङ्को लागि पर्यटकले कति खर्च गर्छ भन्ने हुन्छ । कति खर्च गर्छन् भन्ने एकिन तथ्यांक छैन । केही वर्ष अगाडि एक पर्यटकले औषत ४८ डलर खर्च गर्छन् भन्ने तथ्यांक थियो । नेपालमा मार्च, अप्रिल, मे, सेप्टेम्बर, अक्टोबर र नेभेम्बरमा ट्रेकिङ् गर्न सकिन्छ ।

(टक्सार म्यागजिन, २०८० जेठ अंक, पृष्ठ ४ देखि ४९ सम्म)