घोराही सिमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीको आईपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले दोस्रो पटक २२ गतेदेखि पुनः निष्काशन गरेको आइपीओमा आवेदन दिन आज असार २५ गते अन्तिम दिन रहेको छ ।

कम्पनीले यस अघि जेठ ३१ गतेदेखि असार ४ गतेसम्म आइपीओ निष्काशन तथा बिक्री खुला गरेको अन्तिम दिन नेपाल धितोपत्र बोर्डले स्थगित गरेको थियो ।

असार २० गते बसेको बोर्ड सञ्चालक समितिको बैठकले स्थगित गरिएको कम्पनीको आईपीओ असार २२ गतेदेखि पुनः निष्काशन गर्न निर्देशन दिएको थियो ।

अब कम्पनीको आइपीओमा आज बैंकिङ समयभित्र आवेदन दिन सकिनेछ। उक्त अवधिमा माग अनुसारको आवेदन नपरेमा खण्डमा असार ३१ गतेसम्म निष्काशन अवधि लम्बिने कम्पनीले जानकारी दिएको छ।

बोर्डले यस अघि आईपीओ भरेर आवेदन दिइसकेका आवेदकहरुले असार २२ गतेदेखि २४ गतेसम्मको अवधिमा आवेदनमा दिएको सेयर संख्या थप रघट गर्न वा आवेदन फिर्ता वा बदर गर्न चाहेमा आफ्नो सि आस्बा सदस्य, बैंक तथा वित्तीय संस्थाहरुमा गई लिखित निवदेन दिन सकिने सूचनामा उल्लेख छ।

घोराही सिमेन्टको यस आईपीओ कम्पनीले प्रति सेयर कित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गर्दै प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्काशन गरिएको हो।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेका छन्।

आईपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ताका र अधिकतममा १० लाख कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्गको ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।