विद्युत् प्राधिकरणले आइपीओ जारी गर्दै, इक्राबाट पायो डबल ए प्लस रेटिङ


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले साधारण सेयर (आइपीओ) जारी गर्ने प्रक्रिया अगाडी बढाएको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइपीओ निष्कासनको प्रक्रिया अगाडी बढेको बताए ।

आइपीओ जारी गर्नको लागि संस्थाको गुणस्तर मुल्यांकन गर्दा क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालबाट डबल ए प्लस प्राप्त गरेको घिसिङले जानकारी दिए । उनले भने ‘डीडीए तयार भइसकेको छ। इक्राबाट पनि डबल ए प्लस रेटिङ प्राप्त भइसकेको छ।’

प्राधिकरणले विद्युत प्राधिकरण ऐन २०४१ अनुसार सेयर जारी गर्न लागेको जनाएको छ । उनले प्राधिकरणको सम्पत्ति मूल्यांकन कार्य पनि सकिएको बताएका छन् ।

यद्यपि यो पटक प्राधिकरणको नाफा प्रभावित भएको छ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७९र८० को अपरिस्कृत वित्तीय विवरणअनुसार १२ अर्ब ३३ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७८र७९ मा खुद नाफा बढेर १३ अर्ब ३७ करोड रूपैयाँ पुगेको थियो ।

गत आर्थिक वर्षमा सुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको सतह घट्दा प्राधिकरण र नीजी क्षेत्रको विद्युत उत्पादनमा ह्रास आएको र त्यसको नाफा घटेको घिसिङको तर्क छ । प्राधिकरणको खुद आम्दानी आर्थिक वर्ष ७८र७९ मा ८१ अर्ब रहेकोमा आर्थिक वर्ष ७९र८० खुद आम्दानी बढेर ११८ अर्ब पुगेको छ ।

प्राधिकरणको सञ्चित नाफा ११ अर्बबाट बढ्दा ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको कार्यकारी निर्देशक घिसिङले बताए ।