यसैसाता त्रिभुवन विमानस्थलबाट भन्सार जाँचपास भइ निस्किएको स्कुटरको ब्रेक सू भनिएको सामग्रीमा हालेर ल्याइएको १०० किलोभन्दा अधिक सुन नै हालसम्म बरामद भएको सबैभन्दा ठूलो परिणामको अवैध सुन बताइरहिएको छ, यद्यपि पञ्चायतकालमै गोर्खा राइफल्सको चार्टर्ड प्लेनमा ल्याइएको १५० किलो सुन समातिएको थियो । पञ्चायतकालमा कसरी हुन्थ्यो सुनको तस्करी? वरिष्ठ पत्रकार तीर्थ कोइरालाले २०४५ सालमा तयार पारेको रिपोर्ट जस्ताको त्यस्तैः
‘नेपाल तस्करका लागि स्वर्ग बनेको छ’ नेपाली र विदेशी पत्रकारहरू वा कैयाैं पटक आफ्नो पत्रिकामा यो वाक्यांश दोहोर्याइ रहन्छन् | अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल भन्सार कार्यालयले वर्षमा थुप्रै चोटि अवैध रूपमा देशभित्र भित्रन थालेको सुन समात्ने गर्छ ।
‘विमानस्थलको बाटोबाट आउने सबै सुन समात्यो भने त तस्करहरूले यो बाटो प्रयोग गर्न छोड्नेछन् । अनि… खत्तम भइहाल्छ।’ एकजना भर्खरै भूतपूर्व बनेका मन्त्रीले बताए ।
‘कसरी ?’ स्वाभाविक जिज्ञासा प्रकट गर्दा उनले ‘पहिले पो जङ्गल मासेर भए पनि जनसंख्या वृद्धिदरलाई भेट्ने गरी आर्थिक सन्तुलन कायम गरिन्थ्यो, अब जङ्गल सकिँदै गएको छ। जनसंख्या नियन्त्रणमा परिवार नियोजन कार्यक्रम प्रभावकारी बन्न सकिरहेको छैन ।
दक्षिणी सीमा खुल्ला भइदिनाले आप्रवास समस्या चर्कदो छ । यस्तो मौकामा तस्करको सुन सरकारले समात्यो र नेपालको बाटोबाट तस्करी भएन भने बर्बाद हुन्छ । यस्तो गरी समात्न थाल्नु त सुनको फुल पार्ने कुरो काटेर एकचोटि धनी बन्ने सपना देख्ने मूर्ख्याई गर्नु जस्तो मात्रै ठहनेछ’ भनी बताए ।
अहिलेसम्म जम्मा सुनन अवैध रूपमा ल्याउने र लैजानेबाट कति समातियो, त्यसका सम्पूर्ण लेखाजोखा यस पंक्तिको लेखकले पाउन सकेन । आव ०४१/०४२ देखि ०४४/०४५ जेठ मसान्तसम्मको विवरण भने प्राप्त गरियो ।
प्राप्त विवरण अनुसार०४१/०४२ कोदेखि ०४४/०४ जेठ मसान्तसम्ममा मात्र एक हजार चार सय किलोग्राममन्दा ज्यादा सुन समाती नेपाल राष्ट्र बैंकमा दाखिला गरिएको छ । यसबाट श्री ५ को सरकारलाई पचास करोड भन्दा ज्यादा रकम प्राप्त भएको छ। उपयुक्त सुन देहाय अनुसार गरी नेपाल राष्ट्रमा जम्मा देखिन्छ ।
आव कि.ग्रा. ग्राम मिलिग्राम
०४१/०४२ ३२९ ८७९ ३०९
०४२/४३ ३७० ५५९ ८६४
०४३/४४ ३५९ ६९१ ८५०
