आयात नियन्त्रण हुँदा सरकारको चालू खाता घाटा ७३ अर्बमा खुम्चियो


काठमाडौं । सरकारले आयात प्रतिबन्ध लगाउँदा चालू खाता घाटा नियन्त्रण हुँदा बचतमा गएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय विवरणअनुसार सरकारको चालु खाता घाटा ७२ अर्ब १६ करोड रुपैयाँमा खुम्चिएको छ ।

अघिल्लो वर्ष चालु खाता घाटा ६ खर्ब २३ अर्ब २८ करोड रुपैयाँ रहेको थियो ।

बस्तु र सेवा आयात गर्दा देशले गरेको खर्च भन्दा रेमिट्यान्सबाट गरेको आम्दानी बढ्दा चालू खाताको घाटा नियन्त्रण भएर बचतमा गएको हो ।

अघिल्लो वर्ष आयातको राशि उच्च भएकोले आयात र निर्यातको अनुपातमा फरक धेरै थियो जसले गर्दा रेमिट्यान्सले मात्रै धान्न सक्ने स्थिति थिएन । जसले गर्दा चालु खाता घाटा उच्च रहेको थियो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत वर्ष विप्रषण आप्रवाह २१.२ प्रतिशतले वृद्धि भएको छ ।

सरकारले आयात नियन्त्रण गरेसँगै विदेशि विनिमय सञ्चिति बढ्दा चालु खाता घाटा नियन्त्रण भएको हो ।

सरकारले आयात प्रतिबन्ध लगाएपछि आगामी १० महिनासम्मलाई वस्तु आयात गर्न पुग्ने विनिमय सञ्चित भएको छ ।

राष्ट बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षमा अमेरिकी डलरमा अघिल्लो वर्ष ५ अर्ब १७ करोडले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा ५५ करोड ७१ लाखले घाटामा रहेको छ ।

गत वर्ष सरकारले आयात नियन्त्रण गर्दा र रेमिट्यान्स आय बढ्दा समग्र अर्थतन्त्रलाई सकरात्मक देखिएको हो ।

समीक्षा वर्षमा पुँजीगत ट्रान्सफर २४.५ प्रतिशतले कमी आई रु. ७ अर्ब ५४ करोड रहेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु. ५ अर्ब ९६ करोड कायम भएको छ।

अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर रु.९ अर्ब ९९ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु. १८ अर्ब ५६ करोड रहेको थियो।

समीक्षा वर्षमा शोधनान्तर स्थिति रु. २ खर्ब ९० अर्ब ५२ करोडले बचतमा रहेको छ। अघिल्लो वर्ष शोधनान्तर स्थिति रु. २ खर्ब ५५ अर्ब २६ करोडले घाटामा रहेको थियो।

अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब १५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा २ अर्ब २१ करोडले बचतमा रहेको राष्ट्र बैंकले तथ्यांकले देखाएको छ।