पब्लिकमा रुपान्तरण हुने बित्तिकै कम्पनीहरुले आइपीओ जारी गर्न पाउने


काठमाडौं । सरकारले धितोपत्र दर्ता तथा निष्काशन (सातौं संशोधन) नियमावली २०८० स्वीकृत गरेको छ। हिजो मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले नियमावली स्वीकृत गरेको हो ।

नेपाल धितोपत्र बोर्डले नियमावली संशोधनको लागि अर्थ मन्त्रालय मार्फत मन्त्रिपरिषदमा पठाएको थियो । यो नियमावली स्वीकृत भएसँगै अब प्राइभेट लिमिटेड कम्पनी पब्लिकमा रुपान्तरण हुनेबित्तिकै आईपीओ जारी गर्न पाउने छन्।

नियमावली स्वीकृत भएसंगै कम्पनीहरुले आईपीओ जारी गर्दा अपनाउनु पर्ने व्यवस्थामा केहि परिमार्जन गरिएको छ। जस अनुसार अब २ आर्थिक वर्ष कारोबार गरिसकेका प्राइभेट कम्पनीहरुले पब्लिक कम्पनीमा परिणत भए लगत्तै आईपीओ निष्काशन गर्न पाउने छन् ।

संशोधित नियमावलीले १ अर्ब चुक्तापुँजी भएका बीमा र वित्तीय कम्पनीले सञ्चालनमा आएको १ वर्षभित्रमै प्रिमियममा आईपीओ जारी गर्न पाउने भएका छन्। यसअघि प्रिमियममा आईपीओ जारी गर्ने कम्पनी कम्तीमा ३ वर्षदेखि नाफामा भएको हुनुपर्ने व्यवस्था थियो। १ अर्ब चुक्तापुँजी भएका उद्योगले पनि २ वर्ष नाफामा गएपछि प्रिमियममा आईपीओ जारी गर्न पाउने भएका छन्।

अन्यलाई भने कम्तीमा ३ वर्ष लगातार नाफामा गएको हुनुपर्ने व्यवस्था यथावत छ। अंकित मूल्यमै सेयर जारी गर्न भने जुनै क्षेत्रका कम्पनी पब्लिकमा रुपान्तरण भएलगत्तै गर्न सक्नेछन्।