र, चालू आ.व. ०४४/४५ मा त्रिभुवन विमानस्थल भंसार कार्यालयले मात्र नेपाल राष्ट्र बैंकमा दुईसय तीस किलो सातसय बाह्र ग्रामभन्दा ज्यादा सुन जेठ मसान्तसम्ममा बुझाइसकेको छ । माथि उल्लेखित विवरणमा चालू आ.व. बाहेक विगत आर्थिक वर्षहरुमा त्रिभुवन विमानस्थल लगायत काँकडभिट्टा, भैरहवा, जलेश्वर, विराटनगर र तातोपानी भन्सार कार्यालयबाट जफत गरिएको सुनको विवरण समेत राखिएको छ ।
चालू आ.व. ०४४/४५ मा पनि त्रि.वि विमानस्थल भन्सार कार्यालय वाहेक अन्य भन्सार कार्यालयबाट करीब ५० किलोग्राम सुन जफत गरिएको अनुमान गरिन्छ। त्रिभुवन विमानस्थल र नेपाल-चीन सीमा तातोपानी दुई नेपाल भित्र्याउन लागेको सुन समातिन्छ भने अन्य स्थानमासमा सुन भारततर्फ जान लागेको बेला समातिएको पाइन्छ। भन्सार कार्यालयहरूले सुन समातेपछि सुरक्षाको दृष्टिले राख्न सक्नेसम्म जम्मा पारेर एकैचोटि नेपाल राष्ट्र बैंकलाई बुझाउने गर्दछन् । यसै कारण गत चैत्र मसान्तसम्ममा १२५ किलोग्राम सुन समातिएको कुरा प्रकाशमा आए पनि तापनि नेपाल राष्ट्र बैंकमा करीब ८४ किलोग्राम सुन मात्र जम्मा हुन पुगेकी थियो।
कानूनी तवरवाट कति सुन भित्रिन्छ ?
गैरकानूनी ढङ्गबाट नेपालमा आउने सुनको जुन परिमाण कानूनी आउने पनि कम छैन ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालय का अनुसार महीनामा सरदर २५/३० किलोग्राम सुन कानूनी ढंगले नै नेपाल आयात हुने गर्छ । ब्रिटिश गोर्खा लगायत लाहुर जानेहरु विदेशी मुद्रा कम र सुन ज्यादा ल्याउँछन् ।
झिटिगुण्टा नियमअन्तर्गत एक जनाले ३ तोलाभन्दा ज्यादा सुन एकपटकमा ल्याउन पाउँदैन तरविदेशी मुद्रा आर्जन गरेको प्रमाण पेश गर्न सके प्रमाण पेश गरेजति रकम-बाट सुनको पहाड ल्याउन सक्ने रहेछ भने त्यसमा पनि कुनै रोकटोक छैन । तर विदेशी नागरिकले भने यो नियमको सुविधाभित्र रहेर ल्याएको सुन व्यापारिक दृष्टिले ल्याएको कुरामा भन्सार कर्मचारी विश्वस्त भएमा सो समेत जफत गर्न सक्ने स्थिति रहेको बुझियो ।
सुन ल्याउने प्रविधि र भाग्यमानी तस्कर
