‘नाडा अटो शो’ २०२३ को लागि स्टल छनोट सम्पन्र, ८२ स्टल रहने


काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशनले भाद्र २६ गतेदेखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२३ को स्टल निर्धारणका लागि लटरी ड्र सम्पन्न गरेको छ ।

हिजो (आइतबार) नाडाले वल्ड ट्रेड सेण्टर, काठमाडाैँको त्रिपुरेश्वरमा स्टल निर्धारणका लागि लटरी ड्र सम्पन्न गरेको हो । नाडाका अनुसार अटो एक्सपोमा सहभागी हुने सबै कम्पनीहरूले समान अवसर प्राप्त गरोस भन्ने उद्धेश्यले नाडाले लटरी ड्र मार्फत स्टलहरुको वितरण गर्दे आएको छ ।

नाडाको आयोजनामा हरेक वर्षको दशैंअघि आयोजना हुँदै आएको प्रदर्शनी कोभिड महामारीका कारण सन् २०२० र २०२१ मा आयोजना हुन सकेन । त्यस्तै सन् २०२२ पनि सरकारले सवारी साधनको आयातमाथि प्रतिबन्ध लगाएपछि विद्युतीय सवारीको मात्रै प्रदर्शनी गरिएको थियो ।

नाडा अटोमोबाइल्स एशोसिएशनका महासचिव सुरेन्द्र उप्रेतीले दर्शकहरूले यस प्रर्दशनीमा विद्युतीय सवारी साधनहरू लगायत चार बर्षपछि हालसम्मका नयाँ मोडलहरूको अवलोकन गर्न पाउने बताएका छन् ।

“यस पटकको नाडा अटो शो मा विद्युतीयसहित पेट्रोलियम चार पांग्रे, तीन पांग्रे तथा दुई पांग्रे सवारीसाधन, ढुवानीका साधन, स्पेयर पार्टस्, टायरट्यूव, ब्याट्री, एसेसरिज, अटो कम्पोनेन्टस् एवम् ग्यारेज उपकरण समेत राखिने छ” नाडाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रदर्शनीमा बैंक, इन्स्योरेन्स लगायत ट्राफिक, सडक सुरक्षा र वातावरणसँग सम्बन्धित संघ संस्थालगायतका विभिन्न सामग्रीहरू सहित कूल ८२ वटा स्टलहरू प्रदर्शनीमा रहने छन्।”

करिब ४ वर्षपछि हुन लागेको वृहत प्रदर्शनीमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र २० अर्बभन्दा बढीको कारोबार हुने नाडाको अनुमान छ ।