नेपाल भारत अर्थसामाजिक सम्बन्धका आयाम


नेपाल–भारतको सम्बन्ध अटुट छ । नेपाल भारतबिच देवीदेवता, नदीनाला, वैवाहिक, साँस्कृतिक, रीतिरिवाज, रहनसहन, संस्कार, सामाजिक, भौगोलिक, धार्मिक, आर्थिक, शैक्षिक हरेक प्रकारको सम्बन्ध सनातन कालदेखि नै स्थापित  छ । सम्बन्धका आयामका विषयमा सुसूचित गराउँदै सम्बन्ध सेतुलाई बलियो बनाउन  दुबै मुलुकका  युवाहरूको संलग्नता बढाउन पनि उत्तिकै जरुरी छ ।

-प्रेम लस्करी-

नेपाल भारतबिच साढे सात दशकभन्दा पुरानो कूटनीतिक सम्बन्ध छ तर दुई देशबिचको सम्बन्ध परापूर्व कालदेखि नै चलिरहेको छ । नेपाल भारतबिच देवीदेवता, नदीनाला, वैवाहिक, साँस्कृतिक, रीतिरिवाज, रहनसहन, संस्कार, सामाजिक, भौगोलिक, धार्मिक, आर्थिक, शैक्षिक हरेक प्रकारको सम्बन्ध सनातन कालदेखि नै स्थापित छ । भगवान राम र सीताको वैबाहिक सम्बन्धदेखि अहिले पनि भारतीय र नेपालीबिच विहेवारी चलिरहेको छ ।

ऐतिहासिक होस् वा राजनैतिक जुन कुनै रूपबाट हेर्ने हो भने पनि नेपाल र भारतको सम्बन्ध विश्वका अन्य मुलुकसँग तुलना गर्न नमिल्ने र भिन्न प्रकारको छ । रोजगजारी र व्यापारको सम्बन्ध निरन्तर चलिरहेको छ । भारतीय सेनादेखि अन्य पेसामा पनि नेपालीको छुट्टै मान र सान छ, सम्मान छ भारतमा ।

भारतका थुप्रै राज्यमा नेपालीहरूको आफ्नैखाले स्थापित उद्यम, व्यापार, व्यवसाय चलिरहेको छ भने नेपालमा पनि दशकौँदेखि भारतीय नागरिक नेपालको उद्योग, व्यापार र विकासको क्षेत्रमा संलग्न रहँदै आएका छन् । परेको बेलामा असल छिमेकीको नाताले गर्ने साथ र सहयोग आफैमा महत्वपूर्ण रहँदै आएको छ । नेपाल भारतबिचको आत्मीय सम्बन्ध जुगौँदेखि थियो, छ र अझै युगौँ चलिरहनेछ । 

मैले भोगेको नेपाल र सामाजिक–साँस्कृतिक सम्बन्ध

म करिब पाँच दशकदेखि नेपालमा बस्दै आएको छु । हाम्रो परिवार सन् १९५८ मा पहिलो पटक नेपाल आएको थियो । सन् १९७१ मैले नेपालमा पाइला टेकेको हुँ । मलाई यो छुट्टै देशजस्तो लाग्दैन । त्यो बेलामा यहाँ राजाको शासन रहेको थियो । त्यसपछिका केही समय नेपाल आउने जाने क्रम चल्यो ।

मलाई नेपाल यति मन पर्यो कि जन्मभूमि भारत भए पनि कर्मभूमि नेपाल बन्यो । मैले कमाएको सम्पत्ति नै मैले यहाँ प्राप्त गरेको साथ, सहयोग र सद्भाव हो । जीवनको उत्तरार्धमा पनि नेपालकै माटोमा रमाइरहने छु । मेरो सौभाग्य कि के भनौँ पूर्वराजा वीरेन्द्र सरकारसँग समय समयमा मेरो भेटघाट गर्ने मौका जुर्यो । म उहाँको विचार, व्यवहारबाट प्रभावित भएँ । उहाँको जोड संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रबाट नै नेपालको विकास सम्भव छ भन्ने थियो । यही जगमा टेकेर भारतसँगको सम्बन्धमा पनि उत्तिकै मधुरता थप्छ भन्ने उहाँको सदासयता रहेको थियो । 