नेपालमा कानूनी तवरले स्वदेशबाटै विदेशी मुद्रा लिएर गएका तीनतोलाभन्दा ज्यादा सुन आयात गर्न नपाइने जस्ता नियमका कारणले लोग्ने मानिसहरू आफ्नो गुदद्वार र स्वास्नीमानिसहरू मूत्रद्वारमा समेत सुन कोचेर ‘राजामिदास’ बन्ने सपना देख्द हङ्गकङ्ग र बैङ्कककबाट नेपालका लागि ल्याउने गर्छन् । सुन ल्याउने यो प्रविधि अब त पुरानो जस्तै भइसक्यो, त्यसैले साबुन, कफी, बेट्रीको कार्बनरड, क्याटवरीमा मिसाएर र सुटकेशमा गुप्ती खण्ड (फल्स बटन) बनाएर पनि ल्याइसके । यसरी सुन ल्याउनेमा नेपालीहरू धेरै छन् तर उनीहरू धेरै सुन ल्याउनेमा चाहि पर्देनन् । धेरै सुन त विदेशीले ल्याउने गर्छन्।
२०४४ सालमा आएर कोष्टारिकाका राजदूत यस कर्ममा कीर्तिमान कायम राख्न सफल देखिन्छन् । उनले ल्याएको साढे सैंतीस किलो सुन, यो जेठमा समाएको गोरखा राइफल्सको चार्टर्ड प्लेनमा ल्याएको एकसम पचास किलोभन्दा पहिले त्रि०वि० भन्सार कार्यालयमा एकैचोटी समाएको सबैभन्दा धेरै सुन हो।
गोरखा राइफल्स पाएको जहाजमा आएको सुनको सम्बन्धमा अनुसन्धान गर्न गोरखा राइफल्ससंग सम्बधित इन्द्रबहादुर गुरुङ्ग, लोपसाङ लामा र मीनबहादुरलाई अनि लोडरहरू बासुदेव गौतम, विष्णु श्रेष्ठ, कृष्ण थापा, श्याम लामा, कृष्ण पुडासैनीलाई गिरफ्तार गरिएको छ तर गत वर्षसम्ममा कीर्तिमान कायम राख्ने कोष्टारिकन राजदूत महोदयलाई यो झन्झट परेन। उनलाई भाग्यमानी भन्ने ? कि वा अभागी के भन्ने । साढे सैंतीस किलोग्राम सुन गुमाउनु उनको दुर्भाग्य थियो तर सजा माफ पाएर स्वदेश फर्कन पाउनुलाई के भन्ने ? राजदूत महोदय त हङ्गकङ्गको बाटोबाट आएनन् तर नेपाल आउने ७५ प्रतिशत सुन हङ्गकङ्गको फ्लाइटबाट आउने ल्याउने गर्छन् ।
चालू आ.व. ०४४/४५ मा पनि हङ्गकङ्ग पलाइटबाट आएका भारतीय नागरिक वेदप्रकाश कण्डोईले यस वर्षको सबैभन्दा सुन १९५ किलोपछिको ल्याउनेको पंक्तिमा आफूलाई राखे । के गर्नु दशा बाजा बजाएर आउँदैन, उनले ल्याएको ९ किलो ३०० ग्राम सुन विमानस्थल भन्सार कार्यालयले जफत गरेर उनलाई मामाघर पठायो । यसैगरी स्वीडिस नागरिक टोम्यास किसेक पनि नौ किलो सुन एकैचोटि ल्याउने भएर आफू मामाघर पुगे । हाल दुवै जना एक एक वर्ष कैद र विगो बमोजिमको जरिवाना नबुझाए थप चार/चार वर्ष कैद बस्ने गरी जेलमा बसेका छन् ।
यो वर्ष सुन कम भयो त ?
गत आर्थिक वर्ष ०४३/४४ मरिमा जम्मा ५९ वटा मामिलासमातिएकोमा ३५९ किलोग्राम ६९२ ग्रामको तुलनामा चालू आ०व० ०४४/४५ को चैत्र मसान्तसम्ममा ७७ वटा मामिला त्रिभुवन विमानस्थल भन्सार कार्यालयले सल्टाइ सक्दा पनि १०१ किलो सुन फेला पर्नु सुन तस्करीमा आएको अनौठो शिथिलत मानिएको थियो तस्करीमा संलग्न केही त्यस्ता व्यक्ति समातिए जसमा भू. पू. प्रहरी महानिरीक्षक र कर्णेल पनि छन् ।
