चिया अर्थतन्त्र र कूटनीति


नेपालमा वार्षिक ७ देखि ८ अर्ब रुपैयाँको चिया उत्पादन र कारोबार हुँदा यसलाई थप व्यवस्थित गर्न सके यो बजार दोब्बर हुनसक्छ । यसका लागि वैकल्पिक निर्यात बजार खोज्नु जरुरी छ ।

डा. दीपक खनाल

राजा वीरेन्द्रले सन् १९८२ मा पूर्वी नेपालका पाँच ओटा जिल्लालाई चिया क्षेत्र घोषणा गरेका थिए । आजसम्म पनि चियाको मुख्य व्यावसायिक क्षेत्र तिनै जिल्लाहरू रहे पनि देशका अन्य जिल्लाहरू समेत चिया रोपणमा थपिएर लगभग यो संख्या तीस हुन पुगेको छ । झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुम हुँदै आज मधेश प्रदेशबाहेकका अन्य प्रदेशहरूमा कुनै न कुनै रूपमा चिया रोपण भएको पाइन्छ ।

पछिल्लो तथ्यांकलाई हेर्ने हो भने देशभरि जम्मा २० लाख २३७ हेक्टर क्षेत्रफलमा चिया खेती भएको पाइन्छ । जहाँ १५ हजार १९७ साना किसान र ८५ वटा चिया सहकारीहरू हरियो चिया पत्ति उत्पादनमा प्रत्यक्ष संलग्न छन् भने व्यावसायिक प्रकृतिका १६३ वटा ठुला टी–गार्डेन र १६१ वटा चिया प्रशोधन कारखानाहरू नेपालको चिया व्यावसायमा योगदानरत छन् । पूर्वी जिल्लाहरु झापा, इलाम लगायतमा संलग्नताका दृष्टिकोणले लगभग ६० हजार श्रमिकहरू चिया उत्पादनमा प्रत्यक्ष रूपले कार्यरत छन् ।

यसरी किसान, श्रमिक, सहकारी, प्रशोधक, उत्पादक लगायत चिया क्षेत्रमा कार्यरत विभिन्न व्यावसायिक संघ संगठन, निजी क्षेत्र र सरकारी प्रयासको परिणाम स्वरूप हाल नेपाली माटोले २६ हजार ३८० मेट्रिक टन चिया उत्पादन गरिरहेको तथ्य हाम्रा सामु छ । उत्पादित कुल मात्राको ४९ प्रतिशत (१२४९४ टन) चिया भारत लगायत विश्वका अन्य मुलुकहरूमा निर्यात भइरहेको छ । भर्खरै सार्वजनिक तथ्यांकअनुसार लगभग साढे ३ अर्ब रुपैयाँ बराबरको निर्यात हुँदा ८ करोड मात्रको आयात हुनुले विगतका वर्षको भन्दा मात्रात्मक र मुद्रात्मक दुवै आधारमा सुधारात्मक नै रहेको छ ।

 चिया अर्थतन्त्र

नेपालीहरूले आफ्नो उत्पादनको लगभग १३८८६ मेट्रिक टन चिया घरेलु उपभोगमा खर्च भएको देखिन्छ । सीटीसी र अर्थोडक्स चियाको सालाखाला आन्तरिक बजार मूल्य प्रतिकेजी रू.४०० मानी विश्लेषण गर्दा हामीले खाने चियाको मूल्य रू.४ अर्बभन्दा माथि हुने देखिन्छ । यसरी हेर्दा नेपालमा उत्पादित चियाको कुल कारोबार मूल्य वर्तमान अवस्थामा ८ अर्बभन्दा बढी रुपैयाँसम्म भएको पुष्टि हुन आउँछ ।

 हाल भइरहेको कुल निर्यात परिमाणको ९० प्रतिशतभन्दा बढी नेपाली चिया भारतीय बजारमा एकछत्र रूपले निकासी भएको देखिन्छ । एउटा तथ्याङ्कले के देखाउँछ भने भारतीय बजारमा बिक्री भएरहेको नेपाली चियाले सालाखाला रू.५६० प्रतिकेजी मूल्य पाइरहेको छ, जुन हामीले नेपाली बजारमा आन्तरिक रूपमा कारोबार भइरहेको न्यूनतम मूल्यभन्दा निर्यात बजारका दृष्टिकोणले त्यति धेरै होइन । वैकल्पिक बजार खोज्न सक्दा अहिले भइरहेको निर्यात परिमाणबाट नै लगभग दुगुनाभन्दा बढी मुद्रा आर्जन गर्न सकिने कुरा एक अध्ययनले देखाउँछ ।