मैले भोगेको पाँच दशकयताको नेपालको तुलना गर्दा पछिल्ला वर्षहरूमा नेपाल भारतबिच बेला बेलामा असझदारीका कुरा पनि उठ्ने गरेका छन् तर यी विषय दुई देशको मनसायभन्दा बाहिरबाट प्रभावित भएर आउने गरेको महसुस हुने गर्छ । एउटै घरका दाजुभाइबिच पनि बेला बेलामा असमझदारी हुन सक्छ तर छिमेक वा अर्को पक्षले त्यसबाट लाभ लिने वा असमझदारी खेल्ने अवसर दिनु हुँदैन ।

दुई देशबिचका कुनै कूटनैतिक समस्या छन् भने कूटनैतिक मर्यादाभित्र रहेर दुबै देशले यसको कूटनैतिक रूपबाटै सुझबुझ प्रयोग गरी समाधान खोज्नु पर्छ । यसो हुँदा दुबै देशबिचको सामाजिक, साँस्कृतिदेखि कूटनैतिक सम्बन्धमा प्रगाढता थपिन्छ । नेपालमा समाज सेवाको हुटहुटीले गर्दा धेरै सामाजिक कार्यमा अझै पनि संलग्न छु । भलै मलाई राजनैतिक रूपमा भने कुनै टिकाटिप्पणी गर्न अझै पनि मन पर्दैन र गर्ने गरेको पनि छैन । म नेपाल आएदेखि अहिले र पछिसम्म पनि नेपाल भारत सम्बन्ध बलियो बनाउने र नेपाली जनताको लागि सक्दो योगदान गर्नमै मलाई आत्मसन्तुष्टि छ र रहिरहनेछ ।  

ऐतिहासिक र दीगो अर्थराजनीतिक सम्बन्ध

नेपाल भारतको अर्थराजनैतिक सम्बन्ध आफैमा दिगो र ऐतिहासिक छ । व्यापार सम्बन्ध उत्तिकै महत्वपूर्ण छ । नेपाललाई आवश्यक पर्ने वस्तु भारतबाट र भारतलाई आवश्यक पर्ने तथा विश्वका अन्य मुलुकमा पठाउने सामग्री भारत हुँदै निर्यात गरिँदै आइएको छ । भारतबाट दशकौँअघिदेखि नेपालमा आएर उद्योग, व्यापार र सेवा क्षेत्रमा काम गर्नेहरूले पनि नेपालको अर्थतन्त्रमा योगदान गरिरहेका छन् ।

अझै पनि नेपालमा ठुलो मात्रामा भारतीय लगानी भित्र्याएर यहाँको अर्थतन्त्रमा टेवा दिन सक्ने सम्भावना छ । उद्योगी व्यावसायीहरू तयार पनि छन् तर उचित नीति, स्थायी नीतिको अभावमा यहाँ लगानी थपिने वातावरण नबनेको गुनासो उनीहरूको छ । ठुला ठुला उद्योगी व्यावसायीहरूसँग मैले कुरा गरेको हुन्छु । उनीहरूले नीति नियमका कारण लगानी गर्ने वातावरण नै नभएको गुनासो गर्दै आएका छन् ।

नेपाल सरकारले स्थिर नीति बनाएर सहजीकरण गर्न सके यहाँ लगानीको कुनै समस्या हुँदैन । यतिबेला भने अर्थतन्त्र खराब चलिरहेको अवस्था छ । व्यापारीहरूले सटर बन्द गरेर हिँड्ने अवस्था सिर्जना भएको छ । यस्तोमा असल छिमेकीको नाताले भारतसँगको व्यापार सहजीकरणले नेपालको अर्थतन्त्रमा पनि सहयोग पुग्न सक्छ । नेपालमा उद्यमशीलता विकासमा दुबै देशको आपसी सहकार्यले सकारात्मक नतिजा दिन्छ भन्ने मलाई लाग्छ । 

