‘नो लेग, नो लिमिट्स’


रोल्पाको मिरुलदेखि बेलायती सेनाको जागिर हुँदै सगरमाथा आरोहणको विश्व रेकर्डसम्म आत्मबलले डोर्‍याइएका हरि बुढाको ‘अदम्य साहस’ विश्व समुदायको लागि प्रेरणाको विषय बनेको छ । 

टक्सार- 

रोल्पाका हरि बुढामगरको घर रोल्पाको मिरुलबाट रुकुमको लिस्ने हिमाल देखिन्छ अलिमाथि डाँडामा उक्लियो भने धौलागिरीसहितका हिमश्रृङ्ला । सानैमा उनको मनमा बसेको थियो, ती दुई हिमालको उचाई । पढ्दै जाँदा उनले थाहा पाए विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथा हो । उनी अहिले सम्झन्छन्,“मनमा मलाई त्यतिबेलै समगमाथा चढ्न पाए भन्ने लागेको थियो ।” हरिले एउटा मान्यता बनाएका छन्,‘लक्ष्य नै सबैभन्दा सर्वोच्च शिखर हो ।’ उनी पटक पटक दोहोर्‍याँउछन्,“जीवनमा सबैको सगरमाथा हुन्छ । कसैलाई धेरै पैसा कमाउने, कसैलाई मान प्रतिष्ठा कमाउने, कसैलाई सुन्दर उत्कृष्ट जीवन बिताउने । यो सबैको आआफ्नो सगरमाथा हो ।” 

सिस्ने हिमाल, धौलागिरी हिमाल बिर्सेर उनी आफ्नो जीवनको ‘सगरमाथा’ चढे अर्थात् १९ वर्षको उमेरमा बेलायती सेनामा भर्ति भए । रोल्पाको विकट गाउँबाट यात्रा थालेर बेलायती सेना बन्नु तत्कालीन समयमा उनका लागि ‘जीवनको सगरमाथाको सफल आरोहण’ थियो । उनी ‘चुचुरो’मै थिए । रोल्पामा माओवादी जनयुद्धको बिचबाट निस्केर बेलायती सेना बनेका हरि तेस्रो मुलुकमा युद्ध लड्न गए । सन् २०१० मा तालिवानी विद्रोहीले थापेको एम्बुसमा परे । साथीहरूसँगै लाइनमा १० औँ नम्बरमा रहेका उनले एम्बुसमा परेको दिन सम्झन्छन्, “हिँड्दाहिँड्दै ड्याम्म आवाज आयो अनि सब खतम।”

हरि आफ्नो चुचुरोबाट कल्पना गर्न नसक्ने जीवनको खाल्डोमा मात्रै परेनन् जीवन त्याग्ने प्रयाससम्म पुगे । उनले आफ्नो सफलता सबै बारुदको धुँवासँग उडेको सम्झे । खुट्टाभन्दा माथिबाट घुँडा गुमाएका हरिले उपचारपछि झण्डै डेढ वर्ष निराशामा विताए । निराशामा एकाएक नाटकीय परिवर्तन गर्न सफल भए र लागे साहसिक खेलको यात्रामा। 

साहसिक खेलले जीवन बदलिँदै गर्दा फेरि सम्झिए आफ्नै गाउँ मिरुल, मिरुलबाट देखिने लिस्ने हिमाल, धौलागिरीको चुचुरो अनि समगरमाथाको चुचुरो । सपना बोकेर गएको लाहुर अब नेपाल आउँदा सपना बोकेर आउन थाल्यो । उनी भन्छन्,“अब बल्ल जीवनको सगरमाथाबाट वास्तविक सगरमाथा चढ्ने निर्णय गरेँ ।”