उनीहरू र उनीहरूका साथमा केही तस्करहरू पनि समातिएको कारण नै यो शिथिलता आएको अनुमान गरिएको थियो। यसका साथै यो वर्ष मामिला बढ्नु तर सुनको परिमाण घट्नुले बाँकी रहेका तस्करले तस्करीको बाटो बदलेका छन् भन्ने आशंका गरिदै थियो, ठीक यसैबला गोरखा राइफल्सको चार्टर्ड गरी ल्याएको विमानमा १९५ किलो सुन फेला परेपछि किलोका किलो मात्र होइन क्विन्टलका क्विन्टल सुन पनि आउँदो रहेछ भनेर अनुसन्धानको अर्को बाटो खुलेको छ ।
सुन समाउने प्रविधि र भन्सारका कर्मचारी
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जे जति सुन समातेको छ यो सबै चारवटा एक्सरे मेशिन र दुईवटा मेटल डिटेक्टरका भरमा नै समाएको हो। त्यसमा पनि दुईवटा एक्सरे मेशिन बिग्रेको धेरै भइसक्यो । सरकार लगायत र अन्य संस्थाहरूका जति पनि कर्मचारी छन् पाएसम्म र पहुँच पुगेसम्म भन्सारमा जान जोड नलगाउने कमै मात्र होला। त्यसमा पनि त्रिभुवन विमानस्थल भन्सार कार्यालय एक नम्बरमा भन्सारमा गनिन्छ । कर्मचारीहरू धेरै काम गरी देश सेवा गर्ने ज्यादा अवसर मिल्ने हुनाले जान्छन् वा अन्य कुनै कारण छन् यो ‘ओपन सेक्रेट’ नै भैसक्यो। जेहोस् त्यहाँ जतिसुकै र जुनसुकै कर्मचारी गए पनि तालीम र क्षमता भएकोभन्दा पहुँच नै नै पुग्ने भएको कुरामा कुनै शंका छैन।
हाल त्रिभुवन विमानस्थल भन्सार कार्यालय अन्तर्गत करीब एकसय पचास कर्मचारी कार्यरत छन्। यसबाहेक प्रहरी गुप्तचर, सेना, राजस्व अनुसन्धान र शाही नेपाल वायुसेवा निगमका समेत त्यहाँ कार्यालय आसपासमै रहेर चल्ती भइरहनाले कर्मचारी थोरै भएजस्तो लाग्दैन। त्यहा कार्यरत कर्मचारीहरूसे तालीम तस्करीको सामान समाउन प्रयोग गरिने आधुनिक यन्त्रहरू र सामान तलासी लिने स्थानको समेत अभाव रहेको बताए। यति कठिनाई हुँदाहुँदै पनि तस्कर समाउने तपाईँहरुको मूल आधार के ? भनी प्रश्न गर्दा त्रि०वि० मन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दीप बस्नेतको उत्तर थियो- ‘नजर अन्दाज! हामी नजरअन्दाजबाट धेरै तस्कर समाउँछौं।’ यसरी नजर अन्दाज ‘प्रविधि’ र पहुँचको प्रक्रियाबाट कर्मचारी पठाएर भन्सार चलाउने परिपाटी कति सक्षम मान्ने ? अन्य मुलुकमा आधुनिक यन्त्रले समात्न नसकेको सामान पनि यहाँ समाइन्छ त ?
