आजदेखि ९ प्रतिशत व्याजदरमा नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन खुल्यो


काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले आज साउन १८ गतेदेखि ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो ।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन्।

जसमध्य ६० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको हो। सर्वसाधारण मध्यमा ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतममा ८ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले छिटोमा यही साउन २२ गतेसम्म र ढिलोमा ३२ गतेसम्म खरिद आवेदन दिन सक्नेछन् ।

धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा ू मेरो सेयरूप्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।

बैकले उक्त ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए प्रदान गरेको छ, यसको अर्थ कम्पनीले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्दछ।