‘नेप्से ३०’ को कार्यविधि परामर्शको लागि धितोपत्र बोर्डमा



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ इन्डेक्स ‘नेप्से ३०’ को तयारी पूरा भएको बताएको छ ।

नेप्सेले ‘नेप्से ३०’ को सम्पूर्ण तयारी पूरा गरेर परार्मशको लागि कार्यविधि नेपाल धितोपत्र बोर्डमा पठाएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए ।
कार्यविधिमा विभिन्न किसिमका सूचांकको परिकल्पना गरेका गरिएको छ ।

प्रवक्ता पराजुलीले भने “त्यसको डिजाइन कसरी हुन्छ ? व्यवस्थापन कसरी हुन्छ ? समितिमा को को रहन्छन् ? समितिको काम कर्तव्य अधिकार के हो भन्ने उल्लेख हुन्छ ।”
‘नेप्से–३०’ सञ्चालनसम्बन्धी कार्यविधि यसअघि नै नेप्से सञ्चालक समितिले अनुमोदन गरिसकेको छ ।

कानुनमा स्ष्पष्ट रूपमा धितोपत्र बोर्डबाट अनुमति लिनुपर्ने भन्ने उल्लेख नभए पनि नेप्सेको सञ्चालक समितिले नियामकको हैसियतमा परामर्श लिने निर्णय गरेको हो ।

प्रवक्ता पराजुलीले भने “कार्यविधिमा सेबोनबाट परामर्श लिने काम सामान्य प्रक्रियामात्र हो, सेबोनले स्वीकृत गर्नुपर्छ वा स्वीकृति लिनुपर्छ भन्ने छैन ।”

नेप्सेले पठाएको उक्त कार्यविधि धितोपत्र बोर्डले केही संशाेधन गर्न सुझाव दिएमा समय लाग्ने अन्यथा छिट्टै सञ्चालनमा आउने प्रवक्ता पराजुलीको भनाइ छ ।

सूचीकृत कम्पनीहरूको कारोबारलाई मात्रै व्यवस्थापन गर्दै आइरहेको नेप्सेले पहिलो पटक ‘नेप्से–३०’ इन्डेक्सको अभ्यास सुरु गर्ने भएको हो ।

उक्त इन्डेक्सबाट धितोपत्र दोस्रो बजारमा नयाँ आयाम थपिने र लगानीकर्तालाई भविष्यमा कारोबारयोग्य उपकरण प्राप्त हुने अपेक्षा नेप्सेले गरेको छ ।

बजारमा तत्काल कारोबारयोग्य (फ्री फ्लोट) सेयरलाई समावेश गरी बजार पुँजीकरणमा आधारित (भ्यालु वेटेड) सूचकाङ्कको रूपमा नेप्से–३० इन्डेक्स तर्जुमा हुने छ ।

प्रवक्ता पराजुलीका अनुसार यो सूचकाङ्कले बजार कारोबार तथा उतार–चढावलाई प्रतिविम्बित गर्नुका साथै डेरिभेटिभ प्रकृतिको निश्चित अवधिको कारोबार उपकरण सञ्चालन, पोर्टफोलियो व्यवस्थापन, एक्सचेन्ज ट्रेडेड फन्ड सञ्चालनलगायतमा सघाउ पुग्ने छ ।

के हो नेप्से–३० ?
नेप्से –३० फ्रि फ्लोट विधिबाट नेप्सेको समग्र बजारलाई प्रतिनिधित्व गर्ने प्रमुख सूचक हो । यो सूचकांकमा नेप्सले दोस्रो बजारमा कारोबारमा रहेका कम्पनीमध्येबाट निश्चित मापदण्ड बनाएर छनौट गरेका प्रमुख ३० कम्पनीलाई स्थान दिइने प्रवक्ता पराजुली बताउँछन् ।
उनका अनुसार सबै साधारण सेयरमध्येबाट कारोबार गर्न तथा राफसाफ गर्न योग्य सेयरलाई सो कम्पनीको सेयर कारोबार मूल्यले गुणन गरी आउने बजार पुँजीकरणमा आधारित रहेर यो सूचकांक गणना हुने गर्छ ।