मनकामना इन्जिनियरिङ्ग हाइड्रोको आइपीओ बाँडफाँड सम्पन्न


काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको पहिलो चरणको आईपीओको बाँडफाँड सम्पन्न भएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि निष्काशन गरेको आइपीओको आज साउन १६ गते बाँडफाँड सम्पन्न भएको हो ।

योजना प्रभावित दोलखा जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरिएको सेयर आज बाँडफाँड भएको हो ।

वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओमा कुल २५ हजार २ सय १९ जनाको आवेदन परेकोमा १ जनाको आवेदन रद्द भई २५ हजार २ सय १८ जनाको आवेदन मात्र योग्य भएको छ ।

सबै योग्य आवेदकलाई न्युनतम १० कित्ता सेयर बाँडफाँड गर्न नपुग्ने भएकोले गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको थियो । गोलाप्रथाबाट बाँडफाँड गर्दा २० हजार जनाले १० कित्ता सेयर पाएका छन् ।

त्यस्तै कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको आईपीओमा जम्मा ७ सय २२ जनाको आवेदन परेको थियो । ७ सय २२ जना आवेदकले नै आफूले माग गरे बमोजिम सेयर पाएका छन् ।

कम्पनीले कुल १ लाख ८३ हजार ३ सय ८० कित्ता सेयर बाँडफाँड गरेकाे छ भने अब स्थानीयले खरिद नगरेको ६ लाख १६ हजार ६ सय २० कित्ता सेयर सर्वसाधारणमा निष्कासन जनाएकाे छ ।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने २ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका २ लाख कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरिएको थियो।

कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात ८ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका ८ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरेको थियो।