सन् २०१८ मै सगरमाथा चढ्ने योजना थियो । सगरमाथा चढ्नुअघि उनले फेरि अर्को लडाइँ लड्नु पर्‍यो अर्थात दुवै आँखा नदेख्ने, दुवै खुट्टा नहुने र दुवै हात नभएका व्यक्तिलाई ६ हजार ५ सय मिटरभन्दा माथिका हिमाल आरोहण गर्न कानुनले बन्देज गरेको थियो । उनले सर्वोच्च अदालतमा मुद्दा लडे अनि जिते अनि खुल्यो वास्तविक सगरमाथाको आरोहणको बाटो । सगरमाथा आरोहणपूर्व नै उनले विभिन्न कीर्तिमान बनाइसकेका थिए । सगरमाथा चढ्नुअघि हरिले माउन्ट ब्लोंक (४,८१० मिटर), किलिमन्जारो (५,८९५ मिटर), चुलु फार वेस्ट (६,०५९ मिटर) र मेरा पिक (६,४७६ मिटर)को सफल आरोहण गरिसकेका थिए । मेरा पिक त दोहार्‍याएर आरोहण गरे । 

२०८० जेठ ५ गते दिउँसो ३ बजे वास्तविक रूपमा सगरमाथाको सफल आरोहण गरे र उत्साहपूर्वक उनको मुखबाट निस्कियो– ‘एस वी डिड इट’। सगरमाथाभन्दा उचोँ उनको आत्मबलको आवाज थियो, त्यो ।

सगरमाथाको सफल आरोहणबाट फर्केपछि काठमाडौँको आन्तरिक विमानस्थलमा संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँती आफै उपस्थित भएर हरिको स्वागत गरे । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख, पर्यटन राज्यमन्त्री लगायत सबैले भेटेरे बधाई दिए; सम्मान गरे । विभिन्न संघसंस्थाले सम्मान गरे । सबैले भने, ‘अविश्वसनीय सफलता, सबैका लागि प्रेरणाको स्रोत ।’ हरिले सगरमाथा मात्रै चढेनन् धेरैका लागि जीवनको सगरमाथा चढ्ने प्रेरणाको स्रोत बने ।

उनी भन्छन्, “मैले रेकर्ड राख्ने सोख पुरा गर्न सगरमाथा चढेको हैन, मैले सगरमाथा चढेर म जस्तो घुँडाभन्दा माथिबाट दुवै खुट्टा नभएको मान्छे त सगरमाथा चढ्न सकेँ भने म जस्ता अपाङ्गता भएका धेरै व्यक्तिमा हामीले इच्छाशक्ति भएमा जे पनि गर्न सक्छौँ भन्ने मनोबल बढाउनु मेरो मुख्य उद्देश्य हो ।” सगरमाथा चढिरहँदा उनले अपाङ्गता भएका व्यक्तिको समस्यादेखि, हिमालमा ठुला ठुला हिउँका ढिक्का पग्लिँदै गरेको देखे अनि विश्वको अशान्तिको चपेटमा आफू परेको सम्झे । 

जीवनको सबै गतिको संश्लेषण गरेपछि अब हरिले आफ्नो जीवनको लक्ष्य बनाएका छन्—अपाङ्गता क्षेत्र, जलवायु परिवर्तन र विश्व शान्तिका क्षेत्रका जागरण ल्याउन क्रियाशील हुने । उनको नारा नै छ, ‘नो लेग, नो लिमिट्’ ।

सगरमाथा आरोहरणका लागि हरिलाई बेलायतमा रहेका गोर्खा समुदायदेखि विभिन्न कम्पनी र व्यक्तिगत तथा संस्थागत तवरमा प्राप्त सहयोगको उनी उल्लेख गर्न भुल्दैनन् । भन्छन्– “साहस तपाईंले गर्ने हो तर त्यो साहसलाई साथ र उत्प्रेरणा पनि उत्तिकै चाहिन्छ ।”

पिडिएफ पढ्नका लागिः

(टक्सार म्यागजिन, वर्ष २ अङ्क ३, पृष्ठ ५९ देखि ६० सम्म)