घोराही सिमेन्टको सेयर कारोबार खुल्यो, कति मूल्यमा भयो पहिलो कारोबार ?


काठमाडौं । धितोपत्र दोस्र्रो बजारमा घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको नियमित सेयर कारोबार सुरु भएको छ । आइतबार प्रि ओपन सेसनमा कारोबार भएसँगै दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुला भएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको ओपनिङ रेन्जभित्र आज स्पेसल प्रि–ओपनमा कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५६५ रुपैयाँमा कारोबार भएको छ ।

नेप्सेमा घोराही सिमेन्टको कुल ३ करोड ९७ लाख १९ हजार ६ कित्ता सेयर बिहीबार सूचीकृत भएको छ।

जसमा सर्वसाधारण सेयरधनी (विदेशमा रहेका नेपाली श्रमिक, उद्योग प्रभावित स्थानीय, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को ७९ लाख ४३ हजार ८०१ कित्ता (२० प्रतिशत) र संस्थापक सेयरधनीको ३ करोड १७ लाख ७५ हजार २०५ कित्ता (८० प्रतिशत) रहेको छ।

नेप्सेले घोराही सिमेन्टलाई ‘जीसीआईएल’ कारोबार संकेत प्रदान गरेको छ । नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारको प्रतिकित्ता न्यूनतममा २२६.६१ रुपैयाँदेखि अधिकतममा ६७९.८३ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको थियो ।

आईपीओमा कुल ५ लाख ८१ हजार ५ सय ४६ जना आवेदकबाट १ करोड ३ लाख २४ हजार २ सय ६० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ५ लाख ५७ हजार ७ सय १ जना आवेदकको आवेदन मात्र योग्य रहेका थिए ।

आवेदन दिएका सबै आवेदकले शेयर पाएका थिए। आवेदकले न्युनतम १० देखि अधिकतम ८० कित्तासम्म सेयर पाएका थिए ।