गत वर्ष विप्रेषण आप्रवाह २१ प्रतिशतले बढ्यो


काठमाडौं । अघिल्लो आर्थिक वर्ष ४.८ प्रतिशतले बढेको विप्रेषण आप्रवाह गत वर्षमा भने २१.२ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८०मा विप्रेषण आप्रवाह २१ प्रतिशतले बढेर १२२० अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्षमा २.२ प्रतिशतले वृद्धि भएको अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२ प्रतिशतले बढेर ९ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतलेवृद्धि भई ४९७,७०४ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३९२.० प्रतिशतले बढेको थियो।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आई २७७,२७२ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या १९८.५ प्रतिशतले बढेको थियो।

समीक्षा वर्षमा खुद ट्रान्सफर २०.६ प्रतिशतले वृद्धि भई रु.१३४८ अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर ४.३ प्रतिशतले बढेको थियो।