माथिल्लो मैलुङ खोला जलविद्युत्को आइपीओ साउन ४ गतेदेखि निष्काशन हुँदै


काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। पहिलो चरणमा साउन ४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको १० प्रतिशतले १० करोड रुपैयाँ बराबरको १०० रुपैयाँ दरका १० लाख साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।

जसमध्ये ५ लाख ७१ हजार ४३० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं.९ का बासिन्दाहरुलाई बाँडफाँट गरिनेछ भने २ लाख ८५ हजार ७२० कित्ता सेयर आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५, तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नं.५ मा बसोबास गर्ने स्थानीय बासिन्दाहरु र सो क्षेत्र बाहेकका रसुवा जिल्लाका अन्य क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि १ लाख ४२ हजार ८५० कित्ता सेयर बाँडफाँट प्रथम चरणमा गर्ने कम्पनीले जनाएको छ।

यसैगरी कम्पनीले सर्वसाधारणका लागि जारी गरिने १५ लाख कित्ता सेयरमध्ये १० प्रतिशतले हुन आउने १ लाख ५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गर्ने जनाएको छ ।

यो आईपीओमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा साउन १८ गते हुनेछ भने ढिलोमा भदौ १ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन १८ गतेभित्र आवेदन दिनु पर्नेछ।

यो आईपीओमा स्थानीयले सानिमा क्यापिटल, आयोजनास्थलस्थित कार्यालय र सानिमा बैंकको विदूर शाखा, किस्पाङ शाखा र धुन्चे शाखाबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्ड सेबोनबाट अनुमतिप्राप्त सी–आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत सेयर आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।