नेपाल र भारतको सम्बन्धमा अहिले र पहिलोको भन्दा केही फरक त अवश्य छ । विगतमा नेपालबाट रोजगारीको लागि नेपालीहरू थुप्रै जाने गर्थे तर अहिले घटिरहेको छ । समग्रमा भन्दा नेपाली जनता र भारतका जनताको सम्बन्ध त राम्रो तर काम गर्ने तरिकामा केही दोधार पनि देखिन्छ । नेपालमा लगानी गर्दै आएका उद्योगी व्यावसायीहरूले यहाँ उचित व्यापार सहजीकरण नभएको कारण देखाउँदै लगानीलाई विदेशमा केन्द्रित गर्न थालेको बाध्यात्मक परिस्थिति विद्यमान छ ।

यस्तोमा नेपाल सरकारले व्यापार सहजीकरण गरेर भारतीय मूलका वर्षौँदेखि नेपालमा उद्योग व्यापारमा संलग्न लगानीकर्तालाई प्रोत्साहित गर्न सकेमा अर्थराजनीतिक सम्बन्धले नयाँ उचाई लिनसक्छ । नेपालका हस्तकलाका सामग्री विश्वमै लोकप्रिय छन् । यहाँका कालीगढका सिप कसैले पनि लिएर जान नसक्ने (कपि गर्न नसक्ने) खालका विशेष प्रकारका छन् । यस्तोमा हामीले यहाँका कालीगढलाई प्रोत्साहन गरेर निर्यात प्रवद्र्धन गर्न आवश्यक देखिन्छ ।

यस्ता सिप र उत्पादनको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा राज्यले ढिला नगरी भूमिका खेल्नु पर्ने देखिन्छ । विदेशी मुद्रा आर्जन हुने, स्वदेशी उत्पादनमा बढावा हुने भएकाले यसतर्फ भने ध्यान जानै पर्ने देखिन्छ । यसका अलावा कृषि, जलस्रोत, पर्यटन तथा समग्र विकासमा दुई देशको सहकार्यले ठुलो भूमिका खेल्न सक्छ । समग्रमा भूगोल, वातावरण, खानपान शैली सबै कुरा मिल्ने भएकाले पनि भारत नेपालबिचको अर्थराजनैतिक सम्बन्ध सबल रूपमै अगाडि बढिरहेको छ । अझै बढ्ने नै छ । 

सम्बन्धको सेतु नेपाल भारत मैत्री समाज 

नेपाल भारतबिचको सम्बन्धलाई अझै प्रगाढ बनाउने हेतुले हामीले सन् २००१ मा नेपाल भारत मैत्री समाज गठन गरेका छौँ । विविध क्षेत्रमा  स्थापना कालदेखि नै समाजले आपसी भाइचार विस्तार गर्ने कार्यमा संलग्न रहँदै आएको छ । शिक्षा, स्वास्थ्य, धार्मिक, साँस्कृतिक, खेलकुद, समाजिक विकासका विभिन्न आयाममा समाजले सक्दो भूमिका निर्वाह गर्दै आएको छ । नेपाल भारतबिच धार्मिक पर्यटनको सम्भावना निकै नै छ ।

म आफै नेपालमा लामो समयदेखि बस्दै आएको र नेपालको विकासमा सहयोग गर्न चाहने भएकाले व्यक्तिगत र संस्थागत रूपमा खासगरी धार्मिक पर्यटन विकासमा संलग्न हुन पाउँदा खुसी लाग्छ । हाम्रै पशुपतिनाथमा सन्ध्या बागमती आरतीको सुरुवात गर्ने अवसर पाएका थियौँ ।

