चालू आर्थिक वर्षको अन्तिममा तरलता प्रशोचन गर्दै राष्ट्र बैंक


काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि राष्ट्र बैंकले रिभर्स रिपो मार्फत पैसा खिच्ने काम गरिरहेको छ । राष्ट्र बैंकले मंगलबारमात्र २० अर्ब रुपैयाँ रिर्भस रिपोमार्फत तानेको थियो भने बुधबार पनि रिर्भस रिपोमार्फत २० अर्ब रुपैयाँ तानेको हो ।

राष्ट्र बैंकले मंगलबार १४ दिनको लागि २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गरेको थियो । जसमा बोलकबोलमा १८ वटा बैंक तथा वित्तीय संस्थाहरुले कुल ५३ अर्ब ५० करोड रुपैयाँको लागि १५८ वटा बोलपत्रहरु पेश गरेका थिए ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले रिर्भस रिपोमार्फत बजारबाट तान्ने गरेको छ । वर्षभरि नै तरलता संकट हुँदै आएकोमा चालू आर्थिक वर्षको अन्तिममा बैंकिङ प्रणालीमा अधिक रकम देखिएको हो ।

बैंकमा तरलता पछिल्लो समय बढ्दै गएको र कर्जा प्रवाह हुन नसक्दा राष्ट्र बैंकले तरलता प्रशोचन गरेको हो । आर्थिक वर्ष २०७९/८० को ११ महिनामा कुल आन्तरिक कर्जा ६.९ प्रतिशतलेमात्र बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १२.४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार जेठसम्ममा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ५.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १५.० प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० जेठ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ३.६ प्रतिशतले बढेको छ ।

बैंकहरु कर्जा विस्तारभन्दा पनि कर्जा उठाउनतिर लागेका छन् । बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढ्दै गएपछि बैंक तथा वित्तीय संस्था अहिलेलाई कर्जा प्रवाह गर्ने स्थितीमा देखिएका छैनन् ।

वाणिज्य बैंकहरुमा २०७९ असारमा १.२० रहेको खराब कर्जा २०८० वैशाखमा ३.२३ पुगेको छ । खराब कर्जा बढ्दै गएपछि बैंक तथा वित्तीय संस्था कर्जा प्रवाह गर्ने मनस्थिती नबनाएका हुन् ।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले अहिले कर्जाको माग नै नभएको अवस्था रहेको बताए

। उनले भने, “राष्ट्र बैंकको नियम अनुसार पनि असारमा धेरै कर्जा दिन मिल्दैन । बैंकको कर्जा प्रवाहमा त्यस्तो अनौठो केही पनि छैन । यो वर्षैपिच्छे हुन्छ । आर्थिक वर्षको अन्त्यमा कर्जा प्रवाह हुँदैन । अहिले कर्जाको माग नभएको कारण कर्जा प्रवाह नभएको हो ।”

बैंक तथा वित्तीय संस्थामा असार २४ गतेसम्म ५७ खर्ब १५ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार असार २३ गते ५६ खर्ब ९५ अर्ब रुपैयाँ रहेको निक्षेप एकैदिन २० अर्ब रुपैयाँले बढेको थियो । यस्तै, कर्जा प्रवाह ४८ खर्ब ६१ अर्ब रुपैयाँ गरेका छन् । कर्जा निक्षेप अनुपात पनि ८२.०३ प्रतिशत रहेको छ भने अन्तर बैंक ब्याजर १.३६ प्रतिशत रहेको छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले उद्योगी व्यवसायी कर्जा लिन नडराएको बताए । “बजारमा मागको कमी भएका कारण कर्जा लिएर पनि के गर्ने ? बजारबाट उधारो सामान मगाएर बेचौं भने पनि भएन । ब्याज पनि बढी छ ,” उनले भने, “त्यो हिसाबले ऋणीहरु डराएको नभइ बजार चलायमान नभएका कारण कर्जा नलिएको हो । बजार चलायमान भएपछि माग सिर्जना हुन्छ अनि ऋणको आवश्यकता पर्छ ।,”

राष्ट्र बैंकको चालू पुँजी कर्जा निर्देशनले कर्जा लिनको लागि रोकिएको उल्लेख गर्दै उनी बजार चलायमान बनाउने गरि मौद्रिक नीति आउँछ कि रोक्नेगरि आउँछ कस्तो आउँछ त्यो हेरेपछि मात्र भन्न सकिने बताउँछन् ।

पूर्व बैंकर परशुराम कुँवर क्षेत्रीले अहिले बैंकिङ प्रणालीमा पैसा फालाफाल छ भन्ने देखाएको बताए । “राष्ट्र बैंकले थोरै थोरै लिएको भएका कारण रेट माथि आउँदैन जस्तो लाग्छ । ठुलो रकमको ल्याएको भए रेट माथि आउँथ्यो होला । अहिले कर्जाको माग भएको छैन । असार मसान्तमा बैंकहरु पनि उत्साहित हुने अवस्था आएन । अहिले बैंकहरु पैसा उठाउनको लागि उत्साहित होलान्,” उनले भने ।