नेप्से २६ अंकले घट्यो, शिवम् सिमेन्टमा लगानीकर्ताको आर्कषण कायमै


काठमाडौं । मौद्रिक नीतिले निराश बनेका लगानीकर्ताको मनोबल अझै उठ्न सकेन । फलस्वरुप सेयरबजारको गिरावट निरन्तर चलिरहेको छ ।

साताको पहिलो कारोबारको दिन आज नेप्से परिसूचक २६ अंकले घटेको छ । अघिल्लो साता मौद्रिक लगानीकर्ताहरु मौद्रिक नीतिको व्यवस्थामा अलमलिदा बजारमा दबाब सिर्जना भएको सेयरबजारका जानकारहरु बताउँछन् ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक २६.१४ अंकले घटेर २१००.३३ अंकमा झरेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक ४.१७ अंकले घटेर ३९९.६६ अंकमा पुगेको छ ।

आइतबार नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये म्यूचुअल फण्ड उपसमुह बाहेक १२ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

नेप्सेमा आज कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको १४ करोड ७८ लाख ७४ हजार ३ सय ४९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आइतबार नेप्सेमा पिपुल्स पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ३.५६ प्रतिशतले बढेको छ ।

त्यस्तै आजको दिन मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६.७८ प्रतिशतले घटेको छ ।

कुल २६६ कम्पनीको ६८ लाख ६० हजार ४२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५० करोड २८ लाख ८६ हजार ५ सय २७ रुपैयााको कारोबार भएको नेप्सेले जनाएको छ ।