आज हरेक दिन आरती एक पर्व सहर धार्मिक आस्थाको केन्द्रको रूपमा विकास भएको छ । हामीले भारतीय धर्मावलम्बीलाई नेपालका पशुपतिनाथ, मुक्तिनाथ लगायत तीर्थस्थल आउने वातावरण बनाउन भूमिका खेल्ने अवसर पनि पायौँ । नेपालबाट चार धाम घुम्न चाहने पर्यटकलाई सहजीकरण गर्नेदेखि धार्मिक पर्यटकलाई आइपर्ने समस्या समाधानमा पनि सहजीकरण गर्दै आएका छौँ ।

अयोध्याबाट नेपाल भारतमैत्री सम्बन्धको सुरुवात भएपछि जनकपुरमा भारतीय पर्यटकहरू बढ्न थालेका छन् । भारतबाट प्रत्येक वर्ष रामको जन्ती आउने गर्छन् । यी कार्यमा समाजको भूमिका उच्च छ । भारतमा पवित्र गंगा बहन्छन्, नेपालका नदीहरू तिनै गंगामा गएर मिसिन्छन् । यो तहको प्राकृतिक सम्बन्ध छ दुई देशबिच । प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण आउँदा काठमाडौँ, काँसी विश्वनाथ, अयोध्या, जनकपुर, लुम्बिनी, बोधगया क्षेत्रलाई प्रथामिकता दिने विषयमा पनि कार्यहरू भएका छन् । यसबाट लाभ लिन नेपाल सरकारले थप भूमिका खेल्नुपर्छ जस्तो लाग्छ । 

भूकम्पको समयमा समाजले खाद्य सामग्री, अस्थायी बसोबास तथा लत्ताकपडा आपूर्ति गर्न सक्रिय भूमिका खेल्न सकेको थियो ।हाम्रो एउटा शाखा बेलियमा छ । अर्को भारतको सिमानामा पनि खोलिएको छ । यदि कुनै व्यावसायीलाई सामान आयात गर्दा समस्या भयो भने हामीलाई सम्पर्क गर्न पनि भनिएको छ, हामीले सहजीकरण गरेका छौँ । कोरोनाको बेलामा पनि मानिसहरूलाई आफ्नो घर पठाउने काम गर्‍यो कुनै पनि शुल्क नलिई ।

खानाको व्यवस्था मिलाउनेदेखि उद्योगहरूमा बेरोजगारी नागरिकलाई रोजगार दिने काममा सहजीकरण पनि समाजबाट गरिँदै आएको छ । समाजबाट विभिन्न संस्थामा महिलाहरूलाई उद्यमी बनाउनदेखि खेदकुदको विकाससम्ममा सहयोग गर्दै आएका छौँ । सानातिना सहयोग समाज आफैले र ठुला सहयोगहरू भारतको राजदूतावाससँगको सहकार्यमा गर्दै आएका छौँ । मात्र हाम्रो मनसाय सफा हुनपर्छ, एकर्काको विकासको लागि दुबै देशले भूमिका खेल्न सक्छन् । हामी सधैँ यस्तो भूमिकामा रहन खुशी नै मान्छौँ ।

बदलिएको परिस्थिति र भविष्यको बाटो 

नेपाल भारतको व्यापारिक सम्बन्ध निकै पुरानो छ । दशकौँदेखि नेपालीहरू निकै सोझा र स्वाभिमानी मानिँदै आएका छन् । पहिले पहिले व्यापारमा थप इमानदारिता थियो । कसैले कसैलाई व्यापारमा ठग्ने काम गर्ने चलन थिएन । यहाँको मान्छेहरूले आफूले बनाएका हस्तकलाहरू बेच्ने गर्थे भारतमा तर यो कोभिडपछि त्यो काम ५० प्रतिशतले छाडेको अवस्था छ । त्यो बेला यहाँका महिलाहरूले हातले बनाएका केही कपडाहरू बेच्ने गर्थे र उनीहरूले आफैँमा आत्मनिर्भर रहेको अवस्था थियो ।

