पुर्वी नाका काकडभिट्टामा कडाइ: १०० रुपैयाँ बढीको सामानमा अनिवार्य भन्सार तिर्नुपर्ने


प्रविन अधिकारी

मेचीनगर । पुर्वको प्रमुख नाका काकडभिट्टा भन्सार कार्यालय हुँदै सीमावर्ती भारतीय बजारबाट किनमेल गरेर एकसय रुपैयाँभन्दा बढी मूल्यको सामान नेपाल भित्राएमा भन्सार लाग्ने भएको छ ।

नेपाल सरकारले यहि २०८० साउन १ गतेदेखि लागू हुने गरी सो नियम लगाएको भएपनि आजबाट भने पुर्णरुपमा यो नियम लागु गरिएको हो। मेची भन्सार कार्यालयले जारी गरेको सूचना अनुसार एक सयभन्दा बढी मूल्यको कुनैपनि सामान लिएर भारतको स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुहरुले आफ्नो साथमा ल्याएको मालसामानको मेची भन्सार कार्यालयको यात्रु शाखामा अनिवार्य घोषणा गरी जाँचपास गराएर मात्र लैजानको लागि सूचित गरेको छ ।

अन्यथा जाँचपास नगराई लगिएको मालसामान भन्सार परिसर भन्दा बाहिर पाइएमा भन्सार ऐन २०६४ बमोजिम चोरी पैठारी कसुरमा कारवाही हुने सूचनामा उल्लेख गरिएको छ । यसअघि सीमा क्षेत्रका भारतीय बजारमा गरिने किनमेलमा भन्सार अनिवार्य थिएन । यस्तो नियमले सीमा क्षेत्रका नेपाली बजारलाई राहत मिल्ने भन्सार कार्यालयले दाबी गरेको छ ।

भारतीय बजारबाट भन्सार नतिरी सामान भित्र्याउँदा स्वदेशी बजार र राजश्व लक्ष्यसमेत घट्दै गएको अवस्थामा उद्योगी व्यवसायीको समेत माग पूरा गर्दै भन्सार नाकामा कडाइ थालिएको भन्सार कार्यालयले जनाएको छ । सीमावर्ती बजारमा हुने अवैध कारोबारलाई निरुत्साहित गर्न पूर्वी नाका काँकरभिट्टामा १०० रूपैयाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार तिराउने भएको छ ।

यहि विषयमा आज बसेको सर्वदलिय छलफलले नियमलाई अक्षरस् पालना गर्दै जाने निर्णय गरेको छ । शुक्रबार मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य संघको सहकार्यमा बसेको सर्वदलिय छलफलले १०० रुपैयाँ भन्दा बढीको सामानमा भन्सार तिराउने, बजार व्यवस्थापन र अनुगमन समिति बनाउने लगायतका तीन वटा निर्णय गरेको बताइएको छ ।

मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले केन्द्रको नीति अनुसार यो नियम लागू गरिने बताएका छन् । सरोकारवाला पक्षसँगको छलफलपछि यो नियम कडाईका साथ लागू गरिने उनको भनाई छ ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले सरकारको नीति, नियम र लेवलको कुरा राम्रो रहेको बताए । उनले यो नियम नाकाबाट सुरुवात गर्न आग्रह गरे । “खुल्ला सीमाना भएका कारण समस्या छ”, सांसद तामाङले भने, “सीमालाई सुरक्षित र सहज बनाउनु पर्छ । चेकजाँचलाई व्यवस्थित गर्नुपर्छ ।”