दशकपछि पुनः कृषिमा फर्केका राैतहटका अबरारूल, ह्याचरी बाट मासिक २ लाखसम्म आम्दानी गर्छन् 


आरके श्रीवास्तव/रौतहट- 

गाउँबाट सहर र सहरबाट विदेश जाने प्रचलनले गाउँ रित्तिने नेपालकाे नियति जस्तै बनेकाे छ । कृषि कर्म छाड्ने क्रम बढीरहँदा राैतहट जिल्लाकाे फतुवा बिजयपुर–८ मा अबरारुल हक भने कृषि बाटै आम्दानी र आत्मसन्तुष्टी कमाइरहेका छन् । मासिक १ देखि २ लाख रकमसम्म कमाउने हक दर्जन बढीकाे राेजगारी सिर्जना पनि गरेका छन्। 

हककाे ह्याचरी उद्याेगबाट गरेकाे प्रगतिबाट अनुसरण गर्नेहरू पनि बढेका छन् । उनले हाँस, बट्टाइ लगायतको चल्ला उत्पादन गर्छन्। उनको कासमी कृषि तथा पोल्ट्री प्रा.लि. ले टर्की, लोकल कुखुराको चल्ला, गिरिराज कुखुराको चल्ला र परेवा समेत उत्पादन गरिरहेकाे छ । उनले पोल्ट्री जन्य सामाग्री उत्पादन गरेर मधेश प्रदेशका विभिन्न स्थानमा बिक्री वितरण गर्ने गरेका छन्।

ह्याचरीमा उत्पादित चल्ला रौतहट, बारा, पर्साका, सर्लाही, महोत्तरी, धनुषासम्म बजार प्रतिनिधी मार्फत बिक्री वितरण भइरहेका छन् । बाहिरका उत्पादक पनि चल्ला खरीदको लागि उनको ह्याचरीमा आउन गरेको बताउँछन् । ह्याचरी उद्योग नहुँदा यहाँका पोल्ट्री सामाग्रीका लागि किसान व्यवसायीले चितवन सहित अन्य जिल्लाबाट खरिद गर्नुपर्ने बाध्यता थियो । तर स्थानीयस्तरमै ह्याचरी उद्योगबाट हाँस लगायतका चल्ला उत्पादन भएपछि किसानलाई सुविधा थपिएकाे हाे । 

उनकाे याे सफलता यत्तिकै हात लागेकाे भने भैन । हकले वि.स. २०६३ सालमा ब्रोइलर फार्म सुरु गरेका थिए । यस सम्बन्धि अनुभव समेत नभएकाे तथा तत्कालीन समयमा आम्दानी बढाउन नसकेका कारण एक दशक पेशाबाट पलायन नै भए । वि.स. २०७५ सालमा पुनः यस पेशामा फर्किएका हुन् । “वि.स.२०७७ साल देखि देखि चल्ला उत्पादनको काम सुरु गरें, तत्पश्चात् राम्रै आम्दानी गरेको छु,” उलने भने । 

मात्र ४ लाख रकम व्यक्तिगत लगानीमा सञ्चालन गरिएकाे ह्याचरी उद्योगमा तीन जना पूर्णकालीन कामदार छन्। दर्जन बढी बजार प्रतिनिधी छन् । स्थानीय सरकार फतुवा बिजयपुर नगरपालिकाबाट अनुदानको सहयोगमा उनको लगानी ४० लाख सम्म पुगेको छ । ऋण भने लिएका छैनन् । थप लगानी बढाएर आफ्नाे ह्याचरी उधोग मधेश प्रदेशमै नमुना बनाउने उनको सोच छ । ठूलो उधोगको रुपमा परिणत भयो भने १२ जनाको ठाउँमा १००/२०० जनाले रोजगारी पाउन सक्ने उनको भनाइ छ। 

बजार प्रतिनिधीको रुपमा काम गर्ने ऐनुल हकले चल्लाहरु बेचेर महिनाको ६० हजारसम्म कमारहेकाे बताए । अर्का एक बजार प्रतिनिधी नुर आलमको पनि भनाइ यस्तै छ । “हामी दैनिक रुपमा मोटरसाइकिलमा चल्ला लोड गरी मधेश प्रदेशको विभिन्न ठाउँमा बिक्रि गर्न जाने गरेका छाैं, बेलुका आएर साहु सँग हिसाब किताब सबै काँटछाँट गरेर महिनामा ६० हजारसम्म आम्दानी गर्ने गरेका छाैं ।” बजार प्रतिनिधिहरूले अन्त कमाउन जानुपरेको छैन । 

ह्याचरी उद्याेगमा कस्ता छन् सरकारी कार्यक्रम?

पशुपन्छी पालनकाे क्षेत्रमा सम्भवना प्रसस्त रहे पनि तीनै तहका सरकाले कम मात्र प्राथमिकतामा राखेकाे पाइएकाे छ । पशु सेवा शाखा फतुवा बिजयपुर शाखाका प्रमुख दयाराम यादवले याे वर्ष ह्याचरी उत्पादन गर्ने किसानको लागि केही कार्यक्रम नभएकाे बताए । माछा पालनकाे लागि भने बजेट आएकाे तर कृषक लिन नआएकाे उनकाे भनाइ छ ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहट, गौर प्राविधिक सहायक सूचना अधिकारी जादोलाल साहले क्षेत्रीय निर्देशनालय बाट अनुदानको लागि रकम आए पनि फ्रिज भएको जानकारी गराए ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय मधेश प्रदेशका प्रमुख जागेश्वर यादवले हाँसको ह्याचरी स्तरोन्नती कार्यक्रम सञ्चालनका लागि आए पनि बजेट रोक्का भएका कारण कार्यक्रम सञ्चालन हुन नसकेको जानकारी गराए। “तर हामीले ह्याचरी सञ्चालन गर्ने व्यवसायीहरु लाइ प्राविधिक मार्फत निःशुल्क सेवा दिइरहेका छौं । कुनै व्यवसायीलाइ सहयोगको आवश्यकता परे निर्धक्क भएर सम्पर्क गर्न गर्न आग्रह गर्दछु,” उनले भने ।

ह्याचरी उधोग सञ्चालन गर्न चुनाैति कस्ता छन्?

ह्याचरी उधोग सञ्चालनका लागि प्रमुख चुनाैति बजारीकरणको रहेकाे हककाे अनुभव छ । चल्ला उत्पादन गरेपछि आफैले लगेर बेच्नु पर्ने बाध्यता छ । अर्को समस्या बिधुतको रहेको बताए । “१ घण्टा लाइन कट्यो भने ४ सय सम्मको डिजल खपत हुन्छ । जसकारण हामी लाइ घाटा हुन्छ । यसको पनि ठोस् उपाय गरियो भने राम्रो हुन्थ्यो ।” उनले भने।

फतुवा बिजयपुर नगरपालिकाको एक पटककाे अनुदान सहयोगले केही सहज भएकाे उनकाे बताए । तर अझै ठूलो रुपमा काम गर्नको लागि मेसिनहरु खरिद गर्नका लागि सहयाेग पाएमा थप राेजगारी सिर्जना गर्न सकिने उनले बताए।

“म जस्ता वास्तविक किसान फर्म वालाले जिल्ला, प्रदेश बाट अनुदान नपाएको गुणासो गरे । नगरपालिका बाट थोरै अनुदान पाएर राम्ररी चालाउन कठिन छ, मथिल्लो निकायको ध्यानाकर्षण होस्।” उनले भने ।