एचआईडीसीएलको मुनाफा ४४ प्रतिशतले बढ्यो


काठमाडौं । गत आर्थिक वर्षमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)को मुनाफा ४४ प्रतिशतले बढेको छ ।

कम्पनीले आज सार्वजनिक गरेकोआर्थिक वर्ष २०७९–८०को अपरिष्कृत वित्तीय विवरण अनुसार १ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएको छ ।

अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ९५ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

एचआइडीसीएलको चुक्ता पुँजी २२ अर्ब ७७ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ९१ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा कम्पनीले वित्तीय आम्दानी, लाभांश आम्दानी र अन्य आम्दानी गरी कुल २ अर्ब १७ करोड रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो कुल आम्दानी १ अर्ब ५५ करोड रुपैयाँमा सीमित थियो। यो हिसाबले आम्दानी पनि ४०.१३ प्रतिशतले बढेको छ।

यसले जलविद्युत आयोजनाहरुमा २ अर्ब २२ करोड रुपैयाँ बराबरको सेयर लगानी गरेको छ । ८ करोड रुपैयाँ विभिन्न कम्पनीका बण्डमा पनि लगानी गरेको छ । यसैगरी, ६ अर्ब १८ करोड रुपैयाँ जलविद्युत कम्पनी निमार्ण गर्न कर्जा लगानी गरेको विवरणमा उल्लेख छ ।

अघिल्लो वर्ष ४.६२ इपीएस रहेको थियो भने गत वर्ष समिक्षा अवधीमा इपीएस बढेर ६.०८ रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १०८.४० रुपैयाँ रहेको छ।