काठमाडौँ उपत्यकामा घट्यो गाडी भाडा


काठमाडौँ । बागमती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा आजदेखि घटेको छ । बागमती प्रदेश सरकारले आजैदेखि लागू हुने गरेर सार्वजनिक सवारीको भाडादर समायोजन गरेसँगै गाडीभाडा घटेको हो ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि प्रदेशभित्र चल्ने सवारी साधनको भाडादर घटाएको श्रम रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलका अनुसार आजदेखि लागू हुने गरेर प्रदेशभित्र चल्ने लामोदूरीका यात्रुबाहक सवारी साधनको भाडादर २.३० प्रतिशतले घटेको छ ।

यस्तै, प्रदेश भित्र चल्ने (लामो–छोटो दूरी) मालबाहक सवारी साधनको भाडादर ३.१८ प्रतिशतले घटेको छ । यसका साथै, प्रदेशभित्रका ठूला सहरी क्षेत्रमा चल्ने सिटी बसको भाडादर ३.२६ प्रतिशतले घटेको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य स्वाचालित मूल्य प्रणाली लागू गरेपछि पेट्रोलियम पदार्थको मूल्य घटेको थियो । पेट्रोलिय पदार्थको मूल्य घटेसँगै बागमती प्रदेशमा भाडा पनि घटेको हो ।।