नून नपाइने ठाउँमा सुन व्यापारी
जे जसरी जे अनि समाइन्छ यो सुन ल्याउने सबैभन्दा ज्यादा नेपाल नागरिक छन् । नेपालका लमजुङ, गोरखा, मनाङ, कास्की र नुवाकोट जिल्लाका बासिन्दा ज्यादा संलग्न रहेको पाइन्छ । साँच्चै भन्नु पर्दा ती दुर्गम जिल्लाका बासिन्दा नूनकै आधारमा तड्पिने गर्छन् । तर त्यसै जिल्लाका मानिस सुन व्यापारमा जागरुक देखिन्छन् किन ? यस सम्बन्धमा भन्सारका कर्मचारी, प्रहरी पनि ‘छक्क’ लागेको अनुभव बताउँछन्, कारण थाहा छैन । अन्य मानिसहरूका विभिन्न भनाइ पाइन्छन्। त्यहाँका मानिस धेरै सोझा भएकोले अरुको भरिया मात्र भएका हुन्। भरिया बनाउने त पक्राउ पर्दै परेका छैनन् भन्ने एक थरिको भनाइ छ भने अर्को थरिको भनाइ अनुसार ती जिल्ला कर्णेल भरत गुरुङ्ग र भू. पू. प्रहरी महानिरीक्षक डीबी लामा जस्ता तस्करहरूका प्रभाव भएका जिल्ला हुन् । पहिले उनीहरूले नै भरिया बनाएर बानी बिगारिदिए, अहिले आफै व्यापार चलाउँछन् ।
सुनको नाफा र व्यापारीहरू
नेपाल-भारत सीमाना खुल्ला भएकाले भारततर्फ यसको निकासी हुन्छ भनिन्छ तर नेपाल-भारतबीच सुनको भाउमा त्यति अन्तर छैन । अन्तर्राष्ट्रिय बजार भाउभन्दा नेपाल-मा पन्ध्रदेखि बीस प्रतिशत महँगो पर्छ भन्ने स्थानीय व्यापारीहरूको भनाइ छ । भन्सार तिरेर ल्याउनुपन्यो भने छापावाल (काँचो ) सुनमा ५ प्रतिशत भन्सार र ५ प्रतिशत बिक्रीकर बुझाउनु पर्छ ।
यसैगरी गहना बनाएर ल्याएको सुनमा १० प्रतिशत भन्सार र ५ प्रतिशत बिक्रीकर लाग्छ भने ५ प्रतिशतले अन्य पुग्छ त ? सन्देह यसमा छ । स्वयं सुन लिएर आउनेले कति नाफा गर्छन्, थोक व्यापारी कुन दरमा लेनदेन गर्छन् सबै रहस्यमय देखिन्छ । सुन व्यापारीहरूसँग यस सम्बन्धमा प्रश्न गर्दा “हामी बजारको बिक्री मूल्यभन्दा प्रति तोला चालीस रुपैयाँ कममा लिन्छौ र चालीस रुपैयाँ प्रतितोला नाफा लिएर बिक्री गर्छौं” भन्छन् ।
प्रतितोला चालीस रुपैयाँ मुनाफा भनेको हाल रु.६ हजार प्रतितोलाको हिसाबमा ०.७ प्रतिशत मात्र पर्न आउँछ। त्यति धेरै लगानी गरेर यति थोरै नाफामा त्यत्रो साहस राखेर साहुहरू व्यापार गर्लान् त ? सुनिन्छ उनीहरू पनि तस्करीमा संलग्न छन् । काठमाडौंका ठूला सुन पसलेहरू सबै आफूलाई खुद्रा सुन व्यापारी भन्न रुचाउँछन् । नेपालीलाई भन्दा भारतीयहरूलाई आफ्नो विश्वास पात्र बनाएर कारोबार गर्ने यी पसलेहरूले दैनिक पचास साठी तोलाको कारोबार गर्छौं भने तापनि केही व्यापारीहरूले करीब करीब पाँचसयदेखि एकहजार तोला सम्मको कारोबार गर्ने गरेको बुझियो । त्यसोभए उनीहरू यो भन्न किन चाहँदैनन् त? शंकाको अर्को खुडकिलो देखापर्छ । यी पसलहरूबाट प्रायः घर गृहस्थी र ज्यादा भारतीयहरूले खरीद गर्ने गरेको बुझिन्छ तर सुन पसलेहरू यो समेत भन्न तयार छैनन् ।
सुन कति चाहिन्छ र कति पाइन्छ ?