त्यतिबेलाको संस्कृतिभन्दा अहिलेको संस्कृतिमा केही विकृति मौलाएको गुनासा पनि छन् । गाउँ क्षेत्रमा त यो छैन तर बजार क्षेत्रमा विकृति बढ्न थालेको जस्तो भान हुन्छ । पहिला यहाँबाट भारत पढ्नको लागि भनेर जाने गर्थे । अहिले त्यो अवस्था छैन । अहिले अमेरिकादेखि अन्य युरोपियन देशहरूमा जाने गर्छन् र त्यै देशको नागरिक भएर आउने गर्छन् । भारतमा त्यो अवस्था थिएन, उनीहरूलाई उल्टै संस्कार सिकाएर राम्रो ज्ञान लिएर आउने र दुबै देशबिचको सम्बन्ध बलियो बनाउन भूमिका खेल्ने गरिन्थ्यो ।

नेपालका प्रधानमन्त्रीको पछिल्लो भारत भ्रमण सफल भएको छ । यसले पनि देखिएका केही असमझदारी हटाउँदै दुई देशबिचको भाइचारा प्रवद्र्धनमा योगदान गर्न सक्छ भन्ने हाम्रो बुझाइ छ । कूटनैतिक सम्बन्धमा एकै पटक सबै समस्या समाधान नहुन सक्छ । यस्ता भ्रमणले सम्बन्ध सुधारका लागि भूमिका खेल्नेछन् । यस पटक प्रधानमन्त्रीको भारत भ्रमण पनि परम्परको निरन्तरतासँगै आपसी सम्बन्ध विस्तारको कडीको रूपमा लिन सकिन्छ । यद्यपी कूटनीतिक विषयहरू बाहिर मिडियामा हल्ला फिँजाउने विषय नभई निरन्तर दुई पक्षबिच सुझबुझका साथ संवाद गर्दै समाधानतर्फ उन्मुख हुने विषय हुन् भन्नेमा दुबै देशका अधिकारीहरू चनाखो रहनुपर्छ । 

समग्रमा, नेपाल भारतको सम्बन्ध अटुट छ । यो मिट्नेवाला पनि छैन तर यसमा भएका केही कुरालाई परिवर्तन भने अवश्य गर्न पर्छ । खास कुरा आर्र्थिकदेखि अन्य कुरामा केही परिवर्तन त गर्नु नै पर्छ । विश्वासको वातवरणको सिर्जना गर्नु पर्छ । दुई देशबिचको केही असमझदारी आउँछ भने हटाउनु पर्छ । खास कुरा राजनीतिक अस्थिरताको कारण पनि केही कुरामा नराम्रो प्रभाव परेको हुन सक्छ, त्यसको विचार गर्नुपर्छ ।

त्यस्तै नेपाली नागरिकले पनि यस विषयलाई हेर्नुपर्छ । नेपाल भारतबिचको सुमधुर सम्बन्धका आयामका विषयमा दुबै देशका युवा पिँढीलाई सुसूचित गराउँदै सम्बन्ध सेतुलाई बलियो बनाउन युवाहरूको संलग्नता बढाउन पनि उत्तिकै जरुरी छ । म र मजस्ता धेरै वर्ष नेपालमा बसेर यहाँ भिजेका व्यक्ति तथा नेपाल भारत मैत्री समाजदेखि अन्य दर्जनौँ यस्ता संस्थाहरू पनि छन् । दुबै देशमा दूतावास छन् । सबैले आआफ्नो ठाउँबाट भूमिका खेलेर दुई देशबिचको पौराणिक र मजबुद सम्बन्धलाई  थप राम्रो बनाउन योगदान गर्नु पर्दछ ।

पिडिएफ पढ्नका लागिः

(टक्सार म्यागजिन, २०८० असार अंक, पृष्ठ ४५ देखि ४७ सम्म)

(लेखक नेपाल भारत मैत्री समाजका संस्थापक अध्यक्ष हुन् । विश्व हिन्दू महासंघ लगायत दर्जनभन्दा बढी संघसंस्थाका महत्वपूर्ण पदमा रहेर निरन्तर समाजसेवाको क्षेत्रमा समर्पितत रहँदै आइरहेका छन् ।)