विगत केही वर्षयता नेपाली चिया व्यपारीले भारतीय नाकामा पाइरहेको अनावश्यक सास्ती र झन्झटले पनि नयाँ बजारको खोजीलाई थप बल पु¥याउँदै आएको छ । नेपाली चियाले भारतमा पाउने मूल्य रू.५६० प्रतिकेजीभन्दा युरोपियन युनियन र अमेरिकामा पाउने मूल्य रू.९७२ लगभग दुईगुणा बढी छ भने चिनिया बजारमा पाउने मूल्य रू.३५०० लगभग छ गुणा बढी छ । 

हामीले विश्वका सबै देशहरूमा नेपाली चियाको प्रचार, पहिचान र निर्यात व्यपार गर्नु त छँदैछ तर प्रस्तुत दृष्यले निर्यात व्यापारका लागि मूल्य लगायत अन्य सबै पक्षहरूलाई मूल्यांकन गर्दा चीन नै उपयुक्त बजार हुन सक्ने अवस्था देखिन्छ । अझ रोचक पक्ष त के छ भने चिनियाँ बजारमा प्रतिकेजी रू.३५०० मूल्यमा बिक्री भइरहेको नेपाली चियाले प्रतिकेजी रू.९००० सम्म मूल्य पाउने अध्ययन समेत देखिन्छ ।

किनकि, हाम्रै वर्गको चिनिया चिया उनीहरूको बजारमा नेपाली रुपैयाँ लगभग प्रतिकेजी १९ हजार रुपैयाँमा कारोबार हुने चीनका एक जना चिया विज्ञले आफूले प्रकाशित गरेको चिया सम्बन्धि सेन्सरी एनालिसिस रिपोर्टमा उल्लेख गरेका छन् । उक्त रिपोर्टमा नेपालको ‘गोल्डेन टिप्स’ र चीनको ‘ताङयाङ गोङफू’ चियालाई समान गुणस्तरको रहेको समेत देखाइएको छ ।

नेपालका चिया व्यावसायीले गुणस्तर वृद्धि गर्दै क्रमशः रोपण क्षेत्र र उत्पादनको परिमाण पनि बढाउँदै लैजानु पर्छ । उत्पादन बढेपछि मात्र निर्यातवृद्धिको आधार तयार हुन्छ । वर्तमानकै निर्यात मात्रालाई पनि चीन लगायतका बढी मूल्य तिर्ने बजारहरूमा पु¥याउन सके चियामार्फत हुने निर्यातजन्य अर्थतन्त्र सवल हुनेछ । अझ निर्यात मात्रा पनि सँगसँगै बढाउँदै लग्न सके नेपाली चिया क्षेत्र समग्र अर्थतन्त्रकै बलियो मियो बन्न सक्छ । 

उत्तरी छिमेकी राष्ट्र चीनसँगको नेपाली चिया व्यापारको वृहत्तर सम्भावनालाई केलाउँदा भर्खरै सम्पन्न विश्व चिया गुणस्तर प्रतिस्पर्धा र नेपाली चियाले प्राप्त गरेको उपलब्धिको सम्भावनालाई समेत उल्लेख गर्नु वाञ्छनीय हुन्छ । सन् २०२२ सेप्टेम्बरमा चीनमा भएको विश्व चिया प्रतिस्पर्धामा नेपाली चियाले छ वटा स्वर्ण पदक र ४ वटा कास्य पदक प्राप्त गरेको छ ।

यसका अतिरिक्त अप्रिल २७ देखि २९, २०२३ सम्म भर्खरै सम्पन्न चौथो अन्तर्राष्ट्रिय चिया महोत्सवमा नेपालको निमन्त्रणालाई स्वागत गर्दै चीनबाट उल्लेख्य संख्यामा चिया व्यापारीहरूको उपस्थिति हुनुलाई पनि सकरात्मक रूपमा लिनुपर्दछ ।

गुणस्तरकै दृष्टिकोणले पनि नेपालको इलाम लगायतका पूर्वी भेगको चियासँग प्रतिस्पर्धा गर्न दार्जिलिङ टीलाई सकस भइरहेको छ । आफू कमजोर बनिरहेको अवस्थामा नेपाली चियालाई विभिन्न तवरले दोषारोपण गरिरहने भारतको चिया क्षेत्रले नेपाली चियालाई अपेक्षाअनुसार मूल्य पनि दिइरहेको छैन ।

