समाचार प्रभाव: सदस्यको खाताबाट रकम काट्ने योजनाबाट पछि हट्यो एनएमसी


मेचीनगर । सदस्यको खाताबाट बिना जानकारी रकम कटौती गरी राहत कोष अर्थात सदस्य कल्याणकारी योजना स्थापना गर्ने योजनाबाट नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) पछि हटेको छ ।

यसअघि टक्सारन्युजले एनएमसीले पूर्वसूचना नै नदिई ग्राहकको खाताबाट रकम कटौती गरेको समाचार प्रकाशन गरेको थियो ।

यसअघि आफ्ना ग्राहकको खाताबाट रकम घटबढ हुँदा ग्राहकको मोबाइलमा म्यासेज पठाउने गरेको उक्त सहकारीले यसपटक भने आफ्ना ग्राहकलाई जानकारी नै नदिइ खाताबाट रकम काटिएको पाइएको हो।

मंगलबार बसेको संस्थाको आकस्मिक वैठकले यस्तो निर्णय गरेको संस्थाका अध्यक्ष ठाकुर शिवाकोटीले जानकारी दिए । सदस्य कल्याणकारी योजना अन्तर्गत बचत खाताबाट सात सय रकम योगदान गराउने निर्णय स्थगन गरिएको उनले बताए।

साथै सदस्यबाट योगदान गरिएको रकम सोहि खातामा फिर्ता गरिने समेत उनले जानकारी दिएका छन् ।

यसअघि बिना सुचना एनएमसीले ८० हजार ग्राहकको खाताबाट ७०० का दरले रकम काटेपछि व्यापक विरोध तथा आलोचना भएको थियो ।