नेपालमा एक वर्षमा सरदर तीनदेखि चार सय किलोसम्म सुन वैध रूपमा आउँछ र झण्डै यति नै सुन जफत हुनेगर्छ । नेपालबाट बाहिर जाने सुनको कुनै लेखाजोखा छैन। हुन त बाहिर जाने भनेको भारत जाने हो किनकि भारतीय बजारमा सुन किनबेचमा अतिरिक्त कर ज्यादा लाग्न्का साथै आयस्रोत समेत खुलाउनु पर्ने हुनाले भारतीयहरू यहाँबाट सुन लुकाएर लग्ने गर्छन् र कालोधनलाई सेतो धनमा परिणत गर्छन् भनिन्छ।
बाहिरबाट नेपाल आयात हुने सात-आठसय किलो सुन बाहेक वार्षिक करीब एकसय किलो पुरानो गरगहनाबाट प्रशोधन गरी सुन तयार गरिने गरेको अनुमान गरिन्छ । बाहिरबाट आउने सुन मध्ये जफत भएको करीब चार सय किलो सुन राष्ट्र बैंकमा जम्मा हुने हुनाले जनताको आवश्यकता पूर्ति गर्नमा आउँदैन । जनताका हातमा वैध रुपमा भित्रिने भनेको करीब चार सय किलो र यहाँ प्रशोधन हुने करीब एक सय किलो सुन हो । त्यस बाहेक करीब एक सय किलो सुन गहना टुक्रयाएर र कुच्चाएर प्रयोग गरिदो हो त के यति छसय किलो सुनले नेपालीलाई पुग्छ ? कि हुन्छ ?
नेपालमा हिन्दू धर्मावलम्बी करीब ९० प्रतिशत छन् । हिन्दूका प्रायः थुप्रै धार्मिक संस्कार पूरा गर्न सुन अनिवार्य मानिन्छ । साथै नेपालको जनसंख्या मध्ये करीब तीस लाख जनता १६ देखि ३० वर्ष उमेरका भएको अनुमान छ। यी तीस लाख मध्ये वार्षिक सरदर एक लाख जोडीको विवाह हुने गर्छ । विवाहमा धेरै थोरै सबैलाई सुन चाहिन्छ । यसरी चाहिने सुनलाई एक जोडी बराबर एक तोलाकै हिसाब राख्दा पनि एकलाख तोला अर्थात् करीब एक हजार दुईसय किलो सुन चाहिन्छ ।
यस अतिरिक्त अन्य धार्मिक कार्यका लागि करीब डेढ सय किलो मात्र लागे पनि वार्षिक चौध सय किलो सुन चाहिने देखिन्छ । यस हिसाबले माथि उल्लेख भएका माध्यमबाट परिचालन हुने छसय किलो बाहेकको आठ सय किलो सुनको आपूर्ति कसरी भइरहेको छ त ? तस्करीका माध्यम, तस्करहरूको बाटो र तस्करहरू हाम्रा नजर मा ‘भलादमी’ बनेर हिडिरहेका त छैनन् ?
काँक्राचोरलाई मुड्के सास्ती ?
अवैध रूपमा सुन ल्याउनेलाई भन्सार ऐन २०१९ को संशोधन सहितको दफा ३४ को उपदफा (क) अनुसार कुनै व्यक्तिले भन्सार महसूल नतिरी चोरी निकासी गर्न लागेको वा चोरी पैठारी गरेको माल बमोजिम वा वस्तु जफत गरी निजलाई सोही माल वा वस्तुको विगो जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायँ समेत हुने व्यवस्था छ । यस अन्तर्गत पूरै पाँच वर्ष कैद हुनेहरू समेत गरी यस आ.व. को शुरु देखि जेठ मसान्तसम्ममा सय वटा मामिलाका एक सय तीनजना व्यक्तिहरुलाई जेल चलान गरिसकिएको छ । यस्ता मामिलाको फैसला प्रमुख भन्सार अधिकृतबाट हुने गर्छ ।
रङ्ग रङ्गका तस्कर