व्यावसायिक समृद्धि

१. चिया रोपण क्षेत्रको विस्तार गर्दै उत्पादकत्व वृद्धि सम्बन्धि अनुसन्धानका कार्यहरू गर्नुपर्छ । इतिहासमा जहाँ र जुन ठाउँबाट चियाका विउ विरूवा ल्याएर रोपण प्रारम्भ गरियो आजसम्म पनि त्यही क्लोन र ओरिजिनमा सीमित रहिरहनु दुःखद पक्ष हो । अनुसन्धानमार्फत नयाँ क्लोन जन्माउन सक्यौँ भने उत्पादकत्व वृद्धि गर्दै चियाको समग्र उत्पादन बढाउन सकिन्छ । यसले निर्यात मात्रा र कुल चिया कारोबार बढाउँछ ।

२. छिमेकी राष्ट्र भारतबाट पटक पटक नेपाली चियाको गुणस्तरका बारेमा प्रश्नहरू उठाउने गरिएको पाइन्छ । गुणस्तरमा हामी अब्बल छौँ भन्दाभन्दै र त्यसका प्रामाणिक आधारहरू प्राप्त भइरहँदा पनि अझै गुणस्तर सुधारमा धेरै काम गर्न बाँकी छ । निर्यातका दृष्टिकोणले गुणस्तरको मापन क्रेता स्वयंले पनि गर्ने हुँदा उनीहरूको मागलाई सम्बोधन गर्न मुखले मात्र ठिक छ भनेर हुँदैन गुणस्तरीय उत्पादनको कर्ममा प्रतिबद्ध हुनुपर्दछ ।

३. व्यावसायिक लगानी, मूल्य, गुणस्तर, आय लगायतमा पारदर्शिता ल्याउन र साझेदारहरू बिच आपसी न्याय वितरण गर्न चिया व्यपारलाई ‘अक्सन प्रणाली’ मा लैजानु पर्दछ । अक्सन प्रणालीले नेपाली चियालाई विश्व बजारसम्म पु¥याउने, गुणस्तर मापनको कसीको रूपमा काम गर्ने र प्रतिस्पर्धी मूल्यमा चिया बिक्री गर्न सक्ने अवसर प्रदान गर्दछ ।

४. विश्व नै अर्गानिक अभियानमा अगाडि बढिरहेका बेला हाम्रा उत्पादनहरू पनि सोही मार्ग अनुकूल हुनुपर्दछ । नेपाली चियाले पनि आफ्नो उत्पादनको कम्तिमा ५ देखि १० प्रतिशतसम्म प्रतिवर्ष अर्गानिक रूपान्तरण गर्दै लानु पर्दछ । अर्गानिक चिया जनस्वास्थ्य र निर्यातव्यापारसँग सरोकार राख्ने विषयहरू हुन् ।

५. सरकारले सन् २०१८ मा निर्देशिका मार्फत कार्यान्वयनमा ल्याएको अर्थोडक्स चियाको कलेक्टिभ ट्रेडमार्क ‘नेपाल टी, क्वालिटी फ्रम दि हिमालयज’ को संख्यात्मक वृद्धि गर्दै, गुणस्तर मापनको व्यावहारिक सूत्रका रूपमा स्थापित गर्नुपर्दछ । राज्यले यसलाई निर्यात व्यापार सम्बन्धमा गुणस्तरको न्यूनतम आधार मान्दै कार्यान्वयनकर्ताहरूलाई विशेष प्रोत्साहन गर्नुपर्दछ । 

६. चियाको प्रशोधन सम्बन्धमा नयाँ प्रविधि भिœयाउनु जरुरी छ । प्रशोधन प्रविधिका कारणले पनि गुणस्तरलाई प्रभाव पारेको हुन्छ । हाम्रो तथ्यांकमा भएको रू.८ करोडभन्दा बढी रकम बराबरको चिया आयात हाम्रो प्रशोधन प्रविधिको कमशलताले पनि भएको देखिन्छ । तŒवजन्य गुणस्तर उच्च रहँदा रहँदै पनि नेपालकै चिया पारखीहरूले आफ्नो उत्पादन उपभोग नगरी उच्च प्रशोधन प्रविधिमार्फत बनेका आयातित चिया किनेर खाने गरेका छन् ।

७. गुणस्तरीय उत्पादनको प्रचार गर्न आकर्षक आवरणको आवश्यकता पर्दछ । क्रेताहरूको पहिलो नजर ‘प्याकिङ सुन्दरता’ मा पर्ने भएकाले उत्पादकको आफ्नो ब्राण्डका साथै राष्ट्रकै पहिचान खुल्ने विश्वव्यापी प्याकिङ मान्यता मुताबिक नेपाली चिया बजारमा प्रस्तुत गर्नु पर्दछ ।

८. आन्तरिक बजारमा सम्पूर्ण जनसंख्या सम्म आफ्नै उत्पादन पु¥याउन सकिएको छैन । एउटा नेपालीले वर्षमा सरदर ४७८ ग्राम चिया पिउँछ, जुन लगभग दैनिक २.५ कप हुन आउँछ । तर पूर्वी नेपाल केन्द्रित हाम्रो स्वउत्पादन हाम्रै देशका अन्य भूगोलका जनतालाई न थाहा छ, न त उपभोग नै गरिरहेका छन् । यसको मतलब जनसंख्याको कुनै वर्ग सरदर प्रतिव्यक्ति चिया उपभोगको मात्राभन्दा धेरै बढी पिउँछन् त कुनै वर्ग शून्य उपयोगमा पनि छन् । आवश्यक प्रचारप्रसार र चेतना अभिवृद्धि मार्फत यो असमान उपभोगको ढाँचालाई सन्तुलन गर्नुपर्दछ ।

९. निर्यात बजारलाई विश्वका विभिन्न मुलुकसम्म पु¥याउन चिया व्यापारका वैकल्पिक ठाउँहरू खोज्नु पर्छ । यसरी विकल्पहरू खोजी गर्दा विशेष अध्ययन गरी तुलनात्मक रूपले बढी फाइदा हुने बजारलाई प्राथमिकतामा राख्नु पर्दछ । 

१०. ‘टी टेस्टिङ ल्याब’को स्थापना गर्नु अर्को अपरिहार्यता हो । हामीलाई त्यस्तो साझा वा चिया विशेष प्रयोगशालाको जरुरी छ, जसले विश्वका मुख्य नेपाली चिया क्रेताहरूको माग र मापदण्डहरूलाई सम्बोधन गर्न सकून् ।

चिया कूटनीति

भारतसँगका हाम्रा कतिपय सन्धि सम्झौताहरू फलदायी र कतिपय हाम्रा लागि व्यावधानकारी पनि छन् । चिया क्षेत्रको सम्वन्धमा भारतको दार्जिलिङ टी विश्व प्रसिद्ध ब्राण्ड नै बनेको छ । तर २०० वर्षभन्दा पुरानो उत्पादन इतिहास बोकेको दार्जिलिङ टी अब ब्राण्डले मात्र टिक्ने अवस्थामा छैन । गुणस्तरकै दृष्टिकोणले पनि नेपालको इलाम लगायतका पूर्वी भेगको चियासँग प्रतिस्पर्धा गर्न दार्जिलिङ टीलाई सकस भइरहेको छ ।

आफू कमजोर बनिरहेको अवस्थामा नेपाली चियालाई विभिन्न तवरले दोषारोपण गरिरहने भारतको चिया क्षेत्रले नेपाली चियालाई अपेक्षाअनुसार मूल्य पनि दिइरहेको छैन । तसर्थ, अहिले भारतसँग भइरहेको कुल निर्यातको अवस्थालाई उल्ट्याएर सोही मात्रा भारत बाहेकका अन्य देशहरूसँग गर्ने अवस्था निर्माण गर्नु नै प्रस्तावित चिया कूटनीतिको मर्म हो । 

निर्यात व्यापारमा मूल्य र मात्रा बस्तुको गुणस्तरले निर्धारण गर्छ । गुणस्तरीय वस्तुको पारदर्शी कारोबार गर्नु व्यापारको न्यूनतम धर्म हो । नेपालले आफ्नो चियालाई उच्च गुणस्तरको छ भनेर व्यापार गरिरहँदा अरूको चियालाई पनि ससम्मान व्यवहार गर्नु पर्दछ । यसले चिया व्यपारमा व्यावसायिक मित्रता स्थापित गर्दछ ।

पारदर्शी र स्वस्थ्य व्यापारिक कारोवारले विश्व चिया बजारसम्म हाम्रो पहुँच स्थापित गर्दछ । यसका लागि अति उत्तम संस्थागत माध्यमको रूपमा विभिन्न मुलुकमा रहेका नेपाली दुतावासहरू, महावाणिज्य दुतावासहरू, गैरआवासीय नेपाली संघ र विभिन्न डायस्पोराहरूले काम गर्नु पर्दछ ।

नियोगहरूले आयोजना गर्ने राष्ट्र पर्व र दिवसहरूमा नेपाली चियाले स्वागत गर्ने, नेपाली चिया उपहार दिने र सम्बन्धित राष्ट्रहरूका उद्योग वाणिज्य संघ र चियासँग संबन्धित संघसंगठनसँग अन्तरक्रिया र छलफल गर्दै अघि बढ्दा क्रेताहरूको चाहना बमोजिमको चिया बिक्री गरी उच्च मूल्य प्राप्त गर्न सकिन्छ ।

(डा. दीपक खनाल राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक हुन्)