नेपालमा तस्करी व्यापारी र तस्करमै दरिएकाले मात्र गर्दैनन् भन्ने कुरा २०४२ साल फागुन (१९८६ मार्च ७) मा सुर्खेतका रा. पं. स. चन्द्रबहादुर बुढाले बाइस किलो ६३५ ग्राम सुन सहित समातिएर दश घण्टापछि तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द लगायतका व्यक्तिहरुको आदेशमा छुटेको एक चर्चित घटना बनेको थियो । यसैगरी २०४३ कार्तिक ( १९६६ नोभेम्बर ६) मा तनहुँका रापस नरबहादुर गुरुङ्ग, पाल्पाका यादवसिंह रायमाझी, नरबहादुरका दुई साली दिलधारा र यशोधारा समेत पन्ध्र किलो १०३ ग्राम सुन वारपार गर्दागर्दै समातिनुले स्पष्ट गर्दछ ।
यसबाहेक प्रहरी महानिरीक्षक डि. बी. लामा र कर्णेल भरत गुरुङ्गको कहानी छुट्टै छ । सुन तस्करीमा समातिएपछि नरबहादुरले रा. प. स. पदबाट राजीनामा गरेर पुनः चुनाव लडे तर जित्न सकेनन् । रा. प. स.चन्द्रबहादुर बुढालाई भने त्यस्तो भएन उनले न त राजीनामा गरे न त दोस्रो आम निर्वाचनमा चुनाव जित्न नै मुश्किल पर्यो। उल्टै जिल्लाका चेलीबटीलाई ल्याएको सुन फटाहाहरूले खोसे भन्ने कुरामा सुर्खेतवासीहरूलाई विश्वास दिलाए । जेहोस् सुन त थुप्रैले ल्याउँछन् तर ती ल्याउनेहरू त्यत्रो सुन ल्याउने क्षमताका हुन्छन् त ? सुन कसको हुने गर्छ रहस्योद्घाटन गर्न अहिलेसम्म कुनै बहादुर निस्केको छैन ।
यस अतिरिक्त विमानस्थलका शौचालय र विमानकै शौचालयमा पनि कहिलेकाँही सुन भेटिन्छ । यस सम्बन्धमा शाही नेपाल वायुसेवा निगम र भन्सारका अन्य कर्मचारी पनि संलग्न छन् कि ? भन्ने सम्बन्धमा प्रमुख भन्सार अधिकृत दीप बस्नेतसंग प्रश्न गर्दा ‘छन् वा छैनन् के आधारले भन्ने ? जे होस् हामी प्रत्येक विमानका कर्मचारीलाई पनि वारपार गर्दा यात्रु सरह परीक्षण गछौं’ भन्सारका कर्मचारीहरू, प्रहरीहरू जो थिए कारवाही भइसक्यो। हामी आफ्नो कामसँग अनुसन्धान पनि गरिरहेका हुन्छौं । कोही फेरि फेरि फेला परे भने त्यस्तालाई समेत कानून बमोजिम कारवाही हुने नै छ” भन्नुभयो ।
त्रिभुवन विमानस्थल भन्सारमा समातिने केही तस्कर हप्काउन खोज्ने, केही ‘माथि’ को पहुँच देखाउन खोज्ने, केही अनुनय विनय गरेर छुट्न खोज्ने र कोही लाजले भतुक्कै हुने खालका पाइने कुरा भन्सार कार्यालयबाट थाहा भयो । “तर केही अपवाद बाहेक कानूनका अगाडि सबै समान छन् ” प्रमुख भन्सार अधिकृतले बताउनुभयो ।
“त्यसो भए कोष्टारिकन राजदूत, चन्द्रबहादुर बुढा र नरबहादुर गुरुङ अपवादमा परेका हुन् त ?” मैले सोधें । “होइन, पहिले चन्द्रबहादुर समातिँदा कैदको व्यवस्था थिएन। नियमानुसार विगो जफत भयो । ऐन संशोधन भएपछिका नरबहादुरका सालीहरू मूल कारणी ठहरिएर जेलमै छन् । मतियार ठहरिएका नरबहादुर र यादव सिंह धरौटीमा छुटेका हुन् । अँ सजायं नपाउने कोष्टारिकन राजदूत चाहि अपवादमा परे तर सुन त जफत भयो नि !” प्रमुख भन्सार अधिकृतले स्पष्ट गर्नुभयो ।
(२०४५ साल असार २८ गतेको मातृभूमि साप्ताहिकबाट )
प्रतिक्रिया